×

वीरगञ्ज, १ पुष । चोरी पैठारी एवम् तस्करी नियन्त्रणका  लागि पर्सामा प्रहरीले सक्रियता देखाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवैध कारोवार नियन्त्रणका लागि सयुँक्त रुपमा गस्तिलाई तिव्रता दिएका छन् । 

सोही क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भन्सारको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानीघाटका ४ वटा गोदाममा छापा मारेको छ । 

रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहका गोदामबाट २१ लाख १६ हजार ४ सय मूल्य बराबरको चामलसहित अन्य सामाग्री बरामद गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए । 

मल्लका अनुसार ति गोदामहरुबाट २ सय ८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल सामाग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे बरामद गरिएको हो । अबदेखि यो अभियानलाई निरन्तरता दिँदै राजस्व चुहावटलाई नियन्त्रण गर्नेतर्फ प्रहरी सचेत रहेको प्रहरी निरीक्षक मल्लले बताए । 

विर्तामा मल्लले प्रमुखको जिम्मेवारी सम्हालेसँगै धेरै हदसम्म अपराधिक गतिविधिमा पनि कमी आएको छ भने शान्ति सुरक्षाको आभाष पनि भएको वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले बताउँछन् । 

सशस्त्र प्रहरी बल भन्सारका प्रमुख प्रहरी निरीक्षक रविन्द्र भट्टले पनि तस्करी नियन्त्रण र राजस्व चुहावट रोक्नका लागि सक्रिय रहेको बताए । यात्रा डेलीसँग कुराकानी गर्दै उनले सीमा क्षेत्रबाट हुने तस्करीको नियन्त्रणमा कुनै कसर बाँकी नराख्ने बताए । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सयुँक्त रुपमा अप्रेशनलाई निरन्तरता दिई अवैध रुपमा भण्डारण गरिएका सामाग्री नियन्त्रण लिने भट्टको भनाई छ । 

तस्करी बढेको व्यापक गुनासो आएपछि यहाँ स्थित ठूला ठूला गोदामहरुमा छापा मारिएको बताउँदै उनले अवैध कारोवार नगर्न पनि चेतावनी दिएका छन् । पछिल्लो समयमा सलबलाएका तस्करहरुलाई अब ठेगान लगाउने चेतावनी दिँदै उनले राज्यको ढुकुटी रित्याउनेहरुलाई कारवाहीको दायरामा ल्याउने पनि बताए ।

Back to top