नेपालमा रात्रि बजारको अभ्यास विस्तार हुन थालेको छ । अर्थतन्त्रमा मन्दी छाएको अहिलेको अवस्थामा यस्ता गतिविधिलाई अल्पकालीन र दीर्घकालीन उपयोग गर्न सकिन्छ । यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्नुका साथै स्थानीय उत्पादन, भाषा, कला, संस्कृतिको प्रवर्द्धनसमेत गर्छ । त्यसैले सरोकारका पक्षले यसलाई रणनीतिक रूपमा अघि बढाउनुपर्छ ।
एक समय हाटबजार निकै लोकप्रिय थिए । हप्ताको कुन दिन कहाँ हाट बजार लाग्छ भन्नेमा सबैको चासो हुन्थ्यो । यस्ता हाटबजार आर्थिक गतिविधिको मुख्य अवसर मानिन्थे । पूर्वी नेपालका केही बस्तीहरूको नामकरण नै हाटबजार लाग्ने दिनबाट भएको छ । जस्तै : आइतबारे, सोमबारे, मंगलबारे, बुधबारे इत्यादि । त्यस समय किसानले आफ्नो खेतमा उब्जाएको अन्न, तरकारी, पशुपन्छीदेखि व्यापारिक प्रयोजनका लागि आयात गरिएका सबैजसो वस्तुको विक्री केन्द्र नै हाट बजार थिए । अहिले नाम चलेका नेपालका औद्योगिक घरानाहरूको अग्रज पुस्ताले नेपालमा व्यवसाय शुरू गर्दाताका यस्तै हाटबजारमा मालसामान पुर्याएर विक्री गर्दथे । त्यस समय आर्थिक गतिविधिका मुख्य माध्यम मानिएका हाटबजार अहिले एकाध स्थानमा होलान्, यो अभ्यास अब लोप भइसकेको छ । विभिन्न पर्वका अवसरमा लाग्ने मेला पनि एक समय आस्थासँगै व्यापारका माध्यम पनि थिए । आज आस्था रहे पनि व्यापारिक ओज कम भइसकेको छ ।
कुनै पनि वस्तुको खरीदविक्रीको लागि अब मानिसलाई हाटबजार र मेला महोत्सव पर्खिनुपर्ने स्थिति छैन । मानिसको बदलिँदो दैनिकी र प्रविधिको प्रयोगले यस्ता बजार एकप्रकारले विस्थापितजस्तै छन् । क्रेताविक्रेता दुवै प्रविधिमै अभ्यस्त हुने दिन आइसकेको छ । मानिसको व्यस्त दैनिकीले गर्दा अब सटरको व्यापार अनलाइनतिर उन्मुख भइरहेको छ । यस्तो अवस्थामा खरीददारी त अनलाइनबाट भइरहेको छ, तर मानिसलाई नभई नहुने रिफ्रेसमेन्ट कसरी हुने ? मानिसको दैनिकीको एउटा मान्यता नै छ ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम । दिनभरि कामका खटिएको मानिसलाई त्यसपछिको समय बिताउने ठाउँ बन्न सक्छ, रात्रि बजार । अहिले अनलाइन माध्यममा केन्द्रित भइरहेको वस्तुको खरीदविक्रीलाई रात्रि बजारले क्रेताविक्रेताबीच प्रत्यक्ष रूपमा कारोबारको वातावरण पनि जुटाउन सक्छ ।
अहिले अभ्यासमा रहेका औसत बजारहरू बिहान खुल्ने र साँझ पर्दा नपर्दै बन्द हुने भएकाले कार्यालय समयपछि बजारमा खरीददारीका लागि जान चाहनेहरूका लागि रात्रि बजार उपयुक्त विकल्प हुन् । एउटा समयसीमाभित्र बसेर काम गर्नुपर्ने व्यस्त दैनिकीका मानिसहरूलाई रातिको समयमा बजारमा घुमफिर र किनमेलको उपयुक्त स्थान बन्न सक्दछ, रात्रि बजार ।
