वीरगञ्ज, २ भदौ । वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मधेश प्रदेशकै उत्कृष्ट बि स्कुलको अवार्डबाट सम्मानित भएको छ । न्यू बिजनेश एज प्रा.ली.ले प्रत्येक वर्ष आयोजना गर्दै आएको न्युबिज बी–स्कुल रेटिङ्स -याकिङ् एण्ड अवार्डस कार्यक्रमका अवसरमा बिपिसी कलेज प्रोभिन्स लेभल बेस्ट बी स्कुलको उपाधीबाट सम्मानित भएको हो ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि उत्कृष्ट बीस्कुल छनोट गरिएको थियो । २ हजार ३ सय बीस्कुलमध्ये शुरुको पहिलो चरणमा उनीहरूको वेवसाइटका आधारमा ६०२ ओटा सर्ट लिस्ट गरिएको थियो । विद्यालयको, मिसन, भिजन र स्लोगनलगायतको आधारमा गरिएको दोस्रो चरणको छनोट प्रक्रियामा करीब ३ सय ओटा बीस्कुल छानिएका थिए ।
कम्तीमा ५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेको आधारमा गरिएको तेस्रो चरणको छनोट प्रक्रियाबाट ८७ बीस्कुल निर्णायक मन्डलले छानेको थियो । सोही कार्यक्रममा विभिन्न ४ विधामा १६ ओटा कलेजहरूलाई अवार्ड प्रदान गरिएको छ । ७ ओटै प्रदेशका १÷१ कलेज, एमबीए÷एमबीएस, बीबीए÷बीबीएस र बीएचएम विधाबाट ती कलेजहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।
प्रभु बैंक लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौंमा बुधवार आयोजित अवार्ड कार्यक्रममा एमबीए÷एमबीएसतर्फ ३, बीबीए÷बीबीएसतर्फ ३, बीएचएमतर्फ ३ उत्कृष्ट कलेज तथा सातै प्रदेशका १/१ कलेज सम्मानित भएका हुन् । तीन विधामा १/१ उत्कृष्ट कलेजलाई ट्रफी तथा प्रमाणपत्र एवम् दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रदेशतर्फका उत्कृष्ट कलेजलाई प्रमाणपत्रले सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रोभिन्स लेभल बेस्ट बीस्कुलतर्फ मधेश प्रदेशबाट वीरगञ्जको बिपिसी कलेजसहित सुदूरपश्चिम प्रदेशको कैलाली बहुमुखी क्याम्पस धनगढी, कर्णाली प्रदेशको सहारा क्याम्पस वीरेन्द्रनगर, लुम्बिनी प्रदेशको लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, गण्डकी प्रदेशको नोभेल एकेडेमी पोखरा, बागमती प्रदेशको प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स भरतपुर, र प्रदेश १ बाट दमक बहुमुखी क्याम्पस सम्मानित भएका हुन् ।
