×

वीरगञ्ज । वर्तमान नेपाली समाजप्रतिको चिन्तन, मन्थन र गन्थनहरूले निर्देशित कौतुहलता, खुलदुली, एक किसिमको खिन्नता, पिडा, बेखुसी, रिस अनि ग्लानि मिसिएको मेरो शिष्टतापूर्ण आलोचनात्मक अभिव्यक्तिलाई लिखित रूपमा प्रस्तुत गरेको छु । सामान्यतया म निराशावादी अभिव्यक्ति भन्दा आशावादी अभिव्यक्तिलाई प्राथमिकता दिन्छु ।  तर समय, परिस्थिति र समसामयिक सामाजिक सांस्कृतिक सङ्घर्षको निराशावादी व्यवहारिक नतिजाले धमिलिएको मेरो मन आफ्ना विचार र भावना पोख्न चाहन्छ । 

संस्कार असल व्यवहारिक परिणामको अनिवार्य सम्भावना बोकेको आधारभूत विकास सहितको बौद्धिक आचरण हो, अनुशासन हो । यसले व्यक्ति र समाजले कसरी राजनीतिक, सामाजिक, आर्थिक र धार्मिक रूपमा क्रिया र प्रतिक्रिया दिन्छ भन्ने कुरालाई पनि निश्चित ढाँचा प्रदान गरेको हुन्छ । संस्कार भनेको समाजलाई व्यवहारमा लैजाँदा अभ्यासमा चित्रित चरित्र हो । जुन राष्ट्र वा समाजमा चरित्रवान् मौलिक संस्कारलाई एकीकृत संस्कारले व्यवहारमा मार्ग निर्देशन गर्छ तब राष्ट्रियता पनि मजबुत हुन्छ ।

अर्थात् सांस्कृतिक रूपमा मजबुत राष्ट्रको राष्ट्रियता मजबुत र एकीकृत  हुन्छ । त्यस्तै सांस्कृतिक रूपमा कमजोर राष्ट्रको राष्ट्रियता पनि कमजोर र विखण्डित हुन्छ । विखण्डित राष्ट्रका जनता, नेता, व्यापारी र जो कोहि पनि आफू अनुकूल स्वार्थले लुप्त चरित्र प्रदर्शन गर्छन् । देश र समाज प्रतिको उत्तरदायित्व निभाउन विभिन्न सौदावादी गर्न थाल्छन् । समाजबाट मौलिकता र मौलिक संस्कृति बिलाउँदै जान्छ र विदेशी संस्कृति देखासिकी गर्दै अपनाउनुलाई आधुनिक परिवर्तन ठानिन्छ यही “हेजोमोनाइज्ड” हो  । समयको यस कालखण्डमा राष्ट्रिय एकता र विकासले चरम यातना र विखण्डितता सामना गर्छन् ।

“हाम्रो समाज पनि संस्कृति रूपमा हेजोमोनाइज्ड भएको छ, फलस्वरूप समाजको अवस्था बुझ्दै गर्दा कलिलो राष्ट्रिय एकता क्षतविक्षत छ भने उन्नतिले नामकरण गरिएको विकास कछुवाको गतिमा घिस्रिरहेको छ ।” 

वर्तमान नेपाली समाज र १९औँ शताब्दीको रुसी समाज

१९औ शताब्दीको रुसी समाज र तत्कालीन नेपाली समाजको चरित्रमा अधिकतम समानता पाउन सकिन्छ  । उक्त रुसी समाजको “बौद्धिकता र संस्कृति” फ्रान्सबाट “हेजोमोनाइज्ड” भएको थियो । उनीहरूले आफ्नो परम्परागत संस्कृतिलाई छोडी फ्रान्सेली रहनसहन, लवाइखुवाई, रीतिरिवाज, भेसभुसा र जीवन पद्धतिलाई सभ्यताको रूपमा अङ्गालेको देखिन्छ । जो व्यक्ति घुम्न, पढ्न, भाषा सिक्न फ्रान्स जान्थे उनीहरूले ठुला, धनी कि त विद्वानको ओहोदा ग्रहण गर्थे । फ्रान्स गएर पढ्ने, भाषा सिक्ने भन्ने एउटा भनाइ मात्र थियो, मुख्यतया मान्छेहरू आफूलाई ठुलो देखाउन फ्रान्स जानै पर्थ्यो । हरेक मानिसको ब्रह्म इच्छा के हुन्थ्यो भने फ्रान्स जाने फ्रेन्च भाषा सिक्ने अनि स्वदेश फर्केर फ्रेन्च भाषा बोल्दै तडकभडक देखाउने । यसो गर्नुलाई उनीहरू आधुनिक र सभ्य भएको सोच्थे । किसानहरू जो खेतबारीमा कडा मेहनत गर्थे, जो आफै श्रम गरी बाँच्थे उनीहरूलाई पाखे भनिन्थ्यो । नरनारीहरू जो मौलिक भेसभुसामा आफूलाई सहज महसुस गर्थे उनीहरूलाई असभ्य परम्परावादी भनिन्थ्यो । 

