×

फाइल तस्विर ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत परिसरबाट अर्धसैनिक बलका अधिकारीहरूले गिरफ्तार गरेका छन् ।

भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।

आफूमाथि लगाइएका सबै आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले तिनलाई अस्वीकार गर्दै आएका छन् । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेर लगेका थिए।

दर्जनौँ मुद्दा

गत वर्ष उनी सत्ताच्युत भएका थिए । त्यसयता उनले समयअगावै निर्वाचन गरिनुपर्ने भन्दै अभियान चलाउँदै आएका छन् ।

सत्ताबाट बाहिरिएयता इमरान खानविरुद्ध दर्जनौँ मुद्दा चलाइएका छन् । सोमवार मात्रै पाकिस्तानी सेनाले “आधारहीन आरोपहरू” नलगाउन चेतावनी दिएको थियो ।

“आफ्नो हत्या गर्ने षड्यन्त्र” भइरहेको भन्दै खानले एक वरिष्ठ सैनिक अधिकारीमाथि “आधारहीन आरोप” लगाएको भन्दै सेनाले उनलाई चेतावनी दिएको थियो।

सरकारमाथि आरोप

इमरान खानले विगतका असफल प्रयासपछि पनि सरकार आफूलाई जेलमा राख्न दृढ रहेको र पाकिस्तानमा "जङ्गली राज" आरोप लगाउँदै आएका थिए ।

“म आफ्नो रात हिरासतमा बिताउन गइरहेको कुराका लागि मानसिक रूपमा तयार छु,” गत मार्च महिनामा उनले भनेका थिए, “कति रात भन्ने थाहा छैन तर म त्यसका लागि तयार छु ।”

उनले अधिकारीहरूले आफूलाई पक्राउ गरेर आफ्नो दललाई आउँदो निर्वाचनमा सहभागी हुन रोक्न चाहिरहेको दाबी गरेका छन् । “म जेलमा भए वा नभए पनि उनीहरूले मेरो दललाई जित्न रोक्न सक्ने छैनन् ।”

मार्चमा पाकिस्तानका एक वरिष्ठ अधिकारीले खानलाई पक्राउ गर्ने प्रयास सुरक्षा फौजले स्थगित गरेको बताएका थिए । लाहोरमा क्रिकेट प्रतियोगितामा बाधा नपुगोस् भनेर त्यसो गरिएको उनको भनाइ थियो ।

अदालतले खानलाई पक्राउ गर्न आदेश दिएपछि सुरक्षा फौजले उनलाई गिरफ्तार गर्न खोजिरहेको थियो । खानका समर्थक र सुरक्षा फौजबीच उनको निवासनजिकै झडपहरू पनि भएका थिए ।

पदमा रहँदा राज्यका उपहारहरू बेचेको आरोप खानमाथि छ। तर उनले त्यस्तो आरोप र मुद्दा राजनीतिक मनसायले प्रेरित रहेको दाबी गर्दै आएका छन् ।

Back to top