×

वीरगञ्ज, ७ माघ । मधेशमा कोरोना विरुद्धको म्याद गुज्रेको खोप पठाइएको छ । महोत्तरीको भंगहा नगरपालिकामा शुक्रबार म्याद गुज्रेको कोरोनाविरुद्धको खोप लगाउने प्रयास गरिएको थियो ।

वडा नम्बर ८ सिङ्ग्याहीमा म्याद गुज्रेको फाइजर नामको खोप लगाउन नगरपालिकाको कर्मचारीहरु तयारी गरिरहेका बेला स्थानीयले रोकेका थिए । तर स्थानीयहरुले म्याद गुज्रेको थाहा पाएपछि महोत्तरीको प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएर रोक्न लगाएको जनमत पार्टीका नेता उमेश यादवले बताए ।

उनका अनुसार पालिकाले ११ र ५ वर्षको बालबालिकाको लागि दिने तयारी गरेको सो खोप करिब तीन महिना अघि नै म्याद गुज्रीसकेको छ ।

सन् २०२२ अक्टुबर सम्म मात्रै खोपको समय थियो । नगरपालिका खोप शाखाका कर्मचारी प्रवीण चौधरीले पनि म्याद गुज्रेकै औषधि फेला परेपछि खोप नलगाई फर्किएको स्वीकार गरे । उनले परिवार कल्याण र जिल्ला जनस्वास्थ्य कार्यालयको पत्र अनुसार खोप वितरण लगाउने तयारी गरिएको बताए । ‘खोप लगाउन हामीलाई जिल्लाबाट पत्र आएको छ ।

सोही अनुसार हामी लगाउन गएका थियौं,’उनले भने,‘तर पत्रमा स्पष्ट छैन् ।’ उनले म्यान गुज्रेको खोप किन लगाउन पुगेको जिज्ञासामा जवाफ नदिइ पञ्छिन खोजे र जिल्लालाई दोष देखाए । सप्तरीको बोदेवर्साइन नगरपालिकामा केही दिनअघि म्याद गुज्रेकै खोप लगाउँदा एक जनाको मृत्यु भएको आरोप लागेकोछ । यस्तै, सप्तरीमा पनि बिहीबार म्याद नाघेकै खोप फेला परेको थियो ।

राजविराज नगरपालिका– ८स्थित विद्यालयमा म्याद गुज्रेको खोप लगाउन पुग्दा प्रधानाध्यापकले विरोध गरेका थिए । स्वास्थ्य शाखा संयोजक निरञ्जन यादवले पनि भंगहा नगरपालिकाको कर्मचारी प्रविण चौधरीजस्तै जवाफ दिए ।

भंगहा नगरपालिकाका मेयर संजीवकुमार साह र कार्यपालिका सदस्यहरुबीच देखिएको तिक्तताका कारण सो नगरपालिकाको स्वास्थ्य शाखा लथालिंग बनेको छ ।

मेयर साहले आफ्नो आसेपासेलाई शाखा प्रमुख बनाएको प्रति अधिकांश कार्यपालिका सदस्यहरु असन्तुष्ट रहेपनि मेयर साहले दम्भको बलमा शाखा प्रमुखमा राजु साहलाई शाखाको जिम्मेवारी दिएका छन् । मेयर साह र शाखा प्रमुख साहबीच कुराकानी बढीनै मिल्ने गरेका कारण शाखा प्रमुखको जिम्मेवारी तोकिएको कर्मचारीहरुलेनै गुनासो गरेका छन् ।

मेयर साह दोस्रो पटक निर्वाचित भएर आएपछि बढीनै दम्भ देखाएका र मनपरी ढंगले नगरपालिकालाई चलाउने गरेका कारण यस्ता समस्या देखिन थालेको स्थानीयहरुको गुनासो छ । एक स्थानीयले भने–‘ प्रमुख प्रशासकीय आफ्नै , शाखा प्रमुख आफ्नै भएकाले यस्ता घटना हुने गरेका छन् ।

ठूलो दुर्घटना हुनबाट भंगहा नगरबासी बचे ’उनले भने । म्याद गुज्रेको कोरोना विरुद्धको खोप लगाउँदा दूर्घटना हुन सक्ने एकजना वरिष्ठ स्वास्थ्यकर्मीले जनाए ।‘म्याद गुज्रेको कुनैपनि औषधिको प्रयोग दण्डनीय अपराध हो ’ अवकाश प्राप्त जनस्वास्थ्य विज्ञ विजय झाले भने, औषधिमा उपयोग गर्न निर्धारित म्याद भन्दा बढी हुने बितिक्कै नष्ट गर्नुपर्छ

Back to top