परम्परागत रीतिरिवाज, चाडपर्वहरू निरन्तरता दिनुलाई रुढीवादीको श्रेय दिइन्थ्यो । आफ्नै गाउँ, सहरमा निर्मित दैनिकी सामग्री प्रयोग गर्नु गरिबीको रूप झल्काउनु थियो, फ्रेन्च सामग्रीको मोह अति मोह थियो । उनीहरूको विकास सहर केन्द्रित थियो । सहरमा विलासिताको जीवन खोजिन्थ्यो भने गाउला सामान्य र सरल जीवन खोजिन्थ्यो । सहरमा अति आधुनिक जीवन पद्धति थियो भने गाउँमा सामान्य बिरामी हुँदा सेवन गर्ने औषधि मुस्किलले पाउँथ्यो । सहरमा खुलेका विभिन्न रङ्गिन मनोरञ्जन गृहहरूमा गाउँका गरिब बालिकाहरू र महिलाहरूलाई यौनकर्मी बनाइन्थ्यो । मध्यम वर्गीय परिवारहरू धनी वर्गीय परिवारहरूको धौधौ नक्कल गर्न रहर गर्थे । उनीहरू आफ्नो नाजुक आर्थिक अवस्थालाई टालटुल पार्दै धनी भनिने परिवारहरूको लवाइखवाई, रहनसहन, उठबसहरू अनुकरण गर्थे । युवा वर्ग निराशावादी विचारहरूले ग्रसित थिए, उनीहरू देशमा काम नपाइने र केही गर्न पनि नसक्ने भनी विदेशतिर होमिन्थे । भएका युवाहरू पनि कुलतमा फसेर विभिन्न आपराधिक घटनाहरूमा आबद्ध हुन्थे । कोही सरकारी जागिरको लागि मेहनत गर्थे त कोही चाकरी गर्थे । 

जागिर पाए सबै भ्रष्टाचार गर्थे । रुसका सडकहरूमा माग्ने मनिसहरुको ताँती हुन्थ्यो, कोही सद्धे काम गर्न नसक्ने भएर माग्थे भने कोही श्रम गरी पसिना बगाउनु पर्ने अल्छीपनाले माग्थे । रुसी सम्राटहरु राज्यको सम्पति व्यक्तिगत फाइदा र मनोरञ्जनको लागि प्रयोग गर्थे । देश र जनताप्रतिको उत्तरदायित्व उनीहरूको लागि नभेटिने क्षितिज थियो । नेताहरूलाई लम्पट मनोविज्ञानले मुर्झाएको थियो ।

कोही अष्ट्रियाली सम्राट्का त कोही फ्रेन्च सम्राट्का दास थिए, कोही पोलिस त कोही स्पेनिस सम्राट्का दास थिए । रुसी सामाजिक र राजनीतिक संस्कृति पथ भ्रष्टता, अनैतिक र कमजोर थियो । समाजको कुनै पनि क्षेत्रमा विचार शून्य बराबर थियो, बिचार हीन र नैतिक व्यवहारिकताहीन समाज थियो । सामाजिक संरचना लथालिङ्ग थियो, विभाजित थियो, विखण्डित थियो । हरेक क्षेत्रको विचार, व्यवहार र उद्देश्य सबै क्षतविक्षत थियो । बुद्धिजीवी भनिनेहरूको सङ्ख्या एकदमै न्यून थियो, भएकाहरू घमन्डी थिए । एक अर्काको खुट्टा तान्दैमा समय गुजार्थे । आफ्नो निर्माण र विकास भन्दा पनि अर्काको विनाशमा लागेका थिए । सामाजिक स्वार्थ भन्दा व्यक्तिगत स्वार्थमा जोड दिन्थे ।

