अयोध्याको निर्माणाधीन राम मन्दिरमा जनवरी २२ मा प्राणप्रतिष्ठा हुने मिति तय भएसँगै उक्त समारोहमा कोको सहभागी हुन्छन् भन्ने चर्चा पनि भइरहेको छ। धेरै दिनदेखि सोधिएको यस प्रश्नको गत साता भारतीय राष्ट्रिय कङ्ग्रेसले जवाफ दिएको छ।
भारतीय जनता पार्टीलेले राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको आरोप लगाउँदै कङ्ग्रेसले उक्त कार्यक्रममा सहभागी नहुने जनाएको छ।
कङ्ग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भगवान् रामलाई करोडौँ भारतीयहरूले पूजा गर्छन्। धर्म मान्छेको व्यक्तिगत कुरा हो तर वर्षौँदेखि भाजपा र आरएसएसले अयोध्याको राम मन्दिरलाई राजनीतिक परियोजना बनाएको छ। यो अहिले अर्धनिर्मित मात्र रहेको स्पष्ट छ। चुनावी फाइदा उठाउनका लागि मात्रै मन्दिर उद्घाटन भइरहेको छ।
सर्वोच्च अदालतको सन् २०१९ को निर्णयलाई स्वीकार गर्दै, जनआस्थाको सम्मान गर्दै, मल्लिकार्जुन खरगे, सोनिया गान्धी र अधीर रञ्जन चौधरीले उक्त कार्यक्रमका लागि भाजपा र आरएसएसले गरेको निमन्त्रणालाई सम्मानपूर्वक अस्वीकार गर्नुभएको छ, विज्ञप्तिमा भनिएको छ ।
विश्व हिन्दू परिषद्ले चाहिँ राम मन्दिर प्राणप्रतिष्ठा समारोहमा भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी समेत सहभागी हुने पुष्टि गरेको छ। यसअघि आडवाणी कार्यक्रममा सहभागी नहुने खबर आएको थियो।
कङ्ग्रेसबाहेक दुई जना शङ्कराचार्यले पनि राम मन्दिर प्राणप्रतिष्ठा कार्यक्रममा जान अस्वीकार गरेका छन्। यद्यपि अन्य दुई शंकराचार्यले विज्ञप्ति जारी गर्दै सबैलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्। यद्यपि शङ्कराचार्य आफैँ अयोध्या जाने र सहभागी हुने वा नहुने भन्ने विषयमा विज्ञप्तिमा स्पष्ट रूपमा केही भनिएको छैन।
धार्मिक मान्यताअनुसार शङ्कराचार्य हिन्दू धर्म गुरुको सर्वोच्च पद हो। हिन्दू धर्ममा शङ्कराचार्यलाई सम्मान र आस्थाको नजरले हेरिन्छ। आदि शङ्कराचार्य हिन्दू धर्मको दार्शनिक व्याख्याका लागि पनि परिचित छन्। आदि शङ्कराचार्यले हिन्दू धर्मको प्रचारप्रसारका लागि चारवटा मठ स्थापना गरेका थिए। ती मठहरूको काम धर्म प्रचार गर्नु थियो।
ज्योतिर्मठका शङ्कराचार्य अविमुक्तेश्वरानन्द सरस्वतीले उक्त प्राणप्रतिष्ठा कार्यक्रममा देशका चारवटै मठका शङ्कराचार्य सहभागी नहुने बताएका छन्। उनका अनुसार त्यो कार्यक्रम शास्त्रबमोजिम आयोजना हुन गइरहेको छैन।
तर शृङ्गेरी मठले विज्ञप्ति जारी गर्दै शङ्कराचार्य भारती तीर्थको तस्बिरसहित सन्देश पोस्ट गरिएको भन्दै शृङ्गेरीका शङ्कराचार्यले प्राणप्रतिष्ठाको विरोध गरेको आशङ्काप्रति स्पष्टिकरण दिएको छ। उक्त मठका अनुसार शङ्कराचार्यले त्यस्तो कुनै सन्देश दिएका छैनन् र अहिले भइरहेको प्रचार गलत हो।
प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुन शृङ्गेरी शङ्कराचार्यको तर्फबाट अपिल गरिएको छ। अर्कोतर्फ शङ्कराचार्य अविमुक्तेश्वरानन्दको भने एउटा भिडियो सामाजिक सञ्जालमा शेअर भइरहेको छ।
