×

स्थानीय चुनावको परिणामपछि मैले एउटा आलेख लेख्दै अहिलेका नगर प्रमुखलाई बधाई दिंदै लेखेको थिएँ र आज फेरि केही सम्पादन गरी यो आलेख प्रस्तुत गर्दैछु । तल उल्लिखित वाक्यहरूलाई यहाँले कहासम्म पूरा गर्नुभयो ? चेकलिस्ट त पक्कै तयार गर्नुभएको होला । तपाईँ पदमा बसुन्जेल अब कुनै दलको रहनुभएन । यो नगरलाई अग्रगतिमा डोर्‍याउने एक संवाहक मात्र हो । तपाईँ सबैका अभिभावक बन्ने कोशिश गर्नुहोला । आसेपासे र अध्ययनविहीन जमातबाट आफूलाई पक्कै पनि टाढै राख्नुभएको होला । यो आलेखलाई एकपटक फेरी पढनु होला र मनन गर्नु होला । २–४ वटा काम गरेर दङ्ग नपर्नुहोला । आफ्ना टिममा पक्कै पनि विषय विज्ञ नियुक्त गर्नुभएकै होला । अथाह अवसर छ गर्नको लागि ।

लगभग एक वर्ष (वैशाख ३० गते एक वर्ष पुग्छ) आफ्नो कार्यकाल बिताइसक्नुभएको छ । केही हुन्छ भन्ने विश्वास पक्कै दिलाउनुभएको छ । वाहवाही प्राप्त गर्ने नाममा कहीं उन्मादतिर ढल्किरहेको त छैन भनी आफैंलाई प्रश्न गर्न, आत्म मूल्याङ्कन, आत्म–विष्लेषण र आत्मालोचना गर्न नबिर्सनुहोला । लोकतन्त्रको सबैभन्दा ठूलो विशेषतामध्ये यी विशेषता पनि पर्दछन् । तपाईँको सर्वाङ्गीण विकास र समृद्धिको कदमको सबैले मुक्तकण्ठले प्रशंसा गरिरहेकै छन् ।

मैले एक हफ्ता अगाडि यसै स्तम्भमा यहाँले गरेको कामको फेहरिस्त प्रस्तुत गरेको थिएँ ।

आज केही रचनात्मक र अनुसन्धानजन्य तथ्यहरू प्रस्तुत गर्ने धृष्टता गर्दैछु–

स्थानीय  विकासमा मेयरको भूमिका एउटा बैंकको सिइओजस्तो हुन्छ । मेयर सामान्यतया स्थानीय सरकारको राजनीतिक र प्रशासनिक  प्रमुख हुन्छ, त्यसैले उनीहरूले के गर्छन् र सोच्छन् यसले सरकारी नीति र अभ्यासमा प्रभाव पर्छ । गरीबी न्यूनीकरणका लागि मेयरको भूमिका ज्यादै  महत्वपूर्ण हुन्छ । न्यून आय भएका समूहको जीवनस्तर उकास्न मेयरले दिन रात काम गर्नुपर्ने हुन्छ । मेयर सहज, साधारण र जनताको घरदैलोमा सदैव उपस्थित भई शहरको सर्वाङ्गीण विकासका लागि दत्तचित्त भएर लाग्न सक्नुपर्छ । नागरिकको कुरा सुन्ने धैर्य र सहनशीलता नगरप्रमुखमा हुनैपर्छ चित्त नबुझ्ने कुरामा हप्कीदप्की उचित होइन । मेयरलाई सबैको समस्या समाधान गर्न सक्ने मसिहाको रूपमा नागरिकले लिने गर्छन् । 

मेयरहरू स्थानीय  सेवा, सार्वजनिक हितमा नागरिकको सहभागिताको प्रत्याभूतिकर्ता (ग्यारन्टर)  हुन् । उनीहरू स्थानीय जनताका आशा र भरोसाका विम्ब हुन र हुनु पनि पर्छ । के हामीले त्यस्तो मेयर प्राप्त गरेका छौं ? शहरको सुशासन र समृद्धिको लागि मेयरले एउटा मियोको दायित्व निर्वाह गर्न सक्नुपर्छ । चुनावको समयमा प्रतिस्पर्धी हुन्छन् तर चुनावपछि सबैको लागि मेयर हुन सक्नुपर्छ । कसैप्रति आग्रह र पूर्वाग्रह नराखी शहरको प्रगतिको लागि सबैलाई मिलाएर अगाडि बढ्न सक्ने हुनुपर्छ । हिजो विरोधी भएर चुनाव लडेका साथीहरूलाई अँगालेर अघि बढ्न सक्ने हुनुपर्छ । त्यस्तालाई नै लोकतान्त्रिक नेता भनिन्छ ।

