×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको प्रमुख राजेशमान सिंहसहितका जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनबाट निर्वाचित वीरगञ्ज महानगरका जनप्रतिनिधिले गत वर्षको जेठ १२ गते शपथग्रहण गरेका थिए । यो एक वर्षको अवधिमा महानगरवासीमा विकास र समृद्धिको आशा जगाउँदै सुधारका केही राम्रा काम थालनी गरेर सकारात्मक परिवर्तनको सन्देश दिन सफल भएको जनप्रतिनिधिको दाबी छ ।  एक वर्षअघि जिम्मेवारी लिएको यस नेतृत्वले पिठिया कर खारेज गरी सम्पत्ति करको दर तथा केही सेवाको महसुल, शुल्क र करको दर घटाएर निर्वाचनअघि जनतासँग गरेको वाचा पूरा गर्ने प्रयास गरेको नगरप्रमुख सिंहले बताए ।   

सेवा प्रवाहमा सुधार

यो एक वर्षको अवधिमा वीरगञ्ज महानगरले सेवा प्रवाहमा निकै सुधार गरेको छ । सेवाग्राहीको बढी भिड हुने कक्षमा एसी जडान, खानेपानी र बस्ने बेन्च अनि सहजताका लागि डिजिटल टोकन प्रणालीसमेत लागू गरेको छ । कार्यालयको प्रत्येक शाखाका गतिविधि सिसिटिभीबाट नगर प्रमुखले सोझै निगरानी गर्न सक्ने व्यवस्था गरिएको छ । प्रत्येक वडामा एक वडा सचिव, कम्प्युटर अपरेटर व्यवस्था गर्दै महानगरपालिकाले एकीकृत सम्पत्ति कर र भूमिकर वडाबाटै तिर्न मिल्ने व्यवस्था गरिसकेको छ । महानगरका जुनसुकै कर अनलाइनबाटै तिर्न सकिने सिस्टम लागु गर्ने कार्य अन्तिम चरण रहेको प्रेस सल्लाहकार महेश दासले बताए । 

विपन्नलाई सुविधा

वीरगञ्ज महानगरले विपन्न वर्गका लागि विशेष सुविधा ल्याएको छ । ३० युनिटसम्म विद्युत् खपत गर्ने महानगरपालिका भित्रका तीन हजार ७६२ घरपरिवारको माघको र पाँच हजार ३११ घरपरिवारको फागुनको विद्युत् महसुल भुक्तानी गरेको छ । 

त्यस्तै माघ महिनामा २५ किसान र फागुनमा ३९ किसानको कृषि मिटरको सम्पूर्ण विद्युत् महसुल आफैँ भुक्तानी महानगरले गरिदिएको छ । किसानकै लागि कृषि सामग्री कम्पनीले वीरगञ्ज महानगरका लागि दुई हजार ७७१ बोरा मात्रै कोटा छुट्याइएकोमा थप १४ हजार बोरा व्यवस्थापन गर्न लगाई वडा कार्यालयमार्फत वितरण गरेको छ । महानगरले उन्नत बिउबिजनमा ५० प्रतिशत अनुदान दिँदै ९० टन गहुँको बिउ वितरण गरेको छ ।    

फोहोर व्यवस्थापन तथा पर्यावरण संरक्षण 

समयमा फोहोर नउठ्ने, सडक गल्ली तथा घरबाट फोहोर सङ्कलन नहुने समस्या करिब करिब समाधान भएको वीरगञ्जवासी बताउँछन् । फोहोर व्यवस्थापन अझ प्रभावकारी बनाउन सफा नेपाल एप प्रयोगमा ल्याई सरसफाइको गुनासो मोबाइल, ल्यापटपबाट सोझै दिन गक्ने व्यवस्थासमेत गरेको छ । हरियाली सहर बनाउनका लागि बाइपास, घण्टाघर, मितेरी पुल प्रवेशद्वार, ड्राइपोर्टलगायतका स्थानमा करिब पाँच हजार बोटबिरुवा रोपिएको छ भने घण्टाघरदेखि पावरहाउससम्मका सडकबिचको डिभाइडरमा तीन तह हुने गरी वृक्ष तथा फूल रोप्ने कार्य गरिरहेको छ ।  

