×

वीरगञ्ज १४ भदौ । निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुने चुनाव प्रचार प्रसारमा कडाइ गरेको छ। आयोगले सोमबार राजपत्रमा प्रकाशित गरेको ‘निर्वाचन आचार संहिता २०७९’ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सामाजिक सञ्जालमार्फत प्रचारमा कडाइ गरेको हो।

आयोगले तोेकेको मितिदेखि लागू हुने गरी सार्वजनिक भएको आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न गराउन नहुने, चुनावलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा एकाउण्ट सञ्चालन गर्न, फेक साइट खोल्न नहुने उल्लेख छ।

त्यस्तै सामाजिक सञ्जालमार्फत चुनावलाई प्रभाव पार्ने उद्देश्यले अरुलाई होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण हेट स्पिच गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न नपाउने उल्लेख छ।

त्यस्तै सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न पनि आचारसंहिताले निषेध गरेको छ।

त्यस्तै आचार संहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट जस्ता सामाग्रीको प्रयोग गर्न नहुने उल्लेख छ। चुनाव प्रचारसँग सम्बन्धित स्टीकर, लोगो, झोला, व्याज, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न पनि आयोगले रोक लगाएको छ।

आचार संहितामा प्रदेश वा संघका मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै प्रचार प्रसार गर्न पाउने उल्लेख छ। आफ्नो बाहेक अरुको निर्वाचन क्षेत्रमा प्रचार गर्न जान उनीहरुलाई निषेध गरिएको छ।

Back to top