×

वीरगञ्ज ३० साउन । सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ। बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

बैठकमा मंसिर ४ को चुनावमा सिट बाँडफाँडको मोडालिटीका सन्दर्भमा छलफल हुने नेताहरुले बताएका छन्।

गत बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको थियो ।

यसबारे आजको बैठकमा विस्तृत छलफल हुनेछ। कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला संयोजकसहित महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् ।

यस्तै, माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन छन् । एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल रहेका छन् । जसपाबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

Back to top