×

वीरगञ्ज, नेपालको पुरानो शहरमध्ये एक शहर हो । यसको स्थापना झन्डै ११८ वर्षअघि भएको हो । तत्कालीन श्री ३ वीर शम्शेर जबराले विसं १९४५ देखि १९५० को बीचमा यस शहरको स्थापना गरेको विश्वास गरिन्छ । वीर शम्शेरकै नाममा यस शहरको नामकरण रहन गएको कुरा इतिहासकारहरू बताउँछन् । वीरगञ्जको स्थापनाभन्दा पहिले पर्सा जिल्लाको सदरमुकाम अलौं हुने गर्थ्यो ।

यो ११८ वर्षको बीचमा श्रीसिया नदीमा धेरै पानी बगिसक्यो । यो शहरलाई शहरको रूपमा विकास गर्नको लागि हामीले विमल श्रीवास्तवको नाम छुटायौं भने त्यो ठूलो अन्याय हुनेछ । २०४६ सालको बहुदलीय प्रजातान्त्रिक आन्दोलन, २०५१ को माओवादी विद्रोह हुँदै २०६२/ ६३ को दोस्रो जनान्दोलन र २०६४/६५ को मधेस आन्दोलनले देशलाई गणतान्त्रिक नेपालमा परिणत गर्‍यो । तथापि देशको व्यवस्था परिवर्तन भए तापनि जनताको अवस्था हिजोभन्दा आज झन् विकराल भएको छ ।

प्रजातन्त्रको पुनस्र्थापनादेखि हालसम्म माधवलाल श्रेष्ठ हुँदै यो नगरले अहिलेसम्म सम्भवतः ६ जना नगरप्रमुख प्राप्त गरिसकेको छ । यसबीचमा विमल श्रीवास्तवले केही राम्रा काम गर्नुभयो र केही कामको थालनी र केही  पूर्वाधारको जग विजयकुमार सरावगीको पालामा भएको पाइएको छ । तथापि सरसफाइ, शहरको सौन्दर्यीकरणको लागि खासै केही भएको थिएन भन्दा पनि हुन्छ ।

हामी वीरगञ्जलाई यसबीचमा एक फोहोरी शहरको रूपमा चिन्ने गर्थ्यौं । जताततै फोहोरका डुङ्गुर, घोडाको लिदी, सडकमा खाल्डाखुल्डी, समस्या नै समस्याको शहर, अस्तव्यस्त पार्किङ, राति सडकको पोलमा कतै बत्ती, त कतै चक्मन्न अँध्यारो, सामाजिक र धार्मिक सद्भाव लथालिङ भएको अवस्था थियो ।

गत स्थानीय चुनावको परिणामले देशैभरि एक किसिमको बेग्लै तरङ्ग ल्यायो । राजधानी जस्तो बहुसङ्ख्यक नेवार जाति भएको ठाउँमा मधेशी समुदायका बालेन्द्र साहको विजय, वीरगञ्जजस्तो एक समय पहाडे समुदायका मानिसहरूको भागाभाग भएको कहालीलाग्दो अवस्था, मधेशी समुदायको बाहुल्य भएको ठाउँमा नेवार समुदायका राजेशमान सिंहको विजय र धरानमा हर्क साम्पाड्ढो उदयले माहोल नै चलायमान र गतिशील हुन पुगेको कुरा कसैबाट लुकेको छैन । यी तीनैजना कर्मयोगीले आआफ्ना क्षेत्रमा गरेका कामलाई विगतका सबै नेतालाई बिर्साइदिएका छन् ।

अब प्रसङ्ग वीरगञ्जको मात्र कोट्याऔं । हिजो खाल्डाखुल्डी देखिने सडकहरू आज चिल्लो सडकमा रूपान्तरण भएका छन् । सडकमा हिलो र धूलो देखिनै छाडेको छ । जताततै आधुनिक बत्ती जडान भएका देख्न सकिन्छ । साँझ परेपछि आदर्शनगरदेखि घण्टाघरसम्म यसो शयर गर्दा झकिझकाउ र झलमल्ल बत्तीहरूले सुन्दर देखिने मनमोहक दृश्य देख्दा सार्है आनन्द आउँदो रहेछ । प्रतिबद्धताका साथ अगाडि बढ्न चाहे एकजना व्यक्तिले कति फरक पर्दो रहेछको यो ज्वलन्त उदाहरण हो ।

