×

युवाहरु विदेश पलायनको कहालीलाग्दो समाचार हामीले वारम्वार सुन्दै आईरहेका छौ । यसको चित्रण विभिन्न छापाहरु र सामाजिक सन्जाल मार्फत हाम्रो जानकारीमा आईरहेको छ । देशमा रोजगारिको अवसर नहुँदा विदेश जान वाध्य हुन्छन युवाहरु । एउटा सानो द्रिष्टान्त यहाँ प्रस्तुत गर्न चाहे । 

दैनिक औसतमा तीन हज्जार युवायुवती विदेशिने गरेको तथ्याङ्क रहेको छ । १२ कक्षा पछीका विध्यार्थीको सन्ख्या विश्वविधयालयमा दिननुदिन कम हुँदै गईरहेको अवस्था छ भनी पत्र पत्रीकामा आईरहेको छ । पहाड, तराइका  गाउ घर रित्तिदै गएका छन। त्यहा बुढाबुढीको सन्ख्या मात्र देखिन थालिएको छ ।

यद्दपी  विदेश जानु नराम्रो नै हो भन्न त सकिँदैन। तर कामकै खोजीमा विदेश भौँतारिनुपर्ने भनेको देशको लागि राम्रो कदापि हुन सक्दैन। नेपालमा पछिल्लो समय रोजगारी खोज्दै विदेश पुग्नेहरूको संख्या ठूलो छ । धेरैजसो नेपालीहरू स्वदेशमा रोजगारी नपाउँदा विदेश जान बाध्य छन् ।

कति भने स्वदेशमा पाएको रोजगारीबाट परिवार पाल्न र आफ्नो जनजीविका चलाउन नसक्दा बिदेसिन बाध्य छन् । देशको अर्थतन्त्र दिनानुदिन ओरालो लाग्दै गएको छ । रीणको भारी चुलिदै गएको छ । भ्राष्टाचार , कमिसनखोर, अराजकता र बेथिती मौलाइदै गएको छ । देशको अर्थतन्त्र चलायमान छैन। महङिगले जनताको ढाड सेकेको सेकेकै छ। व्यापार घाटाको कुरा गरी साध्य छैन । 

तथ्याकले भन्छ कि विगत १८ वर्ष देखी माथि उल्लेखित सुचाङकहरु कसैको पालामा पनि सकारात्मक दिशामा अगाडि बढेको छैन । वर्तमान नेत्रित्वकै हातमा देशको वागडोर अझै केही वर्ष रहेमा देशलाई असफल राष्ट्र बन्न र विदेशिहरुको परेड खेल्ने देश बन्नबाट कसैले पनि रोक्न सक्दैन । योजनाका पुलिन्दाहरु देखाइ जनतालाई भ्रमित गर्न वाहेक २०४७ साल पछीका नेत्रित्वले केही नै गर्न सकेन सिवाय आफ्नो भाई, भतिज, भाई, छोरी, बुहारी  आदिलाई पद र पोजिसनमा पुर्याउन । 

सरकारमै रहेका मन्त्रीहरु एकातिर स्वदेशमै रोजगारी दिने कुरा गरिरहेका हुन्छन् भने अर्को ठाउँमा दक्ष जनशक्ति पठाउने भनेर श्रम सम्झौता गरेर हिँडिरहेका छन्। चिकित्सक, नर्स, श्रमीकहरुका लागि सम्झौता गर्दै गइरहेका घटना केही महिनाअघिका सरकारका कामहरुले नै देखाउँछ। समग्रमा भन्दा आज देशको भविष्य रोएको छ। 

अब सिक्काको अर्को पाटोको पनि कुरा गरौ । पछील्ला तथ्यान्कले लगभग ५० लाख नेपाली विदेशमा रहेको देखाउछ। विश्व बैंकको प्रतिवेदन ' लार्ज स्केल माईग्रेसन एन्ड रेमिट्यान्स इन नेपाल' अनुसार नेपाल विप्रेषणमा ( रेमिट्यान्स) आश्रित मुलुकको सुचिमा ताजकिस्थान र गणतन्त्र किरगिजपछी तेश्रो मुलुक हो। कहिलेकाही र सामाजिक सन्जालमा त्रिभुवन विमानस्थलको टरमिनल भावनमा विदेश जान लागेका व्यक्तिको विशाल आमसभा जस्तो तविरहरु पोस्ट भएको पनि देखिन्छ ।

यद्दपी एकजना मानिस विदेश जादा विदाइ गर्न जाने करिब करिब १० जना सम्म हुन्छन । यसको बारेमा धेरैलाई जानकारी नहुन सक्छ। हामीले यहाँबाट बाहिरिएकाहरुको मात्र गणना गर्ने गरेका छौ । तर विदेशबाट फर्केर देशमै उद्दमशिल भएकाहरुको ताती पनि ठुलै सन्ख्यामा छन। यसका बारेमा डिस्कोर्स चलाएर देशमै उद्दमशिलतालाई प्रोत्साहन दिनु आजको आवश्यकता हो । यसको लागि प्रादेशिक र स्थानिय सरकारले प्रभावकारी भूमिका खेल्न सक्छ ।          

