×

वीरगञ्ज १६ असोज । नेपाल राष्ट्र बैंकले दशैंको अवसरमा बजारमा १६ अर्ब रुपैयाँ बराबरको खुद्रा नोट पठाएको छ । राष्ट्र बैंकका कार्यालय तथा बैंक वित्तीय संस्थाका शाखाबाट ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नोट उक्त परिमाणमा सटही भएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।

‘यसपटक राष्ट्र बैंकका साथै अन्य बैंकका शाखाबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएका थियौं,’ कार्यकारी निर्देशक नेपालले भने, ‘हामीले ८–१० अर्ब सटही हुने अपेक्षा गरेकोमा त्योभन्दा बढी रकम गएको छ ।’ राष्ट्र बैंकको प्रादेशिक कार्यालयका साथै बैंक वित्तीय संस्थाका विभिन्न शाखाबाट असोज २ गतेदेखि नयाँ नोट साट्न सकिने व्यवस्था गरिएको थियो । बैंकलाई उपत्यकाभित्रका कम्तीमा ५ ओटा शाखाबाट नोट सटहीको व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले नोट सटहीका लागि एक व्यक्तिलाई ५, १०, २०, ५० र १०० रुपैयाँसम्मका एक/एक बन्डल गरी १८ हजार ५०० रुपैयाँको सीमा तोकेको थियो । कोभिड महामारीका कारण विगत २ वर्षमा नयाँ नोट वितरण नगरे पनि दशैं, तिहार र छठको अवसरमा नयाँ नोट सटही सुविधा दिने परम्परालाई राष्ट्र बैंकले चालू वर्षमा भने निरन्तरता दिएको हो ।

Back to top