जताततै देखिने फोहोरको व्यवस्थापन भइसकेको छ । सडकको अस्तव्यस्त पार्किङलाई व्यवस्थित गरिएको छ । हिजोको लथालिङ्गको वीरगञ्जलाई आज देख्दा स्थानीय नै छक्क परेका छन् । विगतको वीरगञ्जको त्यो कुरूप दृश्यलाई सुधार गरी स्वच्छ, सफा, हराभरा र सुन्दर नगरको रूपमा स्थापित गर्न राजेशमान सिंहको नेतृत्वमा उहाँको टीमले गरेको यो प्रयासले यो नगरको मुहार मात्रै हैन, परिचय नै फेरिएको छ ।

महानगरको नेतृत्व सम्हालेका वर्तमान नगरप्रमुख राजेशमान सिंहको प्रतिबद्धता र दृढतालाई सलाम गर्नैपर्छ । आफूले चुनावअघि गरेका वाचाहरूलाई नै आफूले पूरा गर्दै गरेको कुरा उहाँले विभिन्न अन्तर्वार्तामा स्पष्ट गर्नुभएको छ । प्रशासनिक सुधारमा पनि नगरले फड्को मारेको जताततै अनुभव गर्न सकिन्छ । हिजोका तिनै नगरप्रहरी आज अनुशासित र जिम्मेवार भएको छ । व्यवसायी तथा साहित्यकार गणेश लाठ यसो भन्नुहुन्छ, सरसफाइ सम्बन्धमा निस्सन्देह नै परिवर्तन भएको छ, सफाइ कर्मचारीमा अनुशासन देखिएको छ । पुरानै कर्मचारी छन् तर उनीहरू अनुशासित हुँदै गएका छन् । उहाँ अगाडि भन्नुहुन्छ, अहिलेको नगरप्रमुखको टीम र वडाध्यक्षहरूले मेहनत गर्न थालेको स्पष्टरूपमा देख्न सकिन्छ । जसलाई हामीले मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । अर्थात् अहिलेको वीरगञ्ज र पहिलेको वीरगञ्जमा जमीन–आकाशको फरक देखिन थालिएको छ । पूर्वाधार निर्माण र नगर व्यवस्थापनमा महानगरको कामलाई साधुवाद भन्नैपर्छ ।      