उक्त भिडिओमा शङ्कराचार्य अविमुक्तेश्वरानन्द भन्छन्, यदि यो रामानन्द सम्प्रदायको मन्दिर हो भने चम्पत राय त्यहाँ के गर्दै हुनुहुन्छ ? यी मानिसहरू त्यहाँबाट हट्नुपर्छ। हटेर रामानन्द सम्प्रदायलाई पहिले प्रतिष्ठा सुम्पिदिनुहोस्। हामी मोदी विरोधी होइनौँ तर धर्मशास्त्रविरोधी पनि हुन चाहँदैनौँ।
शृङ्गेरी मठले विज्ञप्ति जारी गर्दै शङ्कराचार्य भारती तीर्थको तस्बिरसहित सन्देश पोस्ट गरिएको भन्दै शृङ्गेरीका शङ्कराचार्यले प्राणप्रतिष्ठाको विरोध गरेको आशङ्काप्रति स्पष्टिकरण दिएको छ। शृङ्गेरी मठले विज्ञप्ति जारी गर्दै शङ्कराचार्य भारती तीर्थको तस्बिरसहित सन्देश पोस्ट गरिएको भन्दै शृङ्गेरीका शङ्कराचार्यले प्राणप्रतिष्ठाको विरोध गरेको आशङ्काप्रति स्पष्टिकरण दिएको छ।
श्रीराम जन्मभूमि ट्रस्टका महासचिव चम्पत रायले हालै राम मन्दिर रामानन्द सम्प्रदायको भएको बताएका थिए। शङ्कराचार्य अविमुक्तेश्वरानन्दले भनेका छन्, चारै शङ्कराचार्यहरूले कुनै आसक्ति वा घृणाका कारण होइन तर शास्त्रको पालना गरेर त्यसलाई पूरा गर्ने जिम्मेवारी शङ्कराचार्यको हो।
अहिले त्यहाँ शास्त्रलाई बेवास्ता गरिएको छ। मन्दिर अझै पूर्ण छैन र प्रतिष्ठा भइरहेको छ। अचानक गर्नु पर्ने अवस्था देखिँदैन। कुनै बेला त्यहाँ रातमा मूर्ति राखिएको थियो त्यो एउटा विशेष परिस्थिति थियो। सन् १९९२ मा संरचना भत्काउँदा कसैले शुभ मुहूर्त हेरेको थियो र ? त्यसबेला कुनै पनि शङ्कराचार्यले प्रश्न उठाएनन् किनभने परिस्थिति त्यस बेला त्यस्तै थियो, उनले भनेका छन् ।
शङ्कराचार्य अविमुक्तेश्वरानन्दले भने, आज हामीसँग प्रतिष्ठा राम्रोसँग गर्ने मौका छ। त्यसैले म बोलिरहेको छु अनि मलाई मोदीविरोधी भनिरहेका छन्। हामी आफैँ धर्मशास्त्रको पालना गर्न चाहन्छौँ र जनतालाई पनि पालन गराउन चाहन्छौँ।
धर्मशास्त्रले नै राम छन् भनी बताएको छ। जुन शास्त्रबाट हामीले रामलाई चिनेका छौँ त्यही शास्त्रबाट प्राणप्रतिष्ठा पनि जान्दछौँ। त्यसैले त्यहाँ कुनै शङ्कराचार्य जाँदैनन्।
गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले एक च्यानललाई भनेका छन्, प्राणप्रतिष्ठा कार्यक्रममा निम्तो दिएमा गर्व हुने र निमन्त्रणा नगरेमा रिस उठ्ने खालको मेरो हृदय होइन । शास्त्रअनुसार रामको प्रतिष्ठा हुनु आवश्यक छ। अहिले शास्त्रअनुसार प्रतिष्ठा हुन सकेको छैन, त्यसैले त्यहाँ जानु उचित हुँदैन। एकजना व्यक्तिसँग आउन सक्नुहुन्छ भन्ने निमन्त्रणा त आएको छ।
उनले थप भनेका छन्, कसले मूर्तिलाई छुने र कसले नछुने भन्ने कुरामा सचेत हुनुपर्छ। पुराणमा विधिवत भएमा मात्र देवता ९मूर्ति० प्रतिष्ठित हुन्छन् भनिएको छ। यदि यो ठीकसँग गर्न सकिएन भने देवी(देवताहरू क्रोधित हुन्छन्। यो खेलवाड गर्ने कुरा होइन। ठीकसँग गरे मात्रै देवताको तेज सबैका लागि कल्याणकारी हुन्छ, नत्र विस्फोटक हुन्छ।
उनले भने, मोदीजीले मूर्तिको उद्घाटन गर्नेछन्, प्रतिमा छुनेछन् अनि म चाहिँ त्यहाँ ताली बजाउने र जयजयकार गर्नेछु ? मैले सबैभन्दा उच्च पद पाएको छु। मलाई आफ्नो पदको गरिमाको बारेमा थाहा छ। म त्यहाँ गए भने बढीभन्दा बढी पाउने भनेको मोदीजीको नमस्कार त हो नि हैन र ? म अयोध्याको विरोधी होइन। त्यहाँ मेरो सम्बन्ध टुट्ने छैन। तर यस अवसरमा जानु उचित होइन।