×

रौतहट  १९ मंसिर ।  वर्षौ देखि बन्द रहेको गौर-बैरगनिया नाका हुदै टेम्पूको आवागमन शुरु भएको छ । गौर नगरपालिकाको मेयर शम्भु साहको प्रयासले जिल्ला प्रशासन कार्यालय रौतहट र भारतीय बीच सहमति अनुसार भारतीय टेम्पू गौरको ब्यारेक फिल्डसम्म र नेपाली टेम्पू बैरगनियाको रेलवे स्टेशनसम्म जाने सहमति अनुरुप सीमा नाका हुदै टेम्पू सुचारु भएको हो ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनअघि नै सीमावर्ती दुवै बजारबीच अटोरिक्शा निर्बाध सञ्चालनमा ल्याउने प्रक्रिया पूरा भएको थियो तर विभिन्न प्राविधिक कारणले सञ्चालनमा आउन सकेको थिएन ।

गौर र बैरगनिया दुवैतिर अटोरिक्शालाई व्यवस्थित गर्ने सहमति भएपछि आइतवारदेखि सञ्चालनमा ल्याइएको छ । भारतीय अटोरिक्शाहरू गौरको मूल बजार नाघेर जिल्ला प्रहरी कार्यालयनजीकको ब्यारेक फिल्डसम्म आउने तथा नेपाली अटोरिक्शाहरू बैरगनियाको मूल बजार नाघेर रेलवे स्टेशनसम्म जान पाउने सहमति भएको छ ।

गौर नगरपालिकाका प्रमुख शम्भु साहको निरन्तरको प्रयासले दुई सीमावर्ती बजारबीच सीधा सम्पर्क हुन सकेको हो । नगरप्रमुख साह आइतवार पनि बैरगनिया पुगेर केही प्रक्रिया पूरा गरी दुई सीमावर्ती बजारबीच अटोरिक्शा सञ्चालन गराएका हुन् ।

यसअघि नेपाली अटोरिक्शाहरू नेपाली भन्सारसम्म र भारतीय अटोरिक्शाहरू पनि भन्सार कार्यालयसम्म पुग्दा दुवैतिरका यात्रुलाई निकै झमेला हुने गरेको थियो ।

दुई सीमावर्ती बजारबीच अटोरिक्शा सञ्चालनमा आएपछि रिक्शा सञ्चालक तथा यात्रुहरू खुशी भएका छन् । बीचैमा अटोरिक्शा फेरेर करीब पाँच सय मिटर पैदल सामान बोकेर जानुपर्दा यात्रुहरूलाई निकै झमेला भइरहेको थियो । अटोरिक्शा निर्बाध चल्न थालेपछि गौर तथा बैरगनिया दुवै बजारलाई फाइदा हुने विश्वास गरिएको छ ।

Back to top