×

वीरगञ्ज १ भदौ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक बुधबार दिउँसो बस्दैछ। दिउँसो ४ बजे बालुवाटारमा बैठकमा सिट बाँडफाँटको विषयका छलफल हुन लागेको हो। 

सत्ता गठबन्धनले कुन पार्टीले कति सिट पाउने र कुन क्षेत्रमा कुन पार्टीले चुनाव लड्ने भन्नेमा कार्यदल नै बनाएर गृहकार्य गरिरहेको छ। गठबन्धनका दलहरूबीचमा प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धन गर्ने तय भएको छ। 

आजको बैठकमा सिट बाँडफाँट खाका प्रस्तुत गर्ने जिम्मेवारी पाएका कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले प्रस्तुत गर्ने बताइएको छ। मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलले  सिट बाँडफाँट सबै काम टुंगो लगाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने जनाएको छ।

सकेसम्म कार्यदलमा नै सबै काम टुंगो लगाउने र नमिलेको विषयमा शीर्ष तह नेता बसेर टुंग्याउने गरी प्रतिवेदन बुझाउने तयारी कार्यदलको रहेको छ। तालमेलका लागि २०७४ सालको निर्वाचनमा दलहरुले पाएको समानुपातिक मत र बैशाखमा भएको स्थानीय तह निर्वाचनलाई आधार बनाएर सिट बाँडफाँडको टुंगो लगाउने तयारी छ। यसैगरी २०७४ सालमा प्रत्यक्षतर्फ जितेको सिट संख्या यथावत् राख्दै एमालेले जितेका सिटलाई भागबण्डा गर्ने विषयले पनि कार्यदलभित्र प्रवेश पाएको छ।

सिट बाँडफाँट गर्न बनेको सत्तागठबन्धनको कार्यदलको संयोजक कांग्रेसका नेता सिटौला रहेका छन्। सदस्यमा कांग्रेस महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्।

 

Back to top