वीरगञ्ज, १ भदौ । वीरगञ्जका १ जनासहित ७ जना विद्यार्थीले ह्वावेले विश्वव्यापी रुपमा व्यावसायिक सामाजिक उत्तरदायित्वअन्र्तगत गर्ने कार्यक्रममा सहभागी हुने भएका छन् । ‘सिड्स फर फ्युचर प्रोग्राम’ मा सहभागी हुनका लागि वीरगञ्ज रानीघाटका बंशल पौडेलसहित ७ जना विद्यार्थी थाइल्याण्ड जाने भएका हुन् ।
सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विश्वका १३० देशमा सञ्चालित यस कार्यक्रममा नेपालबाट यसपटक ७ विद्यार्थी सहभागी हुने भएका हुन् । सन् २००८ सालमा थाइल्याण्डबाट सुरु भएको यो कार्यक्रममा नेपाली विद्यार्थीको यो दोस्रो सहभागिता हो ।
गत वर्ष कोभिड–१९ का कारण भर्चुअल रुपमा आयोजना भएको यो कार्यक्रम यसपटक भने भौतिक रुपमै हुनेछ ।यही अगस्ट १९ देखि अगस्ट २७ तारिखसम्म चल्ने कार्यक्रमका लागि नेपाली विद्यार्थीसहितको टोली बिहीबार अर्थात् अगस्ट १८ मा थाइल्याण्ड प्रस्थान गर्नेछ ।
यही कार्यक्रममा लागि ह्वावेले गएको जेठमा नेपाली विद्यार्थीमाझ आवेदन माग गरेको थियो, जसमा कुल २५६ विद्यार्थीको आवेदन परेको थियो ।
छनोट हुने विद्यार्थीमा वीरगञ्जको रानीघाट घर भई हाल मदन भण्डारी मेमोरियल कलेजमा अध्ययनरत बंशज पौडेल, काठमाडौं विश्वविद्यालयमा अध्यनरत निर्माण खड्का र प्रज्ञा मल्लिक, त्रिवि इन्जिनियरिङ संस्थान पुल्चोकका रिया वैद्य र नदिका पौडेल, खोपा इन्जिनियरिङ कलेजका जितिन भुसाल र अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोट भएका छन् ।
सिड्स फर फ्युचर कार्यक्रममा सहभागी हुने विद्यार्थीले आफूलाई उत्कृष्ट सावित गर्न सकेको खण्डमा सिंगापुरमा आयोजना हुने ‘टेक फर गुड’ नामक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन पाउने छन् ।
उक्त कार्यक्रम यही अगस्ट २९ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना हुनेछ । कार्यक्रममा विजेता हुनेले २० हजार अमेरिकी डलर पुरस्कारस्वरुप प्राप्त गर्नुका साथै आफ्नो परियोजनाको व्यावसायिक विस्तारका लागि आवश्यक लगानी जुटाउने अवसरसमेत पाउने छन् ।