×

वाशिङटन डीसी (अमेरिका) । संसारको सबैभन्दा मूल्यवान प्रविधि कम्पनी पनि विश्वका विद्यमान चुनौतीपूर्ण आर्थिक वातावरणको प्रभावबाट अछुतो रहन सकेन । जुनमा सकिएको तीन महीनामा आइफोन निर्माता कम्पनी एप्पलको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले घटेको छ । विश्व अर्थतन्त्रमा छाएको सुस्ती र चीनमा कोभिडको संक्रमण विरुद्ध त्यहाँको सरकारले अपनाएको शून्य कोभिडको नीतिका कारण उत्पन्न आपूर्ति शृङ्खलामा अवरोधका कारण कम्पनीको मुनाफा प्रभावित भएको हो ।

सो अवधिमा कम्पनीले ८३ अर्ब डलर बराबरको आम्दानी गरेको छ । आम्दानीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २ प्रतिशत धेरै हो । यो कम्पनीको इतिहासमा आर्थिक वर्षको तेस्रो त्रैमासकै कीर्तिमानी आम्दानी भए पनि गत वर्षको सोही अवधिको वृद्धिको तुलनामा चाहिँ निकै थोरै हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढेको थियो ।

बृहत चीनमा कम्पनीको विक्री १ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा एप्पलको मुनाफा र आम्दानी दुवै अपेक्षाकृत उच्च भएकोले आर्थिक तथ्यांक प्रकाशित भएपछि कम्पनीको शेयर मूल्य बिहीवार नियमित समयपछिको कारोबारमा करीब ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा विक्रीपछि दिइने सेवाहरूबाट हुने आम्दानी १२ प्रतिशतले बढेर १९ अर्ब ६० करोड डलरमा पुगेको छ ।

कम्पनीका विविध सेवामा विश्वभर ८६ करोडभन्दा धेरै पैसा तिर्ने सब्सक्राइबर छन् । गत वर्षयता मात्रै यस्ता सेवा लिनेको संख्यामा १६ करोडको वृद्धि भएको छ । विश्वव्यापी महँगी वृद्धि र केन्द्र बैंकहरूले धमाधम ब्याजदर बढाइरहेको अवस्थामा अर्थतन्त्र मन्दीमा जाने र युक्रेनमाथि रुसको आक्रमणको प्रभावले चुनौती थपिएको समयमा समयमा अहिले कयौं प्रविधि कम्पनीहरूलाई सुदृढ वृद्धि कायम गर्न सकस भइरहेको छ । तर, एप्पलको गएको त्रैमासमा आर्थिक तथ्यांक सन्तोषजनक छ । एजेन्सी  

Back to top