ट्राफिक व्यवस्थापन

जनशक्ति थप गरी फुटपाथ अवरोध गर्ने, छाडा चौपाया नियन्त्रण लिने काम भएको छ । महानगरले ट्राफिक व्यवस्थापनमा उल्लेख्य सुधार गरेको छ । हजारी मल धर्मशालाको जग्गा खाली गरी त्यस क्षेत्रलाई पार्किङ स्थल बनाएर घण्टाघर टाँगा स्ट्यान्डदेखि मिनाबजार हुँदै गहवामाई मन्दिरसम्म पुग्ने बाटो खुला गरिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि

सार्वजनिक शिक्षा सुधारमा पनि महानगरले चासो दिएको छ । जीर्ण रहेको विद्यालयको सुधार, शिक्षकको व्यवस्थापन र गुणस्तरीय पठनपाठनका लागि नियमित अनुगमन गरी व्यवस्थित बनाउन महानगर सक्रिय रहेको छ । शिक्षक कर्मचारीको कार्यदक्षता बढाउने, प्रभावकारी कार्यसम्पादन गर्ने, नागरिक सचेतनाका लागि गतिविधि सञ्चालन गर्ने कामलाई प्राथमिकतामा राखिएको नगर प्रमुखका स्वकीय सचिव सत्यराज घिमिरेले बताए । महानगरपालिका भित्रका चार सामुदायिक विद्यालयलाई यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । गरिब, विपन्न तथा फरक क्षमता भएका व्यक्ति पनि सरकारी सेवामा जाऊन् भनी महानगरले लोक सेवा, शिक्षक सेवा र सेना एवं प्रहरी सेवालगायतको विभिन्न समयमा निःशुल्क तयारी कक्षा सञ्चालन गरेको छ । महानगरको वडा नं. १७ देखि ३२ सम्म मेयर घरदैलो कार्यक्रम सञ्चालन गरी करिब १० हजारभन्दा बढीलाई निःशुल्क परामर्श सेवा, प्याथोलोजी र औषधि सेवा प्रदान गरेको छ । स्वास्थ्य चौकीबाटै विशेषज्ञ सेवा प्रदान गर्न मेडिकल अधिकृत, नर्स, अनमी कर्मचारी राख्ने उद्देश्यले महानगरले पदपूर्तिसम्बन्धी सूचना प्रकाशन गरेको जनसम्पर्क सल्लाहकार नवराज फुयालले जानकारी दिए ।   

पूर्वाधार विकास 

महानगरपालिका शपथ लिएकै दिनबाट घण्टाघर क्षेत्रको वर्षौंदेखि जीर्ण भएको सडक कालोपत्रे गर्ने काम सुरु गरिएको थियो । यो सम्पन्न भइसकेको छ । एक वर्ष कार्यकालमा महानगरभित्रका सडक ५६० मिटर कालोपत्रे र नौ हजार ३४७ मिटर ढलान र सात हजार ५५८ मिटर सडक ग्राभेल गर्ने कार्य सम्पन्न भएको छ । महानगरसँग जोडिएका साबिकको नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित तथा योजनाबद्ध विकासका लागि मेट्रोपोलिटन ट्रान्सपोर्टेसन मास्टर प्लान (एमटिएमपी) निर्माणको प्रकियामा रहेको जनाएको छ ।  

युवा पलायन रोक्न प्रयासरत छौँ  

– महानगर प्रमुखको पदभार ग्रहण गर्नुभएको एक वर्ष पूरा भएको छ। कस्तो अनुभूति गरिरहनुभएको छ ? 

खासगरी मैले जुन काम गरिरहेको छु, त्यसको सुरुवातको यो थालनी मात्र हो । यो कामबाट पूर्ण रूपमा म सन्तुष्ट छैन । जुन सेवा वीरगञ्जवासीलाई दिनुपर्ने हो त्यो मैले पूर्ण रूपले अहिले दिन सकिरहेको छैन । हामीले यो वर्षदेखि वीरगञ्जवासी समक्ष कसरी सहज रूपमा सबै तहमा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउन सकिन्छ भन्ने कार्यमा अगाडि बढिरहेका छौँ । सरसफाइप्रति म पनि सन्तुष्ट छैन । वीरगञ्ज महानगरको मेनरोड चिटिक्क सफा भयो भन्दैमा पूर्ण रूपमा वीरगञ्ज सफा हुँदैन । शाखा रोडहरू पनि पूर्ण रूपमा चिटिक्क सफा हुनुपर्‍यो । त्यसका लागि लागिपरेका छौँ । आउँदो आर्थिक वर्षमा सरसफाइको काममा पूर्ण रूपले सफल हुन्छौँ ।