सफलतामा मात्तिने र गाह्रो पर्दा आत्तिने स्वभाव उचित होइन । सत्य र तथ्यको अनुसन्धान गरी विज्ञहरूको सल्लाह अनुसार मात्र गर्दा त्यसको दीर्घकालीन सकारात्मक परिणाम प्राप्त हुन्छ । मुख्य कुरा के हो भने मेयर पद कुनै दल विशेषको होइन । जनप्रतिनिधि भनेको जनताको सेवक हो जनताको साहु अवश्य होइन ।

स्थानीय सरकार आफ्नो नागरिकको दैनिक जीवनसँग सम्बन्धित हुन्छ ।

जीवनको गुणस्तरमा प्रत्यक्षरूपमा प्रभाव पार्ने पूर्वाधार र सेवाहरूको व्यवस्थापन गर्नु स्थानीय सरकारको मुख्य जिम्मेवारी र कर्तव्यभित्र पर्छ ।  सामान्यतया मेयरहरू शहरको वर्तमान र भविष्यको विकासको स्वरूपमा यसको सफलताको लागि कसरी नयाँ लगानी आकर्षित गर्न सकिन्छ भनी योजनाहरू बनाउन तल्लीन हुनुपर्छ । पूँजीविना समृद्धि हुनै सक्दैन । जनताको ढाड भाँचिनेगरी कर लाद्ने र त्यसै करको पैसाले पजेरो संस्कृतिलाई बढावा दिएर विकास र प्रगति किमार्थ हुन सक्दैन ।

मेयरले शहरलाई गति प्रदान गर्न विज्ञहरूको सल्लाह र सुझाव लिई अगाडि बढनु हितकर हुन्छ । हाम्रोमा कुरा ठूल्ठूला गर्ने तर खोज–अनुसन्धान गर्ने संस्कतिको अभाव छ । विज्ञहरूको टिम नै बनाएर अघि बढ्न सके शहरको प्रगतिको गोरेटो कोर्न ज्यादै सहज हुन्छ ।  शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र व्यवस्थापन, पानी व्यवस्थापन, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, पर्यटन, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, संस्कृति र सम्पदाको  संवद्र्धन र जगेर्ना, कृषि, खेलकूद, खुला ठाउँ र हरियालीको व्यवस्थापन, डिजिटल सरकारको अवधारणाजस्ता कुरामा विज्ञ समूह बनाई काम गर्दा काममा त्रुटिको गुन्जायश रहँदैन । शहरको मुहार फेर्ननयाँ अवधारणा आत्मसात् गर्नु पनि त्यति नै जरूरी छ–जस्तैः होम डेलिभरी सरकार, आइडिया बैंक, भ्रष्टाचार विरोधी ब्युरो, मेट्रो साइबर ब्युरो, कल केन्द्र, स्वास्थ्य बीमा, मानसिक स्वास्थ्य सहायता सेल, सिक्युरिटी सेल आदि ।

संसारका लोकतान्त्रिक देशहरू निजीकरणलाई ठूलो महत्व दिन्छन् र निजी संस्थासँग सहकार्य गरेर समृद्धि प्राप्त गर्छन् । स्थानीय सरकार त्यसको मियो हो । यो कुरा बुझ्नु ज्यादै जरूरी छ । निजी क्षेत्रसँग सहकार्य गरेर पिपिपी मोडेलमा विभिन्न रोजगार सृजना गर्न सकिन्छ  । भएका पूर्वाधारलाई प्रोत्साहन गर्न सक्नुपर्छ । विदेशीहरूको आकर्षण बढाउन धेरै काम गर्न सकिन्छ । यसले विदेशी मुद्राको सञ्चिति हुन्छ । यो पाइलट परियोजना वीरगञ्जबाटै किन शुरू नगर्ने ?

