×

अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा मन्त्री बनाउने प्रक्रिया चलिरहेको छ । सरकार बनाउँदा मन्त्रालय बाँडफाँटमा अहिले सम्भवतः सबैभन्दा धेरै छलफल केन्द्रित छ । निर्वाचनलगत्तै बनेको र विभिन्न पृष्ठभूमिका दलहरू मिलेर सरकार बनेकाले यसले जनताका आकांक्षा कत्तिको सम्बोधन गर्छ, हेर्न बाँकी नै छ ।

प्रचण्ड नेतृत्वमा ७ फरक–फरक पृष्ठभूमि भएका दल मिलेर बनेको सरकार भएको र केही नयाँ दलसमेत सामेल भएकाले सबैलाई केही न केही काम गरेर देखाउने हुटहुटी छ । ४ मंसिरको निर्वाचनबाट नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो सरकारको हिस्सा बनेको छ ।

सरकारको तेस्रो ठूलो दल र भर्खरै स्थापना भएको हिसाबले पनि यसलाई पनि केही न केही गरेर देखाउने हुटहुटी छ । मुख्यतः रास्वपाले आफूले पाउने मन्त्रालयमा विज्ञताका आधारमा पठाउने निर्णय गरेको छ । यस्तो अवस्थामा रास्वपा स्वयंलाई पनि कस्तो व्यक्ति सरकारमा मन्त्री बनाउने र मन्त्री बन्दै छ भन्ने कुराले भोलि सफलता र असफलतासँग जोडिने भएकाले यो आलेख कम्तीमा शिक्षा क्षेत्रमा राम्रो काम होस् भन्ने उद्देश्यले लेखिएको हो ।

शिक्षा क्षेत्र किन महत्त्वपूर्ण छ?

अहिले कक्षा १ मा पढ्ने विद्यार्थीको उमेर ६ वर्ष हुन्छ । १ कक्षाको मात्रै विद्यालय शिक्षा सुधार गर्दा त्यसले अहिले मात्र होइन, आजभन्दा ३० देखि ५० वर्षसम्मको भविष्य उज्यालो बनाउँछ । समग्रमा विद्यालय र विश्वविद्यालयसहित शिक्षा क्षेत्र सुधार गरियो भने अहिलेको प्रतिस्पर्धी विश्वमा त्यो नै ठूलो क्रान्ति हो ।

एक जना व्यक्तिले कस्तो शिक्षादीक्षा पायो भन्ने कुराले लगभग एउटा व्यक्तिको बाँकी जीवन कस्तो हुन्छ भन्ने तय हुन्छ । तसर्थ, शिक्षा एउटा महत्त्वपूर्ण क्षेत्र मात्र नभई निकै संवेदनशील क्षेत्र पनि हो । यसमा तपाईंले आज कस्तो नीति अंगाल्नुहुन्छ भन्ने कुराले सबै नतिजा तय गर्छ ।

अहिले हाम्रो शिक्षा क्षेत्र कमजोर छ । विद्यालय शिक्षामा आधारभूत तहदेखि नै विभेद छ। साथै, गुणस्तरीयसमेत छैन । क्याम्पस तहमा पुगेपछि राजनीतिको ओसेपले यसलाई जर्जर बनाएको छ । त्यसमाथि व्यावहारिक तथा प्रतिस्पर्धी शिक्षा नहुँदा केहीले अध्ययनै गर्न नसक्ने र अध्ययन गर्नेका लागि पनि यहाँभन्दा बाहिर नै गएर अध्ययन गर्ने अवस्था बनेको छ, जुन दीर्घकालीन हिसाबले देश हितमा छैन । तसर्थ हाम्रो ‘रिफर्म’को सुरुआत शिक्षा क्षेत्रबाटै गर्न जरुरी छ ।

शिशिर खनाल र टिच फर नेपाल

शिशिर खनालले नेपाल फर्केर टिच फर नेपाल सुरु गरे । तुलनात्मक हिसाबले कमजोर गुणस्तर रहेका ग्रामीण भेगका विद्यालयमा विदेशी विश्वविद्यालय पढेका तथा राम्रो विषयमा स्नातक उत्तीर्ण शिक्षकमार्फत पढाउने उद्देश्यले  उनले सन् २०१२ मा टिच फर नेपाल सुरु गरेका हुन् ।

