×

वीरगञ्ज, ६ असोज ।  बहुजन एकता पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधिलाई तिव्रता दिएको छ । सर्लाहीको बलरा नगरपालिकाका विभिन्न स्थानमा जनतासँग भेटघाट, पार्टी प्रवेशसँगै कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई पार्टीले तिव्रता दिएको हो । 

यसअघि आजै सर्लाहीको बलरा नगरपालिका वडा नम्बर ११ छतौनामा अभियान सञ्चालन गरेको बहुजन एकता पार्टीले वडा नम्बर १० मा पनि नेता कार्यकर्तासँग भेटघाट गरेको छ । वडा नम्बर ११ मा लखिन्दर हजारीको अध्यक्षतामा भएको थियो भने वडा नम्बर १० मा रुपेश पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश एवम् प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर शोषित एवम् अपहेलित समुदायको नेतृत्वदायी तहमा पहुँच बढाउने बहुजन एकता पार्टीको प्रमुख एजेण्डा रहेको पार्टीका बरिष्ठ नेता राजाराम पासवानले बताए । वर्षाैदेखि दमन र शोषण गर्दै आएका दलका व्यक्तिहरुलाई अब अस्त्र र शास्त्रभन्दा पनि मतले तह लगाउने बेला आएको बताउँदै पासवानले आफ्नै समुदायका व्यक्तिलाई मतदान गरेमात्रै मुक्ति मिल्ने दावी गरे ।

अचानाको पिर खुकुरीलाई थाहा नहुने तर्क गर्दै बरिष्ठ नेता पासवानले दलित समुदायले भोगेका पिडा र समस्यालाई दलित समुदायले नै सम्बोधन गर्न सक्ने भएकाले अब नेतृत्व तहमा पहुँच बढाउन सबैले ऐक्यबद्धता जनाउनुपर्नेमा जोड दिए । समुदायको हित र समुदायको विकासका लागि दल र पार्टीभन्दा पनि माथि उठेर आफ्नै समुदायका व्यक्तिलाई मतदान गर्न उनले आग्रह गरेका छन् । 

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य जितेन्द्र राम, इन्जिनियर अरबिन्द बैठा, जिल्ला उपाध्यक्ष चुलहाई दास, श्याम किशोर गुप्ता, पन्निलाल दास, ठूलो राम, सिकिन्द्र राम, जितेन्द्र पासवान लगायतले बहुजन एकता पार्टीको विकल्प नरहेको बताएका थिए । 
 

Back to top