×

वीरगञ्ज १७ असोज । दशैं पर्वमा यसपटक देशकै मुख्य भन्सार कार्यालय चार दिन बन्द हुने भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले सूचना निकालेर यही असोज १७ गते महाअष्टमीदेखि २० गते एकादशीसम्म एकीकृत जाँच चौकी (आईसीपी) बन्द रहने बताएको हो । अघिल्ला वर्षहरूमा केही कर्मचारी खटाएर भए पनि मालसामान जाँचपास हुुँदै आएको थियो । 

यो दशैंमा चार दिनसम्म वीरगञ्ज भन्सारबाट मालवस्तुको जाँचपास स्थगित हुने भएको छ । यात्रु शाखाबाट हुने सेवामात्र प्रदान गरिने भन्सारले बताएको छ । यात्रु शाखाबाट मानिसको आवागमन र नेपाल भित्रिने भारतीय सवारीलाई प्रवेश अनुमतिलगायतका काममात्र हुन्छन् । 

विगतमा वर्षमा केही कर्मचारी राखेरै भए पनि मालबस्तुको जाँचपास गर्दै आएकोमा यो वर्ष भन्सारले ४ दिनसम्म भन्सार बन्द गरेको र यसबाट आयातकर्तालाई समस्या पर्ने वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए । 

चार दिनसम्म आईसीपी पूर्ण रुपमा बन्द हुँदा अत्यावश्यक सामग्री, फलफूल र तरकारीजस्ता वस्तुको आयातमा समस्या हुने उनले बताए । आईसीपी बन्द भएपछि भारत र तथा तेस्रो मुलुकबाट मालसामान लिएर आएका ढुवानीका साधन सीमापारि भारतीय क्षेत्रमै बस्नुपर्ने भएको छ । दैनिक ५/ ७ सय ढुवानीका साधन आउने यो नाकामा रहेको भन्सार बन्द भएपछि भारततर्फ सडकमा यस्ता साधनको लामो जाम लाग्ने र भन्सार खुलेपछि व्यवस्थापनमा समस्या हुने संघका अध्यक्ष डा सुवोधकुमार गुप्ताले बताए । 

भन्सारबाट जाँचपास बन्द हुँदा सयौं गाडीमा दैनिक करोडौं रुपैयाँ बिलम्ब जरीवाना लाग्ने पनि गुप्ताको चिन्ता छ ।  आइतवार फूलपातीको दिनमा समेत भन्सार मध्यान्ह १२ बजेसम्ममात्रै खुलेको छ । आइतवार यो नाकाबाट औद्योगिक कच्चा पदार्थ र औषधीजन्य वस्तुमात्रै जाँचपास भएको भन्सारले बताएको छ ।  आर्थिक अभियान 

Back to top