विश्वमा रात्रि बजारको चलन नयाँ होइन । हाम्रो उत्तर छिमेकी चीनलाई रात्रि बजारको ‘पैतृक घर’ मानिन्छ । चीनबाट शुरू भएर रात्रि बजारको संस्कृति अन्यत्र फैलिएको देखिन्छ । ताइवानले यसलाई भरपुर उपयोग गर्यो । ताइवानलाई रात्रि बजारको केन्द्रबिन्दु नै मान्न थालियो । हामीकहाँ रात्रि बजारको अभ्यास भर्खरै शुरू भएको हो । यो सरोकार स्थानीय रुचि र सम्बन्धको भएकाले स्थानीय सरकारहरूको पहल यस्मा बढी हुनुपर्ने खाँचो महसूस भइरहेको अवस्थामा उपत्यकाबाहिरको वीरगञ्ज महानगरपालिकाले रात्रि बजार अघि बढाएको छ । यो सकारात्मक कुरा हो । आर्थिक तथा औद्योगिक शहरको पहिचान बनाएको वीरगञ्जमा भइरहेको यस्तो पहलबाट स्थानीय बजारले लाभ लिन सक्छ ।
कोरोना महामारीयता विश्व बजारमा सुस्ती आएको छ । अर्थतन्त्रका औसत आयाममा अरूमाथि निर्भर हाम्रो अर्थतन्त्र पनि परनिर्भर नै छ । आयमा आएको कमी र सरकारी खर्च क्षमताको ह्रासका कारण बजारमा मन्दी छ । आज अधिकांश उद्योग व्यापार क्षमताको एक चौथाइमा खुम्चिएको अवस्थामा रात्रि बजारहरू तत्कालका लागि उद्यम व्यापारलाई केही हदसम्म भए पनि त्राण दिने माहोल बन्ने सम्भावना छ । यस्ता बजारहरू तुलनात्मक कम लागतमा सञ्चालन गर्न सकिने भएकाले व्यापारको लागत न्यूनीकरण गर्दै अहिले शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन प्रभावकारी हुने आशा गर्न सकिन्छ । यस्ता बजार रातको समयमा हुने भएकाले अबेरसम्म बजारमा चहलपहल भइरहन्छ । यस्तोमा प्रभावकारी सुरक्षाको चुनौतीलाई सुरक्षा निकाय र स्थानीयको बलियो सहकार्यमा व्यवस्थापन गर्न सहज हुन्छ । यसमा सुरक्षाकर्मी र समुदायको साझेदारी चाहिन्छ ।
दीर्घकालीन उद्देश्यतर्फ रात्रि बजारलाई शहरको संस्कृतिको रूपमा स्थापित गरिनुपर्छ । यसलाई उद्यम, व्यापार, पर्यटन, संस्कृति आदि सरोकारमा केन्द्रित गरिनुपर्छ । जस्तै, वीरगञ्जकै सन्दर्भ लिने हो भने वीरगञ्जको रात्रि बजारलाई यहाँको विशेषताका रूपमा स्थापित गरी वीरगञ्जमा आउने जोकोहीका लागि एकपटक पुग्नैपर्ने स्थानको रूपमा बजारीकरण गर्न सकियो भने त्यो व्यापारमात्र होइन, पर्यटन प्रवर्द्धनका लागि पनि कोसेढुंगा सावित हुन सक्दछ । यसका आधारहरू के हुन सक्छन्, यसमा गृहकार्यको खाँचो छ । स्थानीय उत्पादनको बजारीकरणका लागि यो महत्त्वपूर्ण अवसरको रूपमा उपयोग गरिनुपर्छ । औद्योगिक कोरिडोरका खास उत्पादन, घरेलु तथा हस्तकलालगायत उत्पादनलाई केन्द्रमा राखेर बजारीकरण गर्न सकिन्छ । रात्रि बजार रातिको समयमा हुने भएकाले त्यहाँ जानेहरू केवल किनमेलका लागि मात्रै पुग्दैनन् । स्थानीय खानालाई यस्ता बजारको विशेषतासँग जोड्नु आवश्यक छ । स्थानीय खाना अन्यत्र पनि रात्रि बजारको विशेषताका रूपमा पनि स्थापित छ । जस्तै ताइवानको शिलिन रात्रि बजार सडक खानाको लागि प्रख्यात छ । ताइवानकै टोङ हुवा रात्रि बजार समुद्री खाना र पर्यावरणका लागि चर्चित मानिन्छ । थाइल्यान्डको एसियाटिक दि रिभरफ्रन्ट बजार किनमेल, खाना र मनोरञ्जनको आकर्षक मिश्रणको रूपमा छ । अत: हामीकहाँ रात्रि बजारलाई स्थानीय विशेषताको आधारमा भाषा, कला, संस्कृति, स्थानीय खाना र उत्पादनको संगमका रूपमा विकास गर्नु वाञ्छनीय हुन्छ । साभार :आर्थिक अभियान ।
अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश स्टार्टअप तथा इन्नोभेशन समितिका अध्यक्ष हुन् ।