यसका अलावा वातावरणीय सुधार, ट्राफिक व्यवस्थापन र पार्किङस्थलको व्यवस्था, डुबान नियन्त्रणका लागि नाला सफाइ तथा व्यवस्थापन गर्नेजस्ता काम प्राथमिकतामा छन् । सञ्चालनमा रहेको उज्यालो वीरगञ्ज अभियानलाई अझ सशक्त बनाएर सहरका सडक उज्यालो बनाइएका छन् ।  बिग्रिएका बत्ति मर्मत, सडकका पोलमा लत्रिएका तारको व्यवस्थापन भइरहेको छ । आवश्यक कर्मचारी भर्ना गरेर प्रशासनिक काम चुस्त दुरुस्त पारेर छोटै समयमा आन्तरिक प्रशासनमा धेरै सुधार गरिसकेका छौँ । 

– यो एक वर्षे कार्यकाल कतिको सफल भयो ? 

सफल भएको भन्ने कुरा त वीरगञ्जवासीले मूल्याङ्कन गर्ने विषय हो । वीरगञ्जलाई धार्मिक पर्यटन हब बनाउने कार्य सुरुवात गरेका छौँ । मितेरी पुलदेखि परवानीपुरसम्म सौन्दर्यीकरणको काम अघि बढाएका छौँ । १७ देखि ३२ नम्बर वडालाई एक अर्कासँग सडक सञ्जालमा जोड्ने कार्य सुरु भइसकेको छ, त्यसका लागि टेन्डर निकालिएको छ । सम्झौताको काम बाँकी छ । स्वास्थ्य सेवा दुरुस्त बनाउन नारायणी अस्पतालसँग हातेमालो गरेर अस्पतालको बेथिति नियन्त्रण प्रयास भइरहेको छ । केही काम थालेका छौँ । यी कामलाई नियमित अनुगमन गर्ने, फलोअप गर्ने र व्यवस्थित गर्दै लैजाने छौँ । 

–काम गर्नेक्रममा तपाइँले देख्नुभएका चुनौतीहरू के के हुन् ?

काम गर्दा चुनौती आइहाल्छ नि । चुनौती सबै काममा हुन्छ । चुनौतीदेखि भाग्नुभएन । चुनौती हुन्छ भन्ने थाहा पाएरै यहाँ आएको हो नि ? कुनै अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन चुनौती त हुन्छ नै । चुनौतीको सामना गरी अघि बढ्छु, गर्छु । 

– अबको कार्यकालमा के के गर्ने, कस्ता कस्ता योजना बनाउनुभएको छ ? 

वीरगञ्जका युवालाई कसरी रोजगारी सिर्जना गर्ने ? वीरगञ्जलाई आर्थिक नगरी भनिन्छ तर वीरगञ्जका युवा रोजगारी नपाएर विदेश पलायन भएका छन् । त्यो रोक्ने मेरो पहिलो प्राथमिकता हुने छ । जति पनि कारखाना छन् जसमा विदेशी (भारतीय) कामदारहरू कार्यरत छन् उनीहरूको स्थानमा स्थानीय युवालाई पदस्थापना गर्नेतर्फ अगाडि बढ्ने छु । उद्योग कलकारखानामा कस्ता जनशक्ति चाहिन्छ जानकारी दिनूस् त्यस्ता जनशक्ति उत्पादन गरेर दिन्छौँ भनेका छौँ । युवालाई आफैँ कृषि रोजगारीमा, पशुपालनमा अगाडि बढाउन केही ठोस कार्यक्रम ल्याउने योजनामा छौँ । खासगरी जबसम्म वीरगञ्जवासी स्वस्थ रहँदैनन् तबसम्म विकसित वीरगञ्जको परिकल्पना गर्नु व्यर्थ हुन्छ । त्यसैले गाउँगाउँमा हामीले अहिले छ स्वास्थ्य चौकी, दुई बर्थिङ सेन्टरमा एमबिबिएस डाक्टर राखेर सेवा सुरु गरेका छौँ । 

