×

वीरगञ्ज, १६ साउन ।  वीरगञ्जका एक युवकले ईन्टरनेट नचल्दा काम नभएर नोक्सानी भएको क्षतिपुर्ती माग गर्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी २२ वर्षीय जित यादव भन्ने जितेन्द्र यादवले इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । 

कानुन संकायमा काठमाण्डौमै अध्ययनरत यादवले इन्टरनेटकै माध्यमबाट विभिन्न कम्पनीको काम पनि गर्दै आएका छन् । कामकै शिलशिलामा इन्टरनेट नचल्दा सूचना र विवरण अपलोड गर्नेदेखि अद्यावधिक गर्ने जस्ता कामकाज प्रभावित हुँदा आफुलाई नोक्सानी भएको तर्क गर्दै उनले सी.जि. नेट, सी.जि. कम्युनिकेशन प्रा.ली. विरुद्ध क्षतिपुर्तीको माग गर्दै मुद्दा दिएका हुन् । 

मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनीले आफूलाई भएको क्षति बापतको रकम बहन गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार १२० घण्टा इन्टरनेट नचलेर आफूलाई २ लाख ७५ हजार २ सय ८३ रुपैयाँको क्षति भएको निवेदकले दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

३० असार २०७९ मा दायर गरिएको फिराद पत्रअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीसँग उक्त रकम क्षतिपूर्ति बापत माग गरिएको छ । 
 

Back to top