अब म यहाँ क्रमैसँग महानगरले आजका मितिसम्म गरेका कामहरू उल्लेख गर्न चाहन्छु–

– १६ बिघा जग्गा महानगरको नियन्त्रणमा
– सडकपेटी फोहोर गर्नेलाई जरिवाना
– सडकका छाडा कुकुरहरूको बन्ध्याकरणको अभियान
– माईराम पोखरी अतिक्रमणलाई खाली गराउन गरिएको प्रयास
– फोहोर फाल्नेलाई चिनिराखौं अभियान
– ग्रेटर वीरगञ्जको अवधारणालाई साकार पार्ने आह्वान
– शङ्कराचार्यद्वारको स्तरोन्नति
– रासायनिक मलको लागि नगरप्रमुखले लिएको अडान
– नेपाल–भारत मैत्रीपूर्ण विभिन्न खेलहरूमा उहाँको उपस्थिति
– नगरका विभिन्न कार्यक्रमहरूमा नगरप्रमुखको संलग्नता
– आदर्शनगर र माईस्थानको वरिपरि साना सवारी र ठूला सवारीका लागि तीन ठाउँमा पार्किड्ढो व्यवस्थापन
– मठमन्दिरहरूको खोजी कार्य साथै  तिनीहरूको सौन्दर्यीकरणमा गरिएको तदारूकता
– मुख्य सडक विस्तारलाई दृढताको साथ अगाडि बढाउने उहाँको सङ्कल्प  (न्यायालयको निर्णयको पर्खाइमा)
– लामखुट्टे नियन्त्रणका लागि गरिएका प्रयासहरू र उनको नगरप्रमुखमा आगमनले दिगो बन्दै गएको सामाजिक सद्भाव
– नदी फोहोर गर्नेलाई गरिएको जरिवाना
– मितेरीपुलदेखि रजतजयन्ती चोकसम्मको सडकमा देखिएको रूपान्तरण
– सार्वजनिक जग्गा उत्खनन गर्ने टिपर र स्काभेटरलाई महानगरले गरेको नियन्त्रण
– फोहोर सङ्कलनको लागि दिनको दुर्ईपटक टोलटोलमा ट्याक्टरको प्रयोग
– वीरगञ्जका भित्री बाटोहरूमा पनि सरसफाइको अनुगमन र निगरानी हुन थालेको छ । भित्री बाटोमा पनि फोहोर गर्नेलाई जरिवाना गर्न थालिएको छ
– सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूलाई हिंड्न सहज होस् भनी बाटोको शिलान्यास गरिएको अवस्था
– शहीद तेजबहादुर अमात्यको सालिकमा फोहोरा र सौन्दर्यीकरण
– रात्रिकालीन बजारलाई सुरुआत गर्ने अभियान
– राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई महानगरले गरेको भव्य स्वागत
यी यस्ता धेरै कार्य महानगरले गरेको छ, जसलाई हामी सबैले प्रोत्साहन र प्रशंसा गर्नैपर्छ । अरू पनि धेरै काम छन्, जसमा महानगरको ध्यान आगामी दिनमा जाने नै छ भन्ने हामी नगरवासीलाई आशा र भरोसा छ ।

विभिन्न निजी क्षेत्रहरूसँग सहकार्य गरेर यहाँका युवाहरूलाई स्वरोजगारी बनाउनको लागि महानगरले केही नीतिगत र संस्थागत निर्णयहरू गर्नु ज्यादै जरुरी छ । कर्मचारीहरूलाई विभिन्न अभिमुखीकरण तालीमहरू प्रदान गर्नुपर्ने हुन्छ । नागरिकमा आफ्नो शहरलाई माया गर्ने संस्कार बसाउनु सबैभन्दा ठूलो चुनौती छ । तर यसो गर्न, विज्ञहरूको सल्लाहमा, त्यति गाह्रो छैन ।

यहाँका विद्यालय र विश्वविद्यालयका विद्यार्थीहरूलाई अनुसन्धान र विकासमा कसरी आबद्ध गर्न सकिन्छ भनी चिन्तन र मन्थन गर्नु जरुरी छ ।

यस शहरका उद्योगीहरूसँग हातेमालो गरी यहाँका विद्यार्थीहरूलाई कसरी रोजगार दिलाउन सकिन्छ भनी छलफल अगाडि बढाउन सकिन्छ । विवेक र सीपविनाको शिक्षाले जीवनमा केही उपलब्धि दिंदैन ।

अन्त्यमा,

यो स्तम्भकारसँग पनि शहरको विकासका लागि के कसो गर्न सकिन्छ भन्ने चिन्ता छ । कुनै दिन लामो वार्तालाप गर्ने मौका मैले पाएँ भने, नगरप्रमुखलाई अवश्य पनि केही कुरा राख्नेछु । सबै कुरा यो आलेखमा राख्न सकिन्न । जेहोस्, अहिले महानगरको नेतृत्व र उहाँको टीमलाई हामी सबैले साथ, सहयोग र समर्थन गर्नुपर्छ तर केही गरी उहाँ बरालिनुभयो भने हामीले रचनात्मक आलोचना गर्न पनि पछि पर्नुहुन्न र हामी हुनेछैनौं पनि ।

फेरी पनि उहाँको प्रयास र दृढतालाई नमन र साधुवाद छ ।

(लेखक वीरगञ्जस्थित ज्ञानदा एकेडमी स्कूलका प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षाविद् हुनुहुन्छ । प्रकाशित लेख उहाँको आग्रह पश्चात प्रतीक दैनिक प्रतिकाबाट साभार गरिएको छ ।)

Back to top