×

बंगलादेश – राष्ट्रिय फोटो पत्रकार समूह नेपालको रजतमहोत्सवका अवसरमा मुलुकको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोमबार बङ्लादेशको ढाकामा फोटो प्रदर्शनी गरिएको छ ।

उक्त समुहका अध्यक्ष तथा राससका फोटो पत्रकार प्रदीपराज वन्त र कोषाध्यक्ष सागर श्रेष्ठले आज ढाकामा फोटो प्रदर्शनीमार्फत नेपाल घुम्न जाउँ भनी सन्देश प्रवाह गरेका हुन्  । उनीहरुले नेपाल आकर्षिक पर्यटकीय क्षेत्र रहेकाले घुमेर मनोरञ्जन लिन आव्हान समेत गरे ।

अमेजिङ नेपाल नाम दिएर सोमबार आयोजना गरिएको फोटो प्रदर्शनीमा नेपालका पर्यटकीय क्षेत्रका दुई दर्जन बढी तस्वीरहरु प्रदर्शन गरिएको थियो ।

समुहका अध्यक्ष वन्तले राष्ट्रिय फोटो पत्रकार समुह स्थापनाको २५ वर्ष पुगेको अबसरमा वार्षिक रुपमा विविध कार्यक्रम गरी मनाउनेक्रममा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ढाकामा फोटो प्रदर्शनी गरिएको जानकारी दिए ।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालले बंगलादेश फोटो जर्नालिष्ट एसोसिएसनसँगको समन्वयमा उक्त कार्यक्रम गरेको हो । उक्त समारोहमा बंंगलादेश फोटो जर्नालिष्ट एसोसिएसन ढाकाका अध्यक्ष सोहेल हैदर, सचिव अख्तर अहमद तथा संस्थापक सदस्य वरिष्ठ पत्रकार काजी रौनक हुसेनलगायतका पत्रकारहरुको उल्लेख्य सहभागिता थियो ।

कार्यक्रममा अध्यक्ष हैदरले नेपाल र बंगलादेशबीच दशकौँदेखि सम्बन्ध प्रगाढ रहेको र यस्ता कार्यक्रमले सम्बन्ध थप बलियो बनाउन सहयोग गर्ने बताए । उनले दुवै देशमा यस्ता कार्यक्रम निरन्तर रुपमा हुनुपर्नेमा जोड दिए  ।

नेपालको राष्ट्रिय फोटो पत्रकार समुह र बंगदालेश फोटो जर्नालिष्ट एसोसिएसनबीच २०औँ वर्षदेखि भाइचारा सम्बन्ध कायम रहेको र सामुहिक रुपमा विभिन्न कार्यक्रहरु आयोजना हुँदै आएको छ । समुहको रजतमहोत्सवका अबसरमा समुहले वर्षभरी नै विभिन्न कार्यक्रम गर्नै अध्यक्ष वन्तले जानकारी दिए ।

Back to top