×

वीरगञ्ज १८ असोज । नेपालले ५ वर्षको अवधिमा २३ अर्ब बढीको मदिरा आयात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्ममा २३ अर्ब २५ करोड ५० लाख ९४ हजार रुपैयाँको ९ करोड ९५ लाख ३ हजार ६७९ लिटर मदिरा आयात गरेको छ ।

नेपालले उच्च आयात गर्ने वस्तुमध्ये मदिरा पनि एक हो । नेपालले वार्षिक अर्बौ रुपैयाँ खर्चेर विभिन्न ब्रान्डमा मदिरा आयात गर्दै आएको छ । त्यस्तै, नेपालले मदिरा उत्पादनका लागि विभिन्न प्रकारका आवश्यक कच्चा पदार्थ आयात गरी स्वदेशमा समेत उत्पादन गर्दै आएको छ ।

सरकारले तत्कालको लागि मदिरा आयातमा प्रतिबन्ध लगाएको छ । उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएपछि सरकारले विभिन्न १० वटा वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

१० वस्तुमध्ये मदिरा पनि एक हो । तर, प्रतिबन्धका बाबजुद चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा ३६ करोड ४८ लाख ६७ हजार रुपैयाँ बराबरको ६ लाख ९१ हजार १४४ लिटर मदिराजन्य पदार्थ आयात गरेको छ । सरकारले सो आयातित वस्तुबाट ४२ करोड २९ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७४/७५ मा ६ अर्ब २ करोड ८० लाख ६७ हजार रुपैयाँको ३ करोड ८६ लाख ४ हजार लिटर मदिरजन्य पदार्थ आयात गरेको थियो । त्यस्तै, आव २०७५/७६ मा ६ अर्ब ५८ करोड १३ लाख ८२ हजार रुपैयाँको ३ करोड २३ लाख ७१ हजार ५२६ लिटर, आव ७६/७७ मा ३ अर्ब ९० करोड ३७ लाख ८३ हजार रुपैयाँको १ करोड ३४ लाख २० हजार ३८२ लिटर, आव २०७७/७८ मा ३ अर्ब ४ करोड २८ लाख २० हजार रुपैयाँको ८३ लाख ५० हजार ७१५ लिटर र आव २०७८/७९ मा ३ अर्ब ६९ करोड ९० लाख ४३ हजार रुपैयाँको ६७ लाख ५७ हजार लिटर मदिराजन्य पदार्थ आयात गरेको छ ।

नेपालले भारत, क्यानडा, चीन, फ्रान्स, बेलायत, बंगलादेश, जापान, थाइल्यान्ड, जर्मनी, आयरल्यान्ड, सर्बिया, सिंगापुर, अष्ट्रेलिया, चिले, दक्षिण अफ्रिका, पोर्चुगल, इटली, स्पेन, स्वीडेन, अमेरिकालगायत अन्य विभिन्न देशबाट मदिरा आयात गर्ने गरेको विभागको तथ्याङ्क छ ।

 

Back to top