×

तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी सम्हालेको वर्ष दिन पुग्नै लाग्दा पुष्पकमल दाहाल प्रचण्डकी एक नातिनीको विवाह काठमाडांैको महँगोमध्येमा पर्ने गोकर्ण रिसोर्टमा भव्य रूपमा भयो। हिंसात्मक आन्दोलनमा हुँदा कुनै बेला स्वयंले विरोध गर्ने भड्किलो विवाहमा प्रचण्डले घरपट्टि बनेर कानुनले तोकेभन्दा बढ्ता सयौँ निम्तालुको स्वागत गरिरहेका थिए।

प्रचण्ड स्वयं पुस पहिलो साता एनसेलको सेअर विक्रीबारे जबाफ दिन एक संसदीय समिति पुग्दा आफ्ना परिवार जोडिएको प्रश्नहरूको सामना गरे। परिवारलाई जोडेर आफूलाई ह्युमिलेट र डिप्रेस गराउन खोजिएको उनको जबाफ थियो।

खासगरी त्यहाँ उनकी कान्छी छोरी गङ्गा दाहाललाई जोडेर कतिपय सांसदले प्रश्न उठाएपछि उनले भने, मेरो परिवारका सदस्यहरू घट्दै गएर तीनजना रहेका छौँ जसमध्ये एकजना रेणु दाहाल भरतपुर नगरपालिकाको मेयर छ ऊ उतै बढी इन्जेग हुन्छे। गङ्गा दाहाललाई इङ्गित गर्दै प्रचण्डले थपे, उनलाई जोडेर बनाएको छ, उचालेको छ भन्दा म के ठान्छु भने यो वास्तवमा संविधान, प्रणाली, गणतन्त्र, लोकतन्त्रविरुद्धको हमला हो।

माओवादी नेता राम कार्की आरनमा बसेका, हुर्किएका केटाकेटीले आरनको काम केही जान्ने भनेर उनीहरूले पाएका हालका जिम्मेवारीलाई अस्वाभाविक नठाने तापनि त्यसका केही सीमाहरू हुने बताउँछन्। उनीहरू राजनीतिको असाध्यै अस्वाभाविक समयमा हुर्किए, त्यसैले दबिएर बसेका थुप्रै इच्छाहरू होलान्, कार्की भन्छन्, उनीहरूलाई माया पनि गर्नुपर्छ, स्नेह पनि गर्नुपर्छ र मर्यादाभित्र पनि राख्नुपर्छ।

स्वकीय सचिव रहेकी प्रचण्डकी कान्छी छोरी देशभित्रै र बाहिर हुने महत्त्वपूर्ण बैठकहरूमा सहभागी भएकी देखिन्छिन्। खासगरी भारत भ्रमणका क्रममा त्यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिन्पिङसँगको प्रतिनिधिमण्डल स्तरीय वार्तामा उनी प्राथमिकताका साथ देखिएपछि व्यापक आलोचना भएको थियो।

माइली छोरी हाल दोस्रो कार्यकाल चितवन महानगरपालिकाकी मेयर छिन्। पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद बनेकी उनी दोस्रो संविधानसभा निर्वाचनमा भने प्रत्यक्षतर्फ पराजित भएकी थिइन्। उनलाई जिताउन गठबन्धनका शीर्ष नेताहरूले चुनावी अभियानका क्रममा भरतपुर दौडाहा गरेका थिए।

जीवन आचार्य, गङ्गा दाहालका पति कोशी प्रदेशमा यसै वर्ष दुई पटक मन्त्री बने। एक महिनाको अन्तरालमै उनी कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरण र आर्थिक मामिला तथा योजना मन्त्री बने। दोहोर्‍याएर उनैलाई मन्त्री बनाउँदा पार्टी त्याग्ने कतिपय पुराना नेताको धम्कीबीच समेत प्रचण्ड आफ्नो निर्णयमा पछि हटेनन्।

यसअघि समेत प्रचण्डले आफ्नी बुहारी बिना मगरलाई मन्त्री र भाइ नारायण दाहाललाई राष्ट्रियसभा सदस्य बनाएका थिए। राजनीतिशास्त्री हरि शर्मा प्रधानमन्त्रीका दुई छोरीमध्ये एक निर्वाचित जनप्रतिनिधि भएकाले उनको मूल्याङ्कन भरतपुर नगरपालिकाको मेयरका रूपमा उनकै कामबाट हुनुपर्ने बताउँछन्।

तर स्वकीय सचिवको भूमिकामा रहेकी छोरीको भूमिकाको समीक्षा गर्नु अप्ठ्यारो कुरा रहेको उनी ठान्छन्। आफ्नी श्रीमतीको देहान्तपछि प्रधानमन्त्री एक्लो हुनुहुन्छ। परिवारमा उहाँको रेखदेख गर्ने निकटतम व्यक्तिको रूपमा छोरी हुनुहुन्छ। तर आलोचना किन छोरीलाई नै स्वकीय सचिवजस्तो पदमा राख्नुपर्‍यो भनेर हुनसक्छ, राजनीतिशास्त्री शर्मा भन्छन्।

उहाँको खानपान, स्वास्थ्य, घरको व्यवस्था हेर्नलाई त कसैले रोक्दैन। यदि त्यो गर्ने उहाँको काम हो भने र अर्को काम शासन व्यवस्थामा हुने हो भने स्पष्ट निर्धारण हुनुपर्छ। प्रधानमन्त्रीलाई सघाउन बस्ने समूहका व्यक्तिहरू सार्वजनिक रूपमै जबाफदेखि हुनुपर्ने उनी ठान्छन्।