जनतालाई सास्ती हैन सहज वातावरण बनाइदिनुपर्छ । स्थानीय तहमा पर्साका जनतालाई सबैभन्दा बढी दुःख दिने काम कर्मचारीबाट हुने गरेको धेरै गुनासो सञ्चारगृहहरू प्रकाशित भएका छन् । कर्मचारीले जनतालाई परेको गाह्रो–साँघुरो सहज बनाइदिने हो उनीहरूलाई दिक्क पार्ने होइन । 

राजनीतिमा नैतिकताको सन्देशले महत्वपूर्ण स्थान ओगट्छ । स्वच्छ, पारदर्शी र जवाफदेह राजनीतिक नेतृत्वले नै वडा र पालिकाहरूको वस्तुस्थिति अनुरूप विकासमा साझेदारी, प्रभावकारी नीति–निर्माण, चुस्त कार्य सम्पादन गर्न सक्छ । भ्रष्टाचार न्यूनीकरण र वित्तीय सुशासन कायम गर्न र गराउन पनि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ । स्थानीय सरकारहरू सहजै जनताको घरदैलोमा पुग्न सक्ने र जनतालाई सरकारको आभास दिलाउन सक्ने भएकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कार्यान्वयन गरी जनपक्षीय काम सहज सम्पन्न गर्दै राष्ट्र निर्माणमा टेवा पुर्‍याउनु पनि असल जनप्रतिनिधिको दायित्व हो ।

राजनीति पेशा होइन, सामाजिक सेवा हो भन्ने गरिए पनि, नेपालमा अधिकांश नेताले राजनीतिलाई नै मुख्य पेशा बनाएका छन् । यसले उनीहरूको जीविका र आयस्रोत के हो भन्ने प्रश्न उठाएको छ । र उनीहरूका कार्यकर्ताको उद्यमशील जाँगर निष्क्रिय पारिदिएको छ । उनीहरूको रोजगारको प्रत्याभूतिबारे अध्ययन गर्नु र कार्यान्वयन तहसम्म पुर्‍याउनु ठूलो उपलब्धि हो । यसका लागि मेयरले एउटा प्रबुद्धमण्डल (थिंक ट्यांक) गठन गरी काम अघि बढाउनु जरूरी छ । पालिकामा झगडा, गुण्डागर्दी, अशान्ति हुने मुख्य कारण युवाहरू बेरोजगारी हुनु हो । हिन्दीमा भनाइ नै छ–खाली दिमाग शैतानका अड्डा ।

सङ्घीयताको मर्म र स्थानीय सरकारको परिकल्पना नै नीति–निर्माणमा प्रभावकारिता, विकासका लाभहरूमा न्यायोचित पहुँच, सर्वसुलभ सार्वजनिक सेवा, व्यापक जनसहभागिता हो ।

राजनीतिमा शैक्षिक उपाधि, सीप र विद्वताको अहम् भूमिका हुन्छ । शिक्षाले नै उम्मेदवारको दक्षता, उसले बनाउने पालिकाका एजेन्डा र भिजनलाई सार्थकरूपमा प्रतिफलमुखी बनाउन सक्छ । शिक्षित प्रतिनिधिले मात्र नीति–निर्माण, विकास आयोजनाका अनुगमन र मूल्याङ्कन साथै दैनिक कार्यसम्पादनका क्रममा परिपक्व निर्णय गरी कार्यान्वयनमा ल्याउन सक्छ ।

अन्त्यमा, स्थानीय जनताले अत्यधिक मतले तपाईँलाई विजयी बनाएको छ । आफ्ना उपलब्धिहरूको सार्वजनिक लेखा परीक्षण गराउनुहोला । रचनात्मक आलोचनालाई आत्मसात् गर्नुहोला । शहरलाई डिजिटलाइज गर्ने कोशिश गर्नुहोला । क्यानडा, बेल्जियम, स्वीडेन र युरोपेली मुलुकहरूको शहरी विकासको अध्ययन गर्न लाउनुहोला । सडक, नाला, तथा पूर्वाधार विकासको लागि १० वर्षको हैन, ५० वर्ष पछिको परिकल्पना गरेर नीति, नियम बनाउनुहोला । यस्ता नीति–नियम बनाउँदा संरचात्मक परिवर्तन गर्न कुनै कसर नछोड्नुहोला ।

अब आफ्नो नगरलाई उत्कृष्ट बनाउन अहोरात्र काम गरेर देखाउनु छ । यहाँको पाँच वर्षको कार्यकाल प्रशंसनीय, उपलब्धिपूर्ण र नागरिकले वर्षौंसम्म मुक्तकण्ठले वाहवाह गरिरहन पाउने खालको होस् !

जाँदाजाँदै

देशको ७० प्रतिशत राजनीति बर्बाद गर्ने कर्मचारी हुन् भन्ने कुरा अनुसन्धानले देखाएको छ । त्यसैले उनीहरूको काम–कारबाहीको मूल्याङ्कन गर्न केही विज्ञहरूलाई आउटसोर्स गरी बारम्बार छड्के जाँच गर्न नबिर्सनुहोला ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ । प्रकाशित लेख उहाँको आग्रह पश्चात प्रतीक दैनिक प्रतिकाबाट साभार गरिएको छ ।)

Back to top