यी तथ्यहरुले के सत्य निर्धारण गर्छ भने १९औ शताब्दीको रुसी राष्ट्र/समाजको राष्ट्रिय र संस्कृति मनोविज्ञान विखण्डित अनि कमजोर थियो । फलस्वरूप उनीहरूको राष्ट्रियता नै भद्रगोल थियो नतिजामा विदेशी हस्तक्षेप र आक्रमणको सिकार भयो । नेपोलियनले मस्कोलाई ध्वस्त  पार्‍यो भने रुसी फौज फ्रान्ससँग युद्ध गर्न सकेन । राष्ट्र पतनको कारण रुसी समाज र नागरिकमा पलाएको संस्कृति आधारको पतन थियो । जब संस्कृति हेजोमोनाइज्ड हुन्छ तब समाजले अनैतिकता, अपराध र अराजकता जन्माएर मुलुकलाई उदासीनता र अनिश्चित भविष्यको भुमरीमा रुमल्याउछ ।

हाम्रो नेपालको वर्तमान राष्ट्रिय र सामाजिक यथार्त नि यस्तै छैन र ?
तत्कालीन नेपाली समाज पनि पश्चिमा संस्कृतिबाट पूर्ण रूपले प्रभावित भएको देखिन्छ । समाज पश्चिमा लवाइखवाई, रहनसहन, रीतिरिवाज, भेसभुसा र बिचारबाट हेजोमोनाइज्ड भएको देखिन्छ । जसले अङ्ग्रेजी बोल्न सक्छ उसलाई बौद्धिक भनिन्छ । जसले पश्चिमा भेष पहिरिन्छ उसलाई परिवर्तनवादी भनिन्छ । जसले पश्चिमा दर्शनहरूलाई अनुसरण गर्छ उसलाई दार्शनिक भनिन्छ । जसले पश्चिमा लवाइखवाई र रहनसहनलाई दैनिकी कार्य तालिका अनुसार व्यवहारमा देखाउँछ उसलाई आधुनिकतावादी भनिन्छ । इच्छा र आवश्यकतामा भिन्नता हुन्छ नै, खोज्न आवश्यक हुँदैन तर खोजिरहेका छौँ । विदेश घुम्नु, ठुलो देखिनु इच्छा हो आवश्यकता स्वदेशको यात्रा हो । आफ्नो भूगोल र जीवनको अध्ययन गर्नु हैन र ?

हाम्रो सामाजिक संस्कृतिले सबैलाई सम्मान गर्ने, सबैलाई एकीकृत गर्ने इतिहास बोकेको छ तर वर्तमान नेपाली समाजलाई बुझ्न थोरै समय सामाजिक सञ्जाललाई दियौँ भने नेपालको इन्द्रेणी समाज कसरी एकता, मौलिकता, राष्ट्रियता र सम्मानताका रङ्गहरू गुमाएर मुर्झाएको छ भनी प्रस्ट देख्न सकिन्छ ।

हामी पनि खेतबारीमा काम गर्ने, परिश्रम गर्ने किसानहरूलाई सम्मान गर्दैनौ । किसानी गर्नुलाई श्रम मध्ये मै न्यून श्रेणीमा राख्छौ । कतै केही गर्न सकिएन भने अन्त्यमा किसान बन्छ भनेर कृषि कर्मलाई तुच्छ पेसाको दर्जा दिन्छौ । हाम्रा किसान पनि एक लिटर दूध बेची एक बोतल पुन्टे कोक पिउन रुचाउँछन् । मौलिक सामग्रीको प्रयोग गर्नुलाई गरिबी पाखेपना झल्काउनु हो भन्छौ । सकी नसकी सबैलाई चरम महँगा विदेशी सामग्रीहरू उपभोग गर्नु पर्छ ।  विकास सहर केन्द्रित छ । सहर र गाउँ बिचका हरेक क्षेत्रमा असमानताले शिर चुलेको छ ।

