×

वीरगञ्ज । हरेक वर्ष फेब्रुअरी ७ देखि १४ सम्म प्रणय सप्ताह मनाइरहँदा जन्मजात मुटुरोग सचेतना सप्ताह ओझेलमा परीरहेको छ । कुन दिन रोज डे, कुन दिन प्रपोज डे, कुन दिन चकलेट डे जस्ता सबै थाहा पाउने हामी जन्मजात मुटुरोग सचेतना सप्ताहका बारेमा भने अनभिज्ञ छौँ । 

मुटु रोग विशेषज्ञ डा. राधा भट्टराई अर्यालका अनुसार गर्भावस्थामा भ्रुणको विकास हुने क्रममा मुटुको विकास हुँदा मुटुको भित्रि भागबाट निस्किने ठूला नशाहरुमा विभिन्न किसिमका जटिलताहरु देखिन्छन्, त्यही जटिलतासहित शिशु जन्मिएको अवस्था नै जन्मजात मुटु रोग हो । भ्रुणको विकास हुने क्रममा अरु शरिरका अंगमा पनि जटिलता देखिन्छ । तर सबैभन्दा बढी मुटुमा देखिने गरेको उनले बताइन् । 

जन्मँदै मुटुभित्रका विभिन्न भाग तथा मुटु बाहिरका धमनीको बनावटमा देखिने जटिलता नै जन्मजात मुटुरोग हो । अन्तर्राष्ट्रिय तथ्यांक हेर्ने हो भने हरेक १ हजार जीवित शिशुमध्ये ८ देखि १० जनालाई जन्मजात मुटु रोग हुने गरेको पाइन्छ । 

डा. अर्यालकाअनुसार जन्मजात मुटुरोगको ९० प्रतिशत कारण पत्ता लागेको छैन । तर १० प्रतिशतमध्ये वंशाणुगत कारण एक हो । त्यस्तै गर्भावस्थामा लागूपदार्थ सेवन, मदिरा जन्य पदार्थको प्रयोग, दीर्घकालिन रोग लागेको, रक्तचाप बढी भएको, धेरै तनाव लिने, मोटोपना, विभिन्न भाइरसको संक्रमण भएको, लामो समयसम्म औषधीको सेवन गरेको अवस्थामा बच्चामा जन्मजात मुटुरोग हुन सक्ने डा. अर्याल बताउँछिन् । 

प्हिला आवश्यक उपकरण र दक्ष जनशक्तिको अभावले गर्दा यसको उपचार गर्न असहज अवस्था थियो । तर अहिले रोग भए÷नभएको परीक्षण गर्नेदेखि उपचार गर्नेसम्मका विभिन्न विधि आइसकेको उनले बताइन् । बच्चा पेटमा हुँदा आमाको पेटभित्रको बच्चाको मुटुको भिडियो एक्सरे (फिटर ईको कार्डियोग्राफी) गरेर रोगको परीक्षण गर्न सकिने उनको भनाई छ । 

गर्भवती भएको १८ देखि २४ हप्तासम्मको अवधिमा बच्चाको मुटु पूर्ण रुपमा बनीसकेको हुन्छ । उनकाअनुसार पूर्ण रुपमा बनीसकेको बच्चाको मुटुको भिडियो एक्सरे गरेर रोगको पहिचान गर्न सकिन्छ । यसका लागि सकेसम्म बालरोग विशेषज्ञ चिकित्स भएको अस्पतालमै बच्चा जन्माउन उनले अनुरोध गरिन् । 

डा. राधा भट्टराई अर्यालकाअनुसार जन्मजात मुटु रोग लागेमा आमाको दुध राम्रोसँग चुस्न नसक्ने, छिटोछिटो थाक्ने, उमेरअनुसार तौल नबढ्ने, बारम्बार छातीमा संक्रमण हुनु, निमोनिया भइरहने, स्वाँस्वाँ हुने, मुटुको धड्कन तेज हुने जस्ता लक्ष्णहरु देखापर्छन् । 

बच्चाको उमेर र समयमा यो रोगको उपचार भर पर्ने उनले बताइन् । उनी भन्छिन्, ‘कतिपय अवस्थामा मुटुको प्वाल सानो छ भने आफै टालिन पनि सक्छ । तर जटिल भइसकेको अवस्था छ भने सर्जरी गर्नुपर्ने हुन सक्छ ।’ 

जति धेरै समय भयो त्यति नै उपचारमा चुनौतीपूर्ण हुने उनको अनुभव छ । सम्भव भएसम्म १८ देखि २४ हप्तासम्मको गर्भ भएकै बेला अस्पताल आएर चेकजाँच गर्न तथा बच्चाको मुटुको भिडियो एक्सरे गर्न उनी सुझाव दिन्छिन् । 

वीरगञ्जमा पनि केही समय अघिदेखि मात्रै यो सेवा सुरु भएको उनी बताउँछिन् । जन्मजात मुटु रोगको उपचार सम्भव भएपनि जनचेतनाको अभावले गर्दा धेरैले यही रोगकै कारण ज्यान गुमाउने गरेकोमा उनले चिन्ता व्यक्त गरिन् । सबैलाई जन्मजात मुटु रोगका बारेमा सचेत बनाउनका लागि विभिन्न संघसंस्था, स्थानीय सरका, सञ्चार माध्यम लगायतले हातेमालो गर्नुपर्नेमा उनी जोड दिन्छिन् । 
 

Back to top