×

वीरगञ्ज २१ साउन । जनता समाजवादी पार्टी (जसपा) को पुनर्गठन गरिएको केन्द्रीय समिति र कार्यकारिणी समितिमा व्यापक फेरबदल गरिएको छ ।

पार्टीको वीरगञ्जमा असार २९ र ३० गते सम्पन्न केन्द्रीय समितिको म्याण्डेड अनुसार केन्द्रीय समिति र कार्यकारिणी समितिको पुनर्गठन गरिएको छ ।

पार्टीको सर्वोच्च निकायको रुपमा संघीय परिषद्लाई स्थापित गर्दै अध्यक्ष अशोक राईलाई वरियता क्रममा सबै भन्दा माथि राखिएको छ । जसपाको अब एकल अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

केन्द्रीय समितिलाई पुनर्गठन गर्दै ४ सय ६६ सदस्यीय बनाइएको छ । कार्यकारिणी समितिमा हाल अध्यक्ष समेत २२ जना रहेका छन् । कार्यकारिणी समितिबाट रेणु यादवलाई हटाइएको छ । त्यसमा राजकिशोर यादव, रामनरेश यादव र अमृता अग्रहरीलाई भने समावेश गरी २२ जना पु¥याइएको छ ।

वीरगञ्ज केन्द्रीय समिति बैठकमा राजकिशोर, रामनरेश र अमृता सहभागी भएका थिएनन् । रेणु यादवले दोस्रो दिन बैठकमा उपस्थित भएर पार्टीको सबै पदबाट राजिनामा दिएको पत्र अध्यक्ष यादवलाई सुम्पेर बाहिरिएकी थिइन् । तर राजकिशोर, रामनरेश र अमृता तटस्थ रहेका थिए ।उनीहरु बाबुराम भट्टराईको बैठकमा समेत सहभागी भएका थिएनन् ।

पार्टीले हालै गठन गरेको १ सय ५३ सदस्यीय राजनीतिक समितिमा समेत रेणु यादवलाई राखिएको छैन् । उनलाई केन्द्रीय समितिमा भने स्थान दिइएको छ । वरिष्ठ नेता रहेका राजेन्द्र श्रेष्ठलाई कार्यकारिणी समितिमा राखिएको छ ।

आगामी निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन गरिएको छ । केन्द्रीय समितिका अध्यक्ष प्रमुख रहने सो बोर्ड १३ सदस्यीय रहेको छ ।

बोर्डमा प्रदेश १ बाट दिपक याख्खा, मधेश प्रदेशबाट बालकिशोर यादव, हरिनारायण यादव, गोविन्द चौधरी रहेका छन् भने बागमती प्रदेशबाट लालबहादुर तामाङ, लुम्बिनी प्रदेशबाट सहसराम यादव, कर्णाली प्रदेशबाट वीरबहादुर शाही, सुदूरपश्चिमबाट हेमन्त माण्डव्य रहेका छन् । सो बोर्डमा संघीय परिषद्का अध्यक्ष, वरिष्ठ नेता तथा सहअध्यक्ष पदेन सदस्य रहने जनाइएको छ ।

बोर्डको सदस्यहरुमध्येबाट प्रमुखले तोकेका व्यक्ति बोर्डको सचिव रहने बताइएको छ । मधेश प्रदेशमा भट्टराईले आश गरेका राजकिशोर यादव, रामनरेश यादव लगायतले साथ छाडेसँगै नेता महेन्द्र यादवलाई समेत कठिनाई भएको छ ।

कार्यकारिणी समितिलाई ५३ सदस्यीय राख्ने प्रावधान रहे पनि हाल छोटो नै राखिएको समितिका सदस्य गजाधर यादवले बताए ।संगठनलाई पूर्णतादिदै नयाँ उर्जाका साथ आगामी चुनाव परिचालन समिति समेत गठन भइसकेको उनले बताए ।

Back to top