×

लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सत्ता गठबन्धनबाट पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उमेदवार लक्ष्मणलाल कर्णले आचार संहित निष्पक्ष रुपमा कार्यान्वयन हुन नसक्नुमा निर्वाचन आयोग जिम्मेवार रहेको बताएका छन् ।

भारतमा कानुनी आयोग मात्रै रहेको भएपनि उसको कार्यसम्पादनमा कसैले प्रश्न उठाउन नसक्ने अवस्था रहेको प्रति संकेत गर्दै कर्णले भने “हामीले संवैधानिक आयोग बनायौ तर उसले ठिक ढंगले काम गर्न नसक्दा चारैतिरबाट प्रश्न उठ्ने गरेको छ ।” आयोगले आचार संहिता कार्यान्वयनमा निगरानी बढाउनु पर्नेमा कर्णकाे जोड छ ।
रेस खवरसँगको कुराकानीमा उनले आयोगले जारीगरेको आचार संहिता विभिन्न राजनीतिक दलका उमेदवार र कार्यकर्ताबाट उल्लंघन भएको बताए ।

आयोगले बाजा बजाउन, व्यानर राख्न रोकेको छ, तर अरु दलका उमेदवारले राखेको देखेपछि हाम्रा समर्थकले समेत म माथि किन नराख्ने भनि बारम्बार दवाव दिन थालेका छन, उनले भने “म त कानुनको विद्यार्थी भएको नाताले पनि आचार संहिता भित्र रहेर काम गर्छु र समर्थकहरुलाई पनि कानुन पालना गरेर प्रचार गर्न भनेको छु ।”

मैले दुईवटै संविधानसभामा काम गरेँ, यसअघि पनि संसदमा संसदीय सुनुवाई समितिको सभापति भएर काम गरेँ, कर्णले भने “यसक्षेत्रमा मैले ३० बर्ष वकालत गरेको छु, अझैपनि मलाई नेताजी भन्दैनन्, वकिलसाब नै भन्छन्, मलाई खुशी लाग्छ, मेरो पेशाले मलाई पहिचान दिएकोमा ।”

संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदको भूमिकाको वारेमा जनताहरु अझै सचेत हुन नसकेकोमा कर्णकाे दुखेसो छ । “सांसदको काम कानुन र नीति निर्माण गर्ने हो, मैले १५ बर्ष कानुन निर्माणमा काम गरेको छु तर जनताले तैले कतिवटा, कस्ता खालका कानुन् बनाएको छस् भनेर सोधनी हुदैन ।” उनले भने घरदैलोमा जादा बाटो, नाला, खानेपानीको समस्या मात्र जनताले उठाउने गरेका छन ।

हाम्रो संविधानले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता लगायतका स्थानीय विकासको सबै अधिकार स्थानीय तहलाई दिएको छ, कर्णले भने, “हाम्रो भूमिका भनेको नीति निर्माण र बनेको नीति कार्यान्वयनको लागि संघ सरकारलाई घच्घच्याउने मात्र हो ।” सांसदको जिम्मेवारी के हो भन्ने कुरा जनतालाई बुझाउन जरुरी रहेको कणर्को भनाई छ ।

यसअघि पर्साको क्षेत्र नं. ४ बाट निर्वाचित भएर जादाँ त्यस क्षेत्रमा करिव एक अर्बको बजेट पार्न सफल भएको र वीरगञ्जमा उच्च अदालतको अस्थायी इजलास स्थापना गराउन मेरो प्रमुख भूमिका थियो । उनले भने, “वीरगञ्ज चिनी कारखानाको आवसीय क्षेत्रबाट अदालतको लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग पटक पटक लविङ्गरेको कारण उच्च अदालतको नाउँमा जग्गा प्राप्त भएको हो ।”

यसपटकको निर्वाचनमा गठबन्धनको उमेदवारले धेरै ठाउँमा जित्न सक्ने दावी गर्दै कणर्ले भने “अव स्थिर सरकारको लागि पनि गठबन्धन जरुरी छ, फेरी गठबन्धनको सरकार बन्छ । अहिले दुई चार निर्वाचन गठबन्धन गरेर जानुपर्छ । जनताले जुन विकास र समृद्धि खोजेको हो, यो गठबन्धनबाट सम्भव छ, कर्णले भने ।

जनताको समर्थन सत्ता गठबन्धनका उमेदवारको पक्षमा देखिएकोले यस पटकको निर्वाचनमा आफ्ू विजयी हुनेमा ढुक्क रहेको कणर्ले बताए । यो क्षेत्रमा लामोसमय काम गरेको मान्छे भएकोले पनि मलाई जनताले विश्वास गर्ने छन कर्णले भने । आफ्नो प्रतिस्पर्धा एमाले जसपा गठवन्धनका उमेदवारसँग हुने कर्णकाे भनाई छ ।

Back to top