×

वीरगञ्ज ।  नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो । 

नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ । 

यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो । त्यसको विश्लेषणमा विविधीकरण नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नमुना छनोटका आधारमा २८ जना महिलाको मृत्युदरको घटनालाई आधार मानेर छुट्टै सर्वेक्षण गरी कुल एक लाख महिलामा २३९ मातृ मृत्युदरको अनुपात देखाएको थियो । 

यस्तो अन्योल हटाउन यस पटक भने दोहोरो विधि अपनाइएको थियो । राष्ट्रिय जनगणनाका गणकले घरधुरीमा मातृ मृत्युको घटना पत्ता लगाएपछि स्वास्थ्यकर्मीको अर्को टोली पुगेर समग्र अध्ययन गरेको थियो । त्यस क्रममा गणकबाहेक झन्डै एक हजार स्वास्थ्यकर्मीले मातृ मृत्युदरसँग सम्बन्धित विवरण सङ्कलन गरेका थिए । 

यसका लागि २०७७ मङ्सिर १० देखि २०७८ मङ्सिर ९ सम्मका मातृ मृत्युदरको घटनालाई आधार मानिएको थियो । त्यस अवधिमा भएका कुल ६५३ वटा मातृ मृत्युका घटनामा पनि गर्भावस्थासँग सम्बन्धित मातृ मृत्युका घटना भनेर ६२२ पत्ता लगाइयो । सोही आधारमा ती घरधुरी पत्ता लगाएर मातृ मृत्युदरका विविध विवरण सङ्कलन भएको हो ।

यस विधिबाट मातृ मृत्युदर पत्ता लगाइएको विश्वमा नै पहिलो पटक भएको दाबी गरिएको छ । नेपालको जनगणनाको ११० वर्षको इतिहासमा यसअघि यसरी समन्वयात्मक अध्ययन भएको थिएन । मातृ मृत्युदरका कारक तत्वमा गैरप्रसूतिजन्य जटिलता, प्रसूतिका बेला उच्च रक्तस्राव, उच्च रक्तचापजन्य समस्या, गर्भावस्थासँग सम्बन्धित सङ्क्रमण, आत्महत्या, गर्भपतन, शल्यक्रियाका क्रममा एनेस्थेसिया व्यवस्थापनमा समस्या र अन्य कारण छन् । यी कारक तìवको थप विश्लेषण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा मातृ मृत्युदरको अवस्थाअनुसार सुधारका कार्यक्रम लैजाने योजना मन्त्रालयले छिट्टै बनाउँदै छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले यस पटक स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा समग्र जनगणनासँगै मातृ मृत्युदर अध्ययन गर्न सफल भएको बताए । 

उनले भने, “विगतका जनगणनाले मातृ मृत्युको उच्चदर र सर्वेक्षणले न्यून दर देखाउने गर्थ्यो । अब त्यो अन्योल हटेको छ ।” उनकाअनुसार मातृ मृत्युदरजस्तो संवेदनशील विषयमा देशको तथ्याङ्कगत एकरूपता कायम हुन सकेको छ । 

मातृ मृत्युको स्वरूप जटिल

समग्र तथ्यका आधारमा मातृ मृत्युदर घट्नु खुसीको कुरा भए पनि कारक तत्वले न्यूनीकरण अझै जटिल रहेको देखाएको मन्त्रालयका तर्फबाट अध्ययनको नेतृत्व गर्नुभएका जनसङ्ख्या व्यवस्थापन महाशाखाका उपसचिव कपिलप्रसाद तिमल्सेनाले बताए । उनले भने, “मातृ मृत्युदरका कारण र अन्य अवयव के हुन् भन्ने निक्र्योल यो अध्ययनले दिएकाले भविष्यको गन्तव्य सहज बनाएको छ ।”

बागमतीमा सुधार, लुम्बिनीमा उच्च मातृ मृत्यु भौगोलिक अवस्थितिअनुसार हिमालमा प्रतिएक लाखमा १३३, पहाडमा १५९ र तराईमा १४७ आमाले ज्यान गुमाउने गरेका छन् । प्रादेशिक संरचनाअनुसार मातृ मृत्युदर बागमती प्रदेशमा प्रतिएक लाखमा ९८ र सबैभन्दा बढी लुम्बिनी प्रदेशमा प्रतिएक लाखमा २०७ जना रहेको छ । 

दुर्गम क्षेत्र मानिएको कर्णाली प्रदेशमा १७२, गण्डकीमा १६१, सुदूरपश्चिममा १३० र मधेश प्रदेशमा १४० आमाको मृत्यु अनुपात रहेको छ । सुगम मानिएको कोशी प्रदेशमा नपत्याउँदा रूपमा प्रतिएक लाखमध्ये १५७ मातृ मृत्युदर रहेको छ । 

गर्भवती भएको दिनदेखि शिशु जन्मेको ४२ दिनभित्र कुनै पनि महिलाको मृत्यु हुन्छ भन्ने जटिल कारण अध्ययनमार्फत सामुन्ने आएको छ । तिमल्सेनाका अनुसार कुनै पनि गर्भावस्थाको यात्रामा विचरण गरेका महिलाको मृत्यु हुने तीन खालका ढिलाइ हुन्छन् । जसमा गर्भवतीलाई अप्ठ्यारो भएमा अस्पताल लानुपर्छ भन्ने थाहा नपाएर, स्वास्थ्य कार्यालय टाढा भएर र त्यहाँ पु-याइसकेपछि सेवा दिने चिकित्सक र उपकरण नभएर आमाको मृत्यु हुने गर्छ । अध्ययनले अझै पनि २६ प्रतिशत आमाको मृत्यु घरमै हुने गरेको पत्ता लगाएको छ । स्वास्थ्य संस्थाको टाढापन वा उपलब्धताविहीन अवस्थामा १७ प्रतिशत आमाले स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटोमै ज्यान गुमाउने गरेका छन् ।  

स्वास्थ्य संस्थामा पुगेर सबैभन्दा बढी (५७ प्रतिशत) आमाको मृत्यु हुने गरेको छ। यसो हुनुमा उपकरणको सही प्रयोग र सेवा दिने जनशक्तिलगायतका कारक रहेको पत्ता लागेको छ ।

सबैभन्दा बढी सुत्केरी अवस्थामा ६१ प्रतिशत आमाको मृत्यु हुने गरेको पाइएको छ। त्यस्तै गर्भावस्थामा ३३ र प्रसव अवस्थामा ६ प्रतिशत र पछिल्लो समय कोभिड सङ्क्रमणका कारण १५ प्रतिशत मातृ मृत्युदर छ । गोर्खापत्र दैनिकबाट साभार ।

Back to top