×

वीरगञ्ज ९ मंसिर । आमनिर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएसँगै सत्ता समीकरणको बारे नेताहरु छलफल थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन वार्ता गरेपछि सत्ता गठबन्धन भत्किन सक्ने संभावना बढेको छ ।

चुनावको परिणाम सार्वजनिक भएको आधारमा सत्ताको साँचो माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हातमा जाने संभावना बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसित गरेको संवादमा बधाई साटासाट भएको प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।

ओलीले विगतमा भएको तिक्ततालाई हटाएर सहकार्य गर्न आग्रहगर्दा प्रचण्डले सबै परिणाम आएपछि मात्र त्यस सम्बन्धमा संवाद गर्ने बताएको सचिवालय स्रोतले जनाएका छन् । ओलीसितको संवाद भएको केही घण्टापछि साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रचण्डसित बधाई साटासाटगर्दै चुनावको सबै परिणाम आएपछि गठबन्धनलाई अझ कसिलो बनाएर जानुपर्ने धारणा राखेको बताइएको छ ।

दुबै नेताबीच गठबन्धनबारे छलफल भएको प्रचण्डका सचिवालयले पुष्टि गरेको छ । तर माओवादीका केन्द्रीय सदस्य समेत रहेका पूर्व मन्त्री रामेश्वर यादवले सत्ता गठबन्धनमा विश्वासको संकट उत्पन्न भएकाले नयाँ सरकार गठनको विषयमा एमालेसित पनि सहकार्य हुन सक्ने बताए । ‘कांग्रेस गठबन्धनप्रति इमान्दार देखिएन्’ उनले भने, कांग्रेसको बेइमानीका कारण गठबन्धनमा रहेर पनि अन्य दलका कयौं नेताहरु पराजित हुनु परेको छ ।

निर्वाचनको सबै परिणाम प्राप्त नभए सम्म गठबन्धन हुने दलहरुबारे टुंगो लाग्न नसक्ने उनले प्रष्ट गरे । ‘परिणामहरु प्राप्त भएपछि दलको हैसियत प्रष्ट हुनेछ’ उनले भने, सरकार गठनमा नयाँ दलहरुको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । संघीय सरकार र प्रदेश सरकार गठनका लागि पनि गठबन्धन अनिवार्य देखिएको छ । कुनै प्रदेशमा दुई मात्र दलले सरकार बनाउने अवस्था छैन् । मधेश प्रदेशमा हाल जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार रहेको छ । जसपाले चुनाव अगावै कांग्रेसलाई सरकारबाट हटाइसकेको छ । चुनावमा जसपा र एमालेबीच गठबन्धन रहेको थियो । प्रदेशको हाल सम्मको मतगणनाको परिणाम अनुसार मधेश प्रदेशमा एमाले र जसपा मिलेर सरकार गठन गर्न सक्ने अवस्था छैन् । सरकार गठनका लागि कम्तीमा ५४ सभासद आवश्यक छ ।

मधेश प्रदेशमा १ सय ७ प्रदेश सभासद रहेका छन् । निर्वाचनको घोषित परिणाम अनुसार जसपाले ९ स्थानमा जित हासिल गरिसकेको छ । १ सिटमा अगाडि रहेको छ । त्यसैगरी एमालेका ६ जना निर्वाचित भइसकेका छन् । ४ स्थानमा अग्रता लिएको छ । समानुपातिक समेत दुबै दलले अधिकतम् ३५ सिट सम्म ल्याउन सक्ने संभावना छ ।

तर सरकार गठनका लागि चाहिने संख्या भन्दा त्यो १९ सिट कम हुनेछ । कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी , जनमत पार्टी र नेकपा एस समेत मिलेर प्रदेशमा सरकार गठन गर्न सक्ने संभावना देखिएको छ । जनमत पार्टी सरकारमा जाने नजाने बारे दलले आधिकारिक धारणा अहिले सार्वजनिक गरिसकेको छैन् ।

संघीय सरकार गठनका लागि निर्माण हुने गठबन्धनकै आधारमा प्रदेशमा समेत सरकार गठन हुने माओवादी नेता यादवले बताए । सत्तारुढ गठबन्धनलाई भत्काउने पक्षमा नेताहरु नरहेको उल्लेखगर्दै उनले भने, हालको गठबन्धनलाई निरन्तरता दिन प्रदेश सरकारको भागबण्डा समेत महत्वपूर्ण हुनेछ । एमालेसितको गठबन्धनको कारण ठूलो क्षति भएको आकलन गरेका जसपाका नेताहरुले प्रदेश सरकार र संघीय सरकारमा जाने विषयमा हतार नभएको बताउन थालेका छन् ।

सरकारमा सहभागिताको विषयमा सबै परिणाम सार्वजनिक भएपछि मात्र छलफल हुने जसपा कार्यकारिणी समितिका सदस्य गजाधर यादवले बताए । कांग्रेस र एमालेबीच सत्ताका लागि गठबन्धन हुन सक्ने संभावनालाई नकार्न सकिने अवस्था रहेको छैन् । देशमा मध्यावधि निर्वाचनलाई टार्न दुई दलबीच सत्ता साझेदारी हुन सक्ने संभावना रहेको छ । तर एमालेसित कांग्रेसले तालमेल नगरे पनि हालकै गठबन्धनसित मिलेर पनि सरकार गठन गर्न सक्नेछ ।

Back to top