खनालको पहलकदमीमा सुरु भएको कार्यक्रमले दुर्गम भेगका विद्यार्थीको गणित, विज्ञान, अंग्र्रेजीजस्ता विषयको नतिजामा उल्लेखनीय सुधार ल्याएको छ। सन् २०१२ मा टिच फर नेपालले २०७० देखि ललितपुरको दक्षिणी भेगका १५ वटा विद्यालयमा स्वयंसेवी शिक्षक (फेलो) पठाएर सामुदायिक विद्यालयको स्तर सुधार्ने अभियान थालेको हो ।

करिब ७ जिल्लाका ६० सामुदायिक विद्यालयमा टिच फर नेपालले नेपालका ग्रामीण भेगमा रहेका सरकारी विद्यालयका करिब ५० हजार विद्यार्थीलाई पढाएको छ । टिच फर नेपालमार्फत विश्वविद्यालयबाट स्नातक उत्तीर्ण युवालाई ग्रामीण भेगमा रहेका सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि फेलोसिप दिँदै आएको छ । यसमा छनोट भएका युवाले दुई वर्ष पारिश्रमिकसहित सरकारी विद्यालयमा पढाउँछन् । सामान्य मोबाइल वा कम्प्युटरको प्रयोगबाट सिकाइ पद्धतिमा सुधार ल्याउन सम्भव छ भन्ने कुरा टिच फर नेपालको प्रयोगले देखाएको छ ।

शिशिर खनाललाई किन शिक्षामन्त्री बनाउने?

अहिले कक्षा १ मा पढ्ने विद्यार्थीको उमेर ६ वर्ष हुन्छ । १ कक्षाको मात्रै  विद्यालय शिक्षा सुधार गर्दा त्यसले अहिले मात्र होइन आजभन्दा ३० देखि ५० वर्षसम्मको भविष्य उज्यालो बनाउँछ, समग्रमा विद्यालय र विश्वविद्यालयसहित शिक्षा क्षेत्र सुधार गर्यो भने अहिलेको प्रतिस्पर्धी विश्वमा त्यो नै ठूलो क्रान्ति हो ।

एक जना व्यक्तिले कस्तो शिक्षादीक्षा पायो भन्ने कुराले लगभग एउटा व्यक्तिको बाँकी जीवन कस्तो हुन्छ भन्ने तय हुन्छ ।

शिशिर खनाल करिब १२ वर्षदेखि यस्तै  चिन्ताले रुमलिएर केही काम गरिरहेका मान्छे हुन् । उनले टिच फर नेपालमार्फत साधारण पहलले गरेको कामले कम्तीमा ५० हजार विद्यार्थीको भविष्यमा केही न केही सकारात्मक मोटिभेसन आएको छ । हिजो आफ्नै पहलले केही गरिरहेका शिशिर भर्खरै संसद् चुनिएर आएका छन् ।

अहिले कुन मन्त्रालय कसलाई भन्ने छलफल चलिरहेको छ । कम्तीमा सबै पार्टीले शिक्षा मन्त्रालय रास्वपालाई दिन नहिचकिचाउने हो भने शिशिरले शिक्षा मन्त्रालय सम्हाल्नेछन् ।

उनीसँग विद्यार्थी राजनीति गरेको या कलेज बन्द गरेको अनुभव छैन । तर उनिसँग विद्यालय शिक्षालाई कसरी बनाउने भिजन छ, उनिसँग विश्वविद्यालयमा हड्ताल गरेको अनुभूति छैन तर विश्वविद्यालयबाट निस्किँदा बजारमा कसरी पुग्ने र विद्यार्थीको राम्रो भविष्यका लागि विश्वविद्यालयले कस्ता काम गर्नुपर्छ भन्ने योजना छ ।

यत्तिको संसद्लाई शिक्षा मन्त्रालयको जिम्मा दिँदा सबैभन्दा धेरै शिक्षा क्षेत्रलाई न्याय हुनेछ । सबैभन्दा धेरै विपन्न परिवारका विद्यार्थी, जसले शिक्षादीक्षा आर्जन गर्न संघर्ष गरेका छन्, उनीहरूको भविष्य उज्यालो बनाउँछ ।

Back to top