वीरगञ्ज । वीरगञ्जबाट सञ्चालित घण्टाघर टिभी डटकम अनलाइन पोर्टलको आधिकारिक फेसबुक पेज घण्टाघर टिभी ह्याक भएको छ ।
श्री घण्टाघर कम्युनिकेसन प्रालिद्वारा सञ्चालित घण्टाघर टिभी डटकमको आधिकारिक फेसबुक पेजमा केही व्यक्तिले अनधिकृत रूपमा पहुँच पुर्याई ह्याक गरेको बुझिएको हो ।
बिहीबार बिहानदेखि पेजमा समस्या आइरहेको श्री घण्टाघर कम्युनिकेसन प्रालिका अध्यक्ष एवम् प्रस्तोतासमेत रहेका राधेश्याम पटेलले जानकारी दिए । पेजबाट अनधिकृत रूपमा पोस्ट समेत भएको पटेलले बताए । अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको उनको भनाई छ ।
पटेलका अनुसार उनको व्यक्तिगत आइडीमा समेत ह्याकरहरूले पहुँच पुर्याएका छन् । उनले घण्टाघर टिभीको फेसबुक पेज र उनको व्यक्ति प्रोफाइलबाट आगामी दिनमा अश्लील अथवा असान्दर्भिक सामाग्री पोस्ट भएमा पेजलाई अनफलो गर्दै एकाउन्टलाई अनफ्रेन्ड गर्न र मेसेन्जर च्याट मार्फत संवाद समेत नगर्न आग्रह गरेका छन् ।
उनले छिट्टै घण्टाघर टिभीको नयाँ पेज सुरु गरिने जानकारी समेत दिएका छन् ।