किनकि उनीहरू जुन व्यक्ति वा संस्थालाई सघाउन बसेका हुन्छन् त्यसको सार्वजनिक चासो निकै ठूलो हुन्छ। नेपालमा प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बस्नेहरूले आफ्ना सहयोगी समूहमा ूजहिलेसम्म कसलाई के कारण लिएको भन्ने जबाफ दिन सक्दैनन् तबसम्म ती नितान्त व्यक्तिगत स्वार्थपूर्तिका लागि आएको भन्न सकिनेू राजनीतिशास्त्री शर्माको मत छ।

त्यसैले उनीहरूको योग्यता, बुझ्न र बुझाउन सक्ने क्षमता, सार्वजनिक चरित्र निकै महत्त्वपूर्ण हुने उनी बताउँछन्। हरि शर्मा थप्छन्, विगतमा राजाकै पालादेखि नै नेता ठीक छन् भनेर वरपरका ठीक भएनन् भनेर नेतृत्वलाई चोखो राख्न खोज्ने प्रवृत्ति देखिन्छ। तर यसमा जबाफदेखि हुनुपर्ने मुख्य व्यक्ति भनेको तिनलाई नियुक्ति गर्ने नेतृत्व हो।ू

नेता राम कार्कीले प्रचण्डको परिवारका कोही अहिले पार्टीको भयङ्कर महत्त्वपूर्ण भूमिकामा नरहे पनि परिवार मोह असामान्य रूपमा देखिनुपछाडि उनी नेतृत्वमा हुँदा भएका कामसँग जोडेर हेर्नुपर्ने बताउँछन्। कुरूप प्रणालीलाई फेर्ने प्रयास रहुन्जेल मान्छेको जीवन, पारिवारिक जीवन सबै सुन्दर देखिन्छ। जब त्यसलाई बचाउनेतिर गइन्छ तब मानिस कुरूप हुँदै जान्छ, उनी भन्छन्।

मूल रूपमा जसले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिताजस्तो कुराको वकालत गरेर ल्याए तिनले त्यसलाई समाजमा लागु गर्ने प्रयास नै गरेनन्। जस्तो गणतन्त्र सबैभन्दा बढी देखा पर्नुपर्ने परिवारमा, समुदायमा, विद्यालयमा हो जुन छैन। राजनीतिक विश्लेषक हरि रोकाको मत कार्कीसँग मिल्दो छ।

उनको बुझाइमा प्रचण्डले पार्टीका नेताहरू राखेर गर्नुपर्ने धेरै राजनीतिक बैठकहरू छोरी र स्वकीय सचिवहरूलाई राखेर गर्न थालेदेखि त्यो अस्वाभाविक देखिन थालेको देखिन्छ। प्रचण्डले अघिल्ला कार्यकालमा छोरा प्रकाशदेखि अहिले छोरी गङ्गासम्मलाई स्वकीय सचिव बनाउने नराम्रो अभ्यास सुरु गरेको उनको बुझाइ छ।

नातिनीको विवाहसम्म आइपुग्दा प्रचण्डले सैद्धान्तिक, राजनीतिक र करिअरकै हिसाबले ब्लन्डर गरेको रोका बताउँछन्। वहाँले यति ठूला गल्ती गर्दै जानुभयो, कम्युनिस्ट नेता हुँ, मैले राम्रो आचरण राख्छु र जनताको पक्षमा काम गरिरहन्छु भन्नु झुटो कुरा हो, विश्लेषक रोका भन्छन्। वहाँले आफ्नो हिसाबले आत्म समीक्षा गर्नुपर्छ र यही गतिले निरन्तरता दिनुको अर्थ पनि छैन।ू

द्वन्द्व कालमा माओवादी राजनीतिमा संलग्न रहिसकेका राजनीतिक विश्लेषक मुमाराम खनालका विचारमा प्रचण्डसामु यतिखेर लोकतान्त्रिक मुलुकको सत्ता र कम्युनिस्ट पृष्ठभूमिको राजनीतिबीचको दोधार देखिन्छ। त्यस्तोमा संस्थाप्रति होइन स्वयं व्यक्तिप्रतिको विश्वास निकै उच्च हुन्छ, खनालको भनाइ छ, संस्थाप्रतिको विश्वास हो भने परिवारबाट मात्र होइन कैयौँ ठाउँमा दलबाट पनि मुक्त गर्नुपर्छ।

उनले प्रचण्डको परिवारको सदस्य भएकै कारण मात्र भूमिका पाएको देखिनुलाई चिन्ताजनक मान्छन्। प्रचण्डनिकट रहेकै कारण र पारिवारिक निकटता भएकै कारण मात्र जिम्मेवारी पाउँदा त्यसले देशका लागि नतिजा दिँदैन । तर त्यो ूनेतृत्वलाई केन्द्रीकृत गर्ने प्रचण्डको घोषित सोचू अनुसार नै रहेको खनाल मान्छन्।

त्यो शक्तिमा कुनै पनि प्रकारको अवरोध नहोस् भनेर उनले पार्टीबाट समेत आफ्ना मान्छे र आफन्तहरूलाई कुनै न कुनै नियुक्ति दिएका छन्। बीबीसीको रिपोर्टमा आधारित

Back to top