×

“ऊ जे केरवा जे फरेला घवद से, ओह पर सुगा मेडाराए ।

ऊ जे खबरी जनइबो आदित (सूर्य) से, सुगा देलें जुठियाए।

ऊ (सूर्य) जे मरबो रे सुगवा धेनुक से, सुगा गिरिहें मुरछाए ।

ऊ जे सुगनी जे रोये ले वियोग से, आदित होइँ ना सहाय,

देव होइँ ना सहाय…।”

सर्वप्रथम उपरोक्त गीतको कथा जानौँ । व्रतालुको बारीमा केराको बोट थियो । छठ व्रतको लागि केरा राखिएको थियो । केराको झुप्रो वरिपरि एक सुगा मडारिन थाल्यो । व्रतालुले ती सुगालाई केरा टोकेर अशुद्ध गरेमा भगवान् सूर्यसँग गुनासो गर्ने र यस प्रकारको गल्ती माफी लायक पनि नहुने कुरा अवगत गराइन् । यद्यपि सुगाले केराको झुप्रोमा चुच्चोले टोक्यो । केरा जूठो गर्‍यो ।

सुगाको हरकतले व्रतालुको मन खिन्न भयो । मानसिक रूपमा खिन्न व्रतालुले सूर्य देवताको ध्यान गर्दै सुगाको हरकत पोखिन् । अन्ततः सुगा सूर्यदेवको बाणले मुर्छित भयो । त्यसपछि ‘सुगनी’ अर्थात् सुगाकी पत्नी विलाप गर्न थालिन् । सूर्य देवतासँग करुणा जाहेर गर्न थालिन् । यसरी उपरोक्त संक्षिप्त भोजपुरी लोकगीतमा छठ पर्वको बृहत् महत्त्व समाहित छ ।

उपरोक्त गीतले छठ पर्वको महत्ता वर्णन गर्दछ । कुनै पनि प्रकारले अशुद्धता मान्य नहुने छठ पर्वमा त्यसो हुन गएमा वा गरेमा सूर्य देउताको क्रोधको भागीदार भइजाने आशयसहित सचेत गराइएको पाइन्छ । छठ पूजामा प्रयोग हुने प्राकृतिक उत्पादनहरूमध्ये केरा पनि एक हो । कालान्तरमा सुगाले टोकेर पूजन सामग्री (केरा) अशुद्ध गरेको प्रसङ्गलाई उद्धृत गरी व्रतालु महिलाहरूद्वारा उपरोक्त छठ गीत सिर्जना भएको अनुमान लगाउन कठिन छैन ।

छठ पूजामा प्रयोग हुने अनन्य कृषिजन्य प्राकृतिक सामग्री अशुद्ध गर्नु हुन्न भन्ने कुरा उपरोक्त गीतको भाष्य हो । छठ पर्वको महत्ता स्मरण गराउने उपरोक्त गीतझैँ छठ पर्वको प्रसङ्ग वर्णन गर्ने भोजपुरी र मैथिली भाषामा अनेकौँ कर्णप्रिय पारम्परिक लोकगीतहरू छन् । सोहीमध्ये निम्न भोजपुरी गीत पनि एक हो ।

काँच हिं बाँस के बहँगीया, बहँगी लचकत जाए…।

बहँगी अर्थात् काँवरझैँ डन्डीको दुवैतर्फ दौराको भार काँधको सहाराले छठ घाट पुर्‍याउने संसाधनलाई बहँगी भनिन्छ । अघिअघि बहँगी र पछिपछि गीत गाउँदै व्रतालुहरू छठ घाटमा पुग्छन् । यो गीत साँझ र बिहानी पख घरदेखि छठ घाट जाँदा व्रतालुहरूले समूहगत रूपमा पारम्परिक लोकगीत गाउँदै जान्छन् ।

त्यसै गरी, एक अर्को गीतले छठी माता र व्रतालुबिचको सामीप्ययता वर्णन गर्दछ । छठ घाटमा पुग्ने बित्तिकै प्रथमतः जलाशयबाट जल ल्याएर ‘सिरसोता’ अर्थात् छठी माताको प्रतिमूर्तिको पूजापाठ गरिन्छ । द्वितीय चरणमा जलाशयको किनारमा दीप प्रज्वलित गरी सूर्यदेवको पूजा गरिन्छ । त्यसपछि तेस्रो चरण छठी माताको आराधना गर्ने समय हो । अर्थात् सूर्य अस्त हुने बेलासम्म विभिन्न लोकगीतमार्फत निम्न गीतझैँ अनेक गीतको माध्यमबाट छठी मातासँग सामीप्ययता प्रकट गरिन्छ ।

