×

भारतको गृह मन्त्रालयका अनुसार सन् २०२१ मा एक लाख ६३ हजार ३७० जनाले भारतीय नागरिकता त्यागेका छन् । संसद्‍मा पेस गरिएको दस्तावेजमा उल्लेख भएअनुसार उनीहरूले ‘निजी कारण’ देखाएर नागरिकता त्याग्ने फैसला गरेका हुन् ।

सबैभन्दा धेरै अर्थात् ७८ हजार २८४ जनाले अमेरिकी नागरिकताका लागि भारतको नागरिकता त्यागेका छन् । त्यसपछि २३ हजार ५३३ जनाले अस्ट्रेलिया र २१ हजार ५९७ जनाले क्यानडाको नागरिकता लिएका छन् ।

चीनमा बस्दै आएका ३०० जनाले चिनियाँ नागरिकता लिएका छन् । यस्तै, ४१ जनाले पाकिस्तानको नागरिकता लिएका छन् । सन् २०२० मा भारतीय नागरिकता त्याग्नेको सङ्ख्या ८५ हजार २५६ थियो भने सन् २०१९ मा एक लाख ४४ हजार १७ जनाले नागरिकता त्यागेका थिए ।

सन् २०१५ देखि २०२० का बीच ८ लाखभन्दा बढीले भारतीय नागरिकता त्यागेका छन् । सन् २०२० मा यो तथ्याङ्कमा केही कमी देखियो । कोरोना महामारीलाई यसको प्रमुख कारणका रूपमा लिइएको छ । विदेशी मामिलाका जानकार हर्ष पन्त भन्छन्, ‘गत वर्ष कोरोनाका कारण काम बन्द हुँदा विदेशको नागरिकता लिन नपाएकाहरूले अहिले नागरिकता पाएका कारण यस पटक यो तथ्याङ्कमा वृद्धि भएको हुन सक्छ ।’​

विदेशमा बस्नुका कयौँ फाइदा

अमेरिकामा बस्दै आएकी भावना (परिवर्तित नाम) का अनुसार भारतले आफ्नो नागरिकता छाड्ने दर या ‘ब्रेन ड्रेन’ लाई नियