×

मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन् । मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन् । उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन् । उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो । 

त्यसपछि मनिषाकी आमाले आफ्ना पाँच सन्तान एक्लै हुर्काइन् । उनले आफ्ना बालबालिकाको राम्रो शिक्षा दिक्षाको लागि पाकिस्तानको ठूलो शहर कराँची सरिन् ।  आमाको संघर्षको कारण मनिषाका तीन बहिनीहरू अहिले एमबीबीएस डाक्टर भएका छन् भने उनका कान्छो भाइ मेडिकल म्यानेजमेन्ट पढिरहेका छन् । 

स्वतन्त्र रूपमा डिएसपीको जिम्मेवारी सम्हाल्नुअघि मनिषाले कराँचीको सबैभन्दा अप्ठ्यारो क्षेत्र लियारीमा तालिम लिएकी थिइन् । मनिषा यस क्षेत्रकै पहिलो महिला प्रहरी अधिकृत भने देशभरकी पहिलो हिन्दु डीएसपी भएकी छन् । 

‘मेरो सफलतामा मानिसहरु निकै खुसी भएका छन् । हिन्दू समुदाय पनि खुशी छाएको छ । पुरै देशमा मेरो तारिफ भयो । तर प्रशंसासँगै मेरा नजिकका आफन्तले म यस पेसामा धेरै टिक्दिन सोचिरहेका छन् । पितृसत्तात्मक समाजमा प्रहरीको काम पुरुषले मात्र गर्न सक्छन् भन्ने सोचका कारण यस्तो सोचिएको हुनसक्छ ,’ मनिषाले भनिन् । 

जागिरसँगै मनिषा लोकसेवा आयोगको परीक्षाको तयारी गर्ने एकेडेमीमा पनि पढाईरहेकी छन् । उनी आफूजस्तै अरु महिलालाई पनि प्रहरी सेवामा आकर्षित गर्न चाहन्छिन् ।  –बीबीसी हिन्दी

Back to top