विभिन्न विषय विशेषज्ञ चिकित्सकमार्फत ती ठाउँमा सेवा प्रदान गर्न लागेका छौँ । प्याथोलोजी जाँच, गर्भवती महिलाको भिडियो एक्सरे निःशुल्क र ११८ किसिमका औषधि निःशुल्क वितरण गर्न लागि परेका छौँ । आगामी आर्थिक वर्ष २०८०/८१ मा यो कामको थालनी हुने छ । 

– तपाइँ आउनेबित्तिकै करारका धेरै कर्मचारी हटाउनुभयो आन्तरिक सरुवा धेरै गर्नुभयो तर पुनः आफैँले धेरै कर्मचारी भर्ना गर्नुभएको छ भनिन्छ नि किन ? 

काम नै नगर्ने, विभिन्न स्वार्थले भर्ना गरिएका, अनावश्यक देखिएका करार कर्मचारीको म्याद थप नगरिएको हो । आवश्यक पर्ने जनशक्ति पूरा गर्न पुनः करारमा कर्मचारी भर्ना गरिएको हो । पुरानाभन्दा नयाँबाट धेरै र राम्रा काम लिन सकिन्छ । वर्षौं एउटै फाँटमा बसेका कर्मचारीका कारण महानगरको सेवा सुस्त भएको गुनासो आएपछि आन्तरिक सरुवा गरिएको हो । महानगरपालिकाको सेवा सुधार गर्नकै लागि कर्मचारी सरुवा गर्‍यौँ  । आवश्यक नयाँ कर्मचारी भर्ना गरेर काम कारबाही चुस्त दुरुस्त पारेका हौँ । 

–महानगरको श्वेतपत्रमा अधिक कर्मचारी भर्ना गर्दा अनावश्यक खर्च भएको विषय उठाउनुभएको थियो तर तपाइँले कर्मचारी कटौती गरे जस्तो गरी अझै कर्मचारी थप्नुभयो ? 

सुरुमा कर्मचारी कटौती गर्ने गरेका हौँ तर काम गर्न कर्मचारीको अभाव देखियो विभिन्न योजना, महानगरले दिने सेवा सहज पार्न जनशक्तिको खाँचो परेकाले कर्मचारी नियुक्त गर्नु परेको हो । करारमा नियुक्त गरेका हौँ काम नभए हटाउन पनि सकिन्छ । 

–यो एक वर्षे कार्यकालमा तपाइँलाई भेट्न आउने स्थानीय बासिन्दाको साझा विषय के पाउनुभयो ?

मलाई भेट्न आउने धेरैलाई रोजगारी चाहिएको पाएँ । सयजनामध्ये ९८ जना रोजगारीकै लागि आएको मैले पाएँ । मेयर साहेबलाई जिताइयो रोजगारी दिनुपर्‍यो भन्ने साझा धारणा पाएँ । जनताले अपेक्षा राख्नु स्वभाविकै हो । 

–निर्वाचनअघि गर्नुभएको प्रतिबद्धता कतिको पूरा हुने सम्भावना देख्नुभएको छ ? तपाइँ कति आशावादी हुनुहुन्छ ?

निर्वाचनमा मैले गरेका प्रतिबद्धतामा म कतिको खरो उत्रिएँ, कति सफल भएँ त्यो मैलेभन्दा पनि वीरगञ्जवासीले भन्ने कुरा हो । वीरगञ्जवासीले मूल्याङ्कन गर्ने कुरा हो मैले त जे पनि भनिदिन सक्छु । मेरो कार्यकालको अन्तिम समयसम्म प्रतिबद्धताहरू पूरा गर्न लागिरहन्छु । कति पूरा हुन्छन् त्यो समयले देखाउला । 

–अन्त्यमा वीरगञ्जवासीलाई के भन्न चाहनुहुन्छ ? 

महानगरपालिकाका राम्रा कामलाई सबैले साथ दिनूस् मैले गलत गरेँ भनेँ विरोध गर्नूस् । वीरगञ्जको विकासमा सहभागी हुनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।

गोरखापत्र दैनिकमा यो समाचार दीपक गौतमले लेख्नुभएको छ ।

Back to top