वीरगञ्ज । भारतको विहार राज्यस्थित पूर्वी चम्पारणाको छौडादानोमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेको सोमबार पुतला दहन गरिएको छ ।
सयौँको सङ्ख्यामा उपस्थित स्थानीयहरूले एसपी काफ्लेले निर्दोषहरूलाई फसाएको भन्दै उनको पुतला जलाउनुका साथै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।
गत कार्तिक १३ गते बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका – ६ मदर्शा टोलस्थित बाल एकता स्कूलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्या गरेको आरोपमा बारा प्रहरीले छौडादानोको तीनकोनिया निवासी कामेश्वर सहनीको नाम जोडिएपछि आन्दोलित भएका स्थानीयले एसपी काफ्लेको पुत्ला जलाएका हुन् ।
रुपेश हत्याकाण्डमा प्रहरीले सहनीलाई सुटर समूहका सदस्य भएको बताएको छ । उनी ग्राम पञ्चायतका पूर्व सदस्य समेत हुन् । स्थानीयहरूका अनुसार घटनाको दिन उनी अन्यत्र रहेकोले रुपेश हत्याकाण्डमा उनको नाम जोडेर प्रहरीले उनलाई फसाउन खोजी रहेको छ ।
रुपेशको हत्या भएको दुई दिन पश्चात् बारा प्रहरीले पत्रकार सम्मेलन आयोजना गरेर उनको हत्यामा संलग्न रहेको आरोपमा पाँच जनालाई सार्वजनिक गर्दै गोली प्रहार गर्नेहरू अझै फरार रहेको बताएको थियो । गोली प्रहार गर्ने सुटर समूहमा भारत विहार राज्यको मोतिहारी जिल्लास्थित दर्पा थाना–१ सुक्लहिया गाउँका सुजीत कुमार सिंह, सोही स्थान बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी रहेको प्रहरीले दाबी गरेको थियो । प्रहरीले उनीहरू एक महिना अगाडि भएको अर्को हत्याकाण्डमा समेत संलग्न रहेको दाबी गरेको थियो ।
यद्यपि छौडादानोका स्थानीयहरूका अनुसार बारा जिल्लामा कुनै घटना हुँदा सहनीसँगै सिंह, पाण्डे र मनिषको नाम जोड्ने गरेको छ । उनीहरूले सहनीको नाम आरोपितहरूको सूचीबाट हटाउन समेत माग गरेका छन् । आज मङ्गलवार रक्सौल र मोतिहारी थानामा समेत ज्ञापन पत्र बुझाउने उनीहरूको तयारी छ । प्रतीक दैनिकको सहयोगमा ।