वैदेशिक रोजगारीमा गएका युवाले प्रत्येक वर्ष भित्र्याएको  रेमिट्यान्स परिवारको खुसी मात्र होइन, यसले देशका निम्ति अपरिहार्य विदेशी मुद्रा पनि दिएको छ। विदेशमा काम गर्न जाने भनेको पैसा कमाउन मात्र होइन, यो भनेको ज्ञान, सिप, संस्कार, संस्कृति, भाषा पनि हो। आफू बसेको देशभन्दा टाढा गएर काम गर्दा पक्कै पनि नयाँ अनुभव हुन्छ। यो अनौपचारिक शिक्षाजस्तो बन्न पुग्छ ।

यसले मुलुकमा कामको नयाँ संस्कृतिसमेत भित्रयाएको छ। वैदेशिक रोजगारिमा गएका युवा युवतिले देशमै बसेर मेहनत गर्ने सोचको विकास गरेका हुन्छन  आफ्नै देशमा पसिना सिञ्चन गर्ने हो भने त्यसले समृद्धि ल्याउँछ भन्ने ज्ञान तिनलाई हुन्छ।  विदेशबाट फर्केका युवाको अनुभूति हुन्छ–ओहो ! देशमै यस्तो मेहनत गर्नुपर्ने रहेछ। विदेशबाट फर्केपछि यहाँ व्यापार व्यवसाय गर्ने युवा संख्या ठुलो छ ।

अहिले आफैं उद्यम गर्न पनि ती तत्पर भएका छन्। घरैमा बसिरहेको युवाभन्दा विदेशबाट फर्केकोमा भिन्न सोच र चेतना अभिवृद्धि भएको पाइन्छ। अचेल देशका कुनाकुनामा यस्ता नयाँ सोचयुक्त व्यक्तिहरू पाइने गरेको छ। 
वास्तवमा वैदेशिक रोजगारी एक अध्ययन हो। बिदेसिएका युवाले अनौपचारिक ढंगले धेरै पाठ सिकिरहेका हुन्छन्। विदेशमा उनीहरूले काममात्रै गरेका हुँदैनन्, स्वदेश फर्केका यी युवाहरू देशका नव निर्माता हुन् । हामीले ढुक्कसँग भन्न सक्छौं– हो, उनीहरूले नेपाल बनाउँछन् । 

तिनले विदेशमा सिन्चेको पसिना, सिकेको ज्ञान र आर्जन गरेको आम्दानीले नेपाल बनाउन मद्दत पुग्छ। तर, यो सधैंको विकल्प होइन। वैदेशिक रोजगारी सधैं उपलब्ध नहुने हुनाले यसको विकल्प देशभित्रै तयार गर्न पनि यो जनशक्तिले ठुलो भूमिका खेल्न सक्छ । चितवन, गुल्मी, वुटवल, पर्वत आदी विभिन्न पश्चिमका जिल्लाहरुमा विदेशबाट फर्किएर विभिन्न उद्धम गरिरहेका समाचारहरु कान्तिपुरको स्थानिय समाचारमा प्रत्एक दिन अचेल दिने गरेको यो स्तम्भकारले हेरिरहेको छ ।

वैदेशिक रोजगारीमा अनेकन् हन्डर र ठक्कर खाएर फर्केपछि छोराछोरी यथार्थमै पक्का बन्छन् । देशमा यस्ता युवा हामीले कहिले ट्याक्सी चालकका रूपमा देख्छौं त कहिले पशुपालक किसानका रूपमा । गाउँमै उद्यम गरेर वा ससानो व्यवसाय गरेर थुप्रैले अहिले आफू र परिवारको भविष्य बनाइरहेका छन्। यिनले नेपालीमा उद्यमशीलताको विकास गरिरहेका छन् । 

विदेशबाट फर्किएका  युवाले विभिन्न व्यवसायमा सफलता हासिल गर्न थालेका छन् । विस्तारै यस्ता उद्यमीसँग देश परिचित हुन थालेको छ। वैदेशिक रोजगारीले धेरै परिवारलाई सफल बनाएको छ। हो, केही परिवारमा समस्या पनि देखिएका छन् ।

ती सामाजिक समस्यालाई नै देखाएर वैदेशिक रोजगारीलाई खराब देखाउनु उचित हुन्न। विदेशको रोजगारी पूरा गरेर देश फर्केका युवामा रोजगारी सिर्जना गर्ने क्षमता देखिन्छ। वैदेशिक रोजगारीले नेपालको कृषि तथा उद्योग क्षेत्रमा थप आधुनिकीकरण गर्न सहयोग पुग्दैछ। देशलाई गतिशील बनाउन यिनका पौरखी पाखुरा कामयाव हुँदै छन् । 