हाम्रो शिक्षा विखण्डित छ त्यसैले मानसिक श्रम गर्ने ले शारीरिक श्रम गर्नुहुँदैन भन्ने बनावटी विचारबाट ग्रसित छौँ । जे पाइन्छ त्यही पढ्छौ जे चाहिन्छ त्यो पढ्दैनौ । पश्चिमा ज्ञान गुण, बौद्धिकता र क्रान्तिका मोटामोटी किताब अध्ययन गर्छौ तर आफ्नै राष्ट्रको इतिहास पढ्दा हामीलाई अल्छी लाग्छ । देशमा रोजगार नपाइने र केही गर्न पनि नसक्ने निराशावादी सोचले नेपाली युवा जमात ग्रसित छ, प्रथम विकल्प विदेश पलायन हुनुपर्ने अवस्था छ । विदेश नजानेहरू सहरमा बस्छौ । गाउँघर मा वृद्ध आमाबुवाहरू मात्र हुनुहुन्छ, बिरामी भए अस्पतालसम्म पु-याउने मान्छे छैनन् । गाउँघरका डाडाकाडाहरु हरिया छन्, विभिन्न दुर्लभ जडीबुटी र वनस्पतिहरू पाइन्छन् तर विकासको नाममा जथाभाबी डोजर चलाई हेर्नै नसक्ने गरी कुरूप बनाइएको छ । त्यस्ता बाटा घाटाहरु धेरै मात्रामा प्रयोगमै आउँदैनन्, भौगोलिक अध्ययन बिना गरिएका विकासले विनाश निम्त्याई रहेको छ । 

हाम्रो समाज विभिन्न आधारमा खण्ड खण्डमा विभाजित छ । खण्डीकरणमा पनि रिस, राग र उत्तेजना पाइन्छ, त्यसैले जुनसुकै घडीमा अराजकताले समाजमा प्रभुत्व जमाउन सक्छ । हाम्रा नेताहरू विदेशीका गुलामी छन् । विभिन्न व्यक्तिगत स्वार्थमा लुप्त आचरण अङ्गालेका यी देशलाई सौदाबाजीको सामाग्री बनाउन पछि पर्दैनन् । हामीहरू अन्यमा परिवर्तन खोज्छौ तर आफूमा परिवर्तनको आवश्यकता देख्दैनौ । विदेश गएका साथीभाइहरू देशमा फर्की केही गर्नुपर्छ भन्ने सोच्दैनन् । उनीहरू विदेश देख्छन् र बुझ्छन् तर देश फर्किएर बाटोमा फोहोर फाल्दै हिँड्छन्, सार्वजनिक ठाउँमा चुरोट उडाउँदै बस्छन्, बाटोमा साधन ठोक्काउँदै हुत्तिन्छन् । विदेश बसुन्जेल भ्रष्टाचार विरोधी अभिव्यक्ति देखाउँछन् तर नेपाल फर्किदा आफूले ल्याएको सामानको कर छल्न खोज्छन् । भन्सारमा मोलतोल मिलाउन दौडधुप गर्छन् । उनीहरू चाहन्छन् कि कर अरूले तिरुन्, भ्रष्टाचार अरूले नगरुन्, बाटो अरूले सफा गरुन्, कानुन अरूले  पालना गरुन्, तर आफू यी सबैबाट अनुकूल फाइदा उठाउन पाउनुपर्ने स्वार्थ पालेका छन् । 

आफूलाई बुद्धि भएको मान्ने बुद्धिजीवीहरू एकर्काका खुट्टा तानी रहेका छन् । विभिन्न गुट बनाई रातभरि नसुतेर इन्द्र जाल रची कसलाई कोसँग, कहाँ र कसरी जुधाउने, लडाउने भनी षड्यन्त्रको प्रपञ्च गर्छन् । यी बुद्धिजीवीहरूको अगाडी शकुनी कूटनीति र राजनीति नि फिक्का लाग्छ मलाई । मैले यस्ता शकुनी चाल चल्ने बुद्धिजीवीहरू हाम्रै गाउँ समाजमा देखेको छु, मेरा दाइले भोगेका छन् । आफ्नो विकासको भन्दा बढी चासो अर्काको विनाशमा हुन्छ यी बुद्धिजीवीहरूको । यस्तालाई बौद्धिक भन्नु र ?
यही हैन र वर्तमान नेपाली समाजको यथार्थता ?

(रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाण्डौ बसीरहेका लेखक काठमाडौँ स्कुल अफ ल मा तेस्रो बर्षमा अध्ययनरत छन् ।)
 

Back to top