राष्ट्रिय सूचना आयोगले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुका कार्यालय प्रमुख एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सूचनाको हकसम्बन्धी ऐन बमोजिम २० हजार रुपैयाँ जरिवाना ठहर गरेको छ ।
आयोगका अनुसार सूचनाको हकसम्बन्धी नियमावली, २०६५ को नियम ६९७० बमोजिम आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२९१० बमोजिम गरेको जरिवाना असुल उपर गरी आयोगलाई जानकारी दिन काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउने निर्णय गरेको हो ।
आयोगले त्रिवि परीक्षा नियन्त्रण कार्यालय, बल्खुसँग भएको सूचना पुनरावेदकलाई उपलब्ध गराइदिन र आयोगलाई समेत जानकारी दिन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने निर्णयसमेत गरेको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
यस अतिरिक्त परीक्षा नियन्त्रक जोशीलाई विभागीय कारबाही गरी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९३० बमोजिम आयोगलाई जानकारी गराउन त्रिभुवन विश्वविद्यालयका उपकूलपतिलाई पत्र पठाउने र यस निर्णय उपर चित्त नबुझेमा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३४ बमोजिम जानकारी पाएको मितिले ३५ दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न जान आयोगले विपक्षीलाई सूचित गराएको छ ।
आयोगका अनुसार रौतहट जिल्ला, मलोहिया–५ निवासी राजीव दासले माग गरेको सूचना परीक्षा नियन्त्रक जोशीले उपलब्ध नगराएपछि कारवाहीको सिफारिस गरिएको हो । सूचना मागकर्तालाई राष्ट्रिय सूचना आयोग समक्ष पुनरावेदन गर्न आउनु पर्ने अवस्था सिर्जना गराउन आवश्यक नदेखिए पनि आयोग समक्ष पुनरावेदन भएको र त्यस पश्चात आयोगबाट परीक्षा नियन्त्रक जोशीका नाममा पटकपटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना उपलब्ध नगराएपछि कारवाहीको सिफारिस गरिएको आयोगले जनाएको छ ।