×

वीरगञ्ज । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज (मङ्गलवार) गणेश चतुर्थी व्रत मनाइँदै छ ।
 
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ । हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

यसैबिच वीरगञ्ज महानगरपालिका – १० घडिअर्वामा आज मङ्गलवारदेखि गणेश चतुर्थी महोत्सव सुरु भएको छ ।

घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएको आकर्षक टेण्टपण्डालमा भगवान् गणेशको मूर्ति स्थापना गरी पूजापाठ गरेर गणेश चतुर्थी महोत्सव शुभारम्भ गरिएको हो ।

गणेश भगवानको मूर्ति अगाडि १४५ केजीको लड्डु पनि राखिएको छ ।

गणेश झन्कार मण्डलको आयोजनामा सुरु गरिएको महोत्सव पाँच दिनसम्म बेलुकी भजनकीर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजक समितिका सचिव प्रभाकर गुप्ताले जानकारी दिए ।

Back to top