सेविले चरण तोहार, हे छठी मैया ।

महिमा तोहर अपार, हे छठी मैया…।

चौथो चरणमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि कतै तुरुन्तै घर प्रस्थान गरिन्छ भने कतै केही समय अझ बसिन्छ । खास गरी कोशी भाकल गरेका व्रतालु जन अस्ताउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गरे लगत्तै घर प्रस्थान गर्छन् । किनभने उनीहरूले घरमा पुगी कोशी भर्ने कार्यमा जुट्नुपर्छ । कोशी दुई चरणमा भरिन्छ । पहिलो चरण सँझिया घाटबाट घर फर्केपछि र दोस्रो चरण मध्यरात्रिको बेला छठ घाटमा ल्याइ पुनः कोशी भरिन्छ अर्थात् पूजापाठ गरिन्छ । ब्रह्म मुहूर्तमा नुहाई धुवाइ गरेर पुनः व्रतालुजनको छठ घाटमा आगमन हुन थाल्छ । यसलाई ‘बिहनिया वा भोरिया घाट’ सम्बोधन गरिन्छ । बिहनिया घाटमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार दिवसीय छठ व्रतको समापन हुन्छ । 

छठ व्रतमा शुद्धाशुद्धि पहिलो र अनिवार्य सर्त हो । किञ्चित मात्र पनि अशुद्धताको गुञ्जाइश हुँदैन ।

छठ पर्वको मिठास

भक्ति र अध्यात्मले भरिएको यस पर्वमा बाँसबाट बनेका दौरा, सुपुली, माटाका भाँडा, साठीको चामल तथा गहुँबाट बनेका ठेकुवाका साथै अनेक प्रकारका वनस्पति प्रयोग गरिन्छन् । यसका साथै कर्णप्रिय पारम्परिक लोकगीतहरूको गुञ्जले यस पर्वको मिठास व्यक्त हुन्छ ।

प्रकृति, संस्कृति र जनआस्थाको महत्त्व बोकेको छठ पर्व स्थानीय रीतिरिवाज र परम्पराले भरिपूर्ण पर्व हो । यसको केन्द्रमा वेद र पुराणजस्ता धार्मिक ग्रन्थका साथै कृषि, किसान र ग्रामीण जनजीवन अनुभूत गर्न सकिन्छ । सनातन संस्कृतिको यो एक मात्र पर्व हो, जसमा पूजापाठको लागि पुरोहित आवश्यक पर्दैन ।

लोपोन्मुख कन्दमूल

पुरातन कालमा छठ आर्थिक भार पर्ने खालको पर्व थिएन । किनभने पूजामा प्रयोग हुने कन्दमूल आदि स्थानीय उत्पादनमा आधारित थियो र छ । यद्यपि वर्तमान समयमा महँगीको भारका साथै कतिपय स्थानीय कन्दमूल लोपोन्मुख छन् । त्यस कारण लोपोन्मुख ती कन्दमूलहरूको मागको तुलनामा आपूर्ति कम त छँदै छ महँगीको असरले छठ पर्व महँगो हुन गएको हो । त्यसै गरी, जोसँग जुन पूजन सामग्री उपलब्ध हुन्छ, त्यो सामग्री एकले अर्कालाई स्वस्फूर्त रूपमा सहयोग गर्ने प्रचलनले छठ पर्वको महत्वलाई दर्साउँछ ।

जनसहभागिताको महापर्व

यस पर्वको लागि मानिसहरूले सामूहिक अभियान सञ्चालन गर्छन् । छठ घाटको सरसफाइ, सिरसोताको निर्माण, भक्तजन आवतजावत गर्ने बाटोको व्यवस्थापन, पोखरी वा खोलाको किनारमा अर्घ्य दिने उचित व्यवस्था गर्न समाजले सरकारको सहयोग खोज्दैन । यस पर्वमा खरना मनाउनेदेखि अद्र्धदानसम्म समाजको अनिवार्य उपस्थिति रहन्छ । छठ पर्वको अवसरमा मानिसहरू आफ्नो दैनिक जीवनका कठिनाइहरू बिर्सन्छन् । सेवा र भक्तिको भावनामा समाहित हुन्छन् । यो पर्व जनसहभागिताको विशालता र भव्यता दर्साउने महापर्व हो ।

सृष्टिदाता

छठ पर्व मूलतः सनातन संस्कृतिको विशेष स्थान ओगटेको सूर्यको आराधनाको पर्व हो । हिन्दू धर्मका देवताहरूमध्ये सूर्य एक यस्तो देवता हुन्, जसलाई मूर्त रूपमा देख्न सकिन्छ । हिन्दू धर्मग्रन्थ अनुसार सूर्यको शक्तिको मुख्य स्रोत उनका पत्नी उषा र प्रत्युषा हुन् । छठमा सूर्यसँगै दुवै शक्तिको संयुक्त रूपमा पूजा गरिन्छ । सँझिया घाटमा अस्ताउँदो किरण ‘प्रत्युषा’ तथा बिहनिया/भोरिया घाटमा सूर्यको उदाउँदो किरण ‘उषा’लाई अर्घ्य अपर्ण गरी पूजा गर्ने प्रचलन छ । सूर्यको उपासना ऋग्वेदकलादेखि हुँदै आएको छ । अर्थात् यो पर्व विज्ञानको उदयभन्दा धेरै अघिदेखि हुँदै आइरहेको मान्यता छ ।

सृष्टिको सञ्चालन सूर्यविना असम्भव रहेको विभिन्न धर्मग्रन्थहरूमा उल्लिखित कुरा वैज्ञानिक दृष्टिकोणले पनि अकाट्य तथ्य हो । त्यस कारणले सृष्टिका पालनहार सूर्यदेवको आराधना गर्ने सनातन संस्कृतिको महापर्व हो, छठ व्रत । विष्णु पुराण, भागवत पुराण, ब्रह्मवैवर्त पुराण आदिमा सूर्य र सूर्यको उपासनाको विस्तृत वर्णन गरिएको पाइन्छ । मध्यकालमा छठ सूर्यको आराधनाको व्यवस्थित पर्वको रूपमा स्थापित भयो, जुन अहिलेसम्म निरन्तर छ ।

सृष्टि र पालनपोषणको शक्तिका कारण सभ्यताको विकाससँगै विभिन्न स्थानमा सूर्यको आराधना विभिन्न रूपमा सुरु भए पनि सूर्यलाई देवताको रूपमा पूजा गर्ने कुरा ऋग्वेदमा उल्लेख गरिएको पाइन्छ । यसपछि अन्य सबै वेदका साथै उपनिषद् आदि वैदिक ग्रन्थहरूमा यसको चर्चा प्रमुख रूपमा गरिएको पाइन्छ ।

छठ पर्वको सन्देश

अस्ताउँदो र उदाउँदो सूर्यको पूजाले समाजमा ओरालिएका मानव भोलि नयाँ ऊर्जाका साथ उदाउँछन् भन्ने सन्देश प्रवाह गर्दछ । आज समाप्त भएको दिन भोलि फेरि बिहान उदय भएर आउँछ । सूर्य अस्ताउनु भनेको चन्द्रमालाई उदाउने मौका दिनु हो । सबैले आफ्नो अधिकार प्रयोग गरेर अरूलाई पनि उसको अधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने छठ पर्वले समाजमा गहिरो सन्देश प्रवाह गर्दछ । सृष्टिमा उदय–अस्त र अस्त–उदयको प्रवाहलाई कसैले रोक्न सक्दैन ।

सनातन संस्कृतिका मान्य देवी देउताहरू मध्ये मूर्त रूपमा देख्न सकिने सूर्यदेवको शक्तिलाई नमन गर्ने महापर्व छठको सबैमा शुभकामना ।

(लेख वीरगञ्जबाट प्रकाशित हुने राष्ट्रिय प्रतीक दैनिक पत्रपत्रिका राजेश मिश्रले लेख्नुभएको छ ।)

Back to top