धेरै नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। बल र उमेरले साथ दिँदासम्म उनीहरूलाई विदेशी वातावरणले तानिरहेको छ। उमेर ढल्कँदै गएपछि अधिकांश व्यक्तिहरू सिप, ज्ञान र पुजीसहित स्वदेशमै फर्कने गर्छन्। धेरै व्यक्तिले वैदेशिक रोजगारपछि देशमै सम्भावनायुक्त व्यवसाय गरेर रोजगार सिर्जना पनि गरेका छन्। 

अब कुरा गरौ ब्रेन ड्रेन भर्सेस लेबर ड्रेन
एउटा देशबाट अर्को देश जाने आउने एउटा प्रकृया हो । यो पहिले पनि थियो र अहिले पनि छ । यद्दपी धेरै ठुलो सन्ख्यामा अहिले गईरहेको चाँही सत्य नै हो। देशबाट ठुलो सन्ख्यामा ब्रेन ड्रेन भईरहेको छ भन्ने जुन भाष्य स्रिजित गरिएको छ , त्यो चाँही सरासर गलत हो । हामीले यो बुझ्नु जरुरी छ कि विदेशिएका सबैलाई ब्रेन ड्रेन मान्न मिल्दैन । त्यहा गएका अधिकान्शले ब्रेन को लेबलमा योगदान गरेका छैनन ।

उनिहरुलाई औजार या श्रमशक्तिको रुपमा मात्र उपयोग गरिएको छ विदेशमा । यहाँबाट उच्च शिक्षा लिन गएका भनिएका अधिकान्शले त्यहा मजदुरको जीवन पनि चलाएका छन साच्चै दिमागको योगदान गर्ने र बौद्धिक श्रम गर्नेहरुको सन्ख्या ज्यादै न्युन छ । अनी त्यसरी बौद्धिक श्रम गरिरहेकाको सन्ख्या यहाँ नफर्किदैमा देशमा उक्त स्तरको बौद्धिकता भएका व्यक्तीको अथवा ब्रेनको खाचोसमेटा हुँदैन ।

अहिले पनि विज्ञ ,योग्य, काबिल, दक्ष र विद्ध्वान व्यक्तित्वको ठुलो सन्ख्या अहिले पनि देशमा उपलव्ध छ। देशलाई आवश्यक पर्ने सबै क्षेत्रका विद्ध्वानको ठुलो सन्ख्या अहिले पनि देशमै छन । राज्यले उनिहरुलाई उचित स्थान दिन नसक्नु चाँही विडम्बना हो । विदेश गएकाहरु सबैले यहाँ अवसर नपाएर गएका पनि होइनन, लाखौं खर्च गरेर गएका हुन। माइकल माथिसेनको पुस्तक ' ब्रेन ड्रेन: बियोन्ड द ग्रिन न्यु डिल' ले ब्रेन ड्रेनलाई त्यसरी चिन्तित हुनु पर्ने बिषय नै होइन भन्छ। 

हाम्रो देशको अहिलेको तितो सत्य के हो भने , देशमा विज्ञता पलायन भन्दा श्रम पलायन ( लेबर ड्रेन) चाँही डरलाग्दो छ । आज देशमा एउटा सामान्य काम गर्ने श्रमिकको अधिक खाचो छ । पाठकहरुलाई ज्ञात होस विश्वमा सबैभन्दा बढी विप्रेषण ल्याउने देश भारत हो ।

भारतलाई यो सेवा प्रदान गर्नेमा नेपाल सातौ मुलुकमा पर्दछ अर्थात नेपाल विश्वको सातौ मुलुक हो जहाबाट भारतले विप्रेषण भित्र्याउछ । लगभग तीन देखी चार खर्ब रुपैयाँ नेपालबाट वार्षिक रुपमा भित्रिने गरेको तथ्यान्क देखिन्छ। यत्रो ठुलो रकम कुनै बौध्दिक व्यक्तिहरुले लागेका हैनन ।

यो त घर बनाउने मिश्त्री, शेलुनवाला, तरकारी र फलफुल बेच्ने आदी श्रमिकहरुले लग्ने गरेका छन । लगभग त्यती नै रकम खाध्ध्यान्न आयातबाट समेत जादै छ। यस्तो हुनु पनि श्रम शक्तिको पलायन हो जुन शक्तिले देशमै वसी खाध्द्द्यान्य उत्पादनमा ठुलो भूमिका खेल्न सक्थे।  

अन्त्यमा , 
यो देशको यथार्थ बौद्धिक पलायन होइन , श्रम पलायन हो । तर ति देश फर्केकाहरुले देशको मुहार फेर्न ठुलो भूमिका खेल्न थालेका छन र यसको परिणाम अबको २ वर्षभित्र देखिनेमा यो स्तम्भकार विश्वस्त छ।

(राजेन्द्र प्रसाद कोइराला (पीएचडी) वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ ।) [email protected]


 

Back to top