×

इजरायली सेनाले गाजा शहरको सबैभन्दा ठूलो अस्पताल अल(शिफाको हरेक कोठामा हमासको खोजी गरिरहेको छ । अस्पतालको पूर्ण खोजी हुन केही हप्ता लाग्ने अनुमान गरिएको छ।

इजरायली सेनाका प्रवक्ता ले। जोनाथन कोनरिकसले बीबीसी रेडियो फोरको कार्यक्रममा अस्पताल मुनि सुरुङको सञ्जाल रहेको र खोजी गर्न ुकेही हप्ताु लाग्न सक्ने बताए ।  अस्पतालमा हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टर रहेको र केही हतियार पनि भेटिएको उनको दाबी छ । 

अर्कोतर्फ अल(शिफा अस्पतालका निर्देशकले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'स्थिति निकै डरलाग्दो छ । अस्पतालमा रहेका मानिसहरू तिर्खाले रोइरहेका छन्।’  गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले आफ्नो कारबाहीमा अल शिफा अस्पतालको एक भाग ध्वस्त पारेको जनाएको छ । 
अस्पतालमा उपस्थित प्रत्यक्षदर्शीहरूले इजरायली सैनिकहरू अस्पतालको चारैतिर रहेको र जताततै गोली चलिरहेको बताएका छन् ।

यसैबिच, बिहीबार गाजा पट्टीमा फोन र इन्टरनेट सञ्चार पूर्ण रूपमा बन्द भएको समाचार छ। दूरसञ्चार कम्पनीले ल्यान्डलाइन, फोन र वाइफाइ सुविधा पूर्णरुपमा उपलब्ध नहुने जनाएको छ ।

मध्य गाजामा बुधबार राति इजरायलले गरेको हवाई बमबारीमा ५० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । उता इजरायली सेनाले आफ्नो भूमिगत कारबाहीमा अहिलेसम्म ५० सैनिक मारिएको जनाएको छ । इजरायलले अब दक्षिणी गाजाका चार क्षेत्रबाट मानिसहरूलाई आफ्नो घर खाली गर्न आग्रह गर्दै पर्चाहरू खसालेको छ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार गाजा पट्टीका ३५ मध्ये २६ अस्पतालले काम गर्न छाडेका छन्।

Back to top