×

वीरगञ्ज १ भदौ ।  मधेश प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले अपराध नियन्त्रणको लागि मधेश सरकारले फोरेन्सिक ल्याब बनाउन पहल गर्ने बताएका छन् ।

मंगलबार जनकपुरधाममा नेपाल प्रहरी प्रधान कार्यालयले आयोजना गरेको प्रदेश स्त्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘प्रदेशमा भइरहेको विभिन्न प्रकृतिका अपराधलाई नियन्त्रण गर्न मधेश प्रदेशमा फोरेन्सिक ल्याबको आवश्यकता छ,’उनले भने,‘प्रदेश सरकारले यस प्रकारको ल्याब बनाउन अगाडि बढ्छ ।’

सूचना प्रविधि तीब्रताले अगाडि बढेपछि अपराध गर्ने शैली पनि अपग्रेड भएको हुनाले अनुसन्धान पद्धति पनि परिर्वतन हुनु पर्ने उनको भनाइ छ । ‘साइबर क्राइम र लागू औषध कारोबार मधेश प्रदेशमा बढेको छ,’उनले भने,‘तर यसलाई निरुत्साहित गर्न केही चुनौती देखिएको छ । यी चुनौतीलाई पार गर्नुपर्छ ।’

मधेशमा भागि विवाहको प्रवृति बढेको भन्दै यसलाई न्यूनीकरण गर्न कानून संशोधन गर्नुपर्नेमा उनले जोड दिए । ‘उमेर नपुग्दै किशोर किशोरी भागेर विवाह गरेको हुन्छ । पछि केटी पक्षले बलात्कारको मुद्दा दर्ता गराइ दिन्छ,’उनले भने,‘भूगोल र वातावरण अनुसारको कानून बनाउनु पर्छ । मधेशमा विवाह गर्ने उमेर २० बाट घटाउनु पर्छ ।’

Back to top