वीरगञ्ज १० असोज । वीरगञ्ज स्थित बाल सुधारगृहमा रहेका १७ वर्षीय किशोरको बुधबार मृत्यु भएको छ ।
रौतहट राजपुर नगरपालिका वडा नम्बर ४ का जितेन्द्र साहको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
अभिभावकले भने उपचार अभावमा साहको मृत्यु भएको दाबी गरेका छन् । तिघ्रामा घाउ भएपछि उनलाई अन्तिम अवस्थामा भदौ २७ गते सुधारगृह प्रशासनले अस्पताल लगेको परिवारको भनाइ छ ।
उपचारमा संलग्न चिकित्सक डा. खालिफ हसनले भेन्टिलेटरमा राखेर उपचार गराउने क्रममा शरीरभरि घाउको पीपले संक्रमण फैलिएको बताए ।
‘शरीरमा रगत अभावसँगै श्वास–प्रश्वासको समस्या थियो, शरीरभरि संक्रमण फैलिइसकेको थियो, पल्स र बीपी पनि आएको थिएन,’ उनले भने, ‘रेफर गर्न भने पनि कसैले वास्ता गरेनन्, त्यसैले उनलाई जोगाउन सकेनौं । अन्तिम अवस्थामा पुगेपछि मात्र उनलाई अस्पताल ल्याइएको डा. हसनले बताए ।
मृतकका हजुरबुबा बारा सिम्रौनगढ वडा नम्बर ८ कचोर्वाका रामनाथ साहले नातिलाई सुधारगृहमा गएदेखि नै प्लास्टिकको पाइपले कुटेपछि घाउ भएको आरोप लगाए । ‘घाउ दुखेपछि सुधारगृहले सामान्य दुखाइ कम गर्ने औषधि दिन्थ्यो, त्यही घाउ बल्झिएर ठूलो भयो तर समयमा उपचार गराइएन,’ उनले भने, ‘नातिले एउटा कसुर गर्दा कैदी जीवन पनि बितायो । मृत्युदण्ड दिएझैं जीवन पनि समाप्त भयो, समयमा उपचार गराएको भए उसको ज्यान जोगिन्थ्यो ।’
नातिको औषधि किनेको २० हजार रुपैयाँ पनि सुधारगृहले तिर्न लगाएको साहको भनाइ छ । आमा शर्मिलाले छोरालाई मृत्युदण्ड दिएसरह भएकाले आफूले न्याय पाउनुपर्ने बताइन् ।
गाउँकै एक नाबालिकालाई २०७७ जेठ ३० मा करणी गरेको कसुरमा जितेन्द्रलाई रौतहट जिल्ला अदालतले २०७८ वैशाख १४ मा दोषी ठहर गर्दै ५ वर्ष ३ महिना कैद सजाय र ५ हजार जरिवाना गरेको थियो । त्यसयता उनी सुधारगृहमा कैदी जीवन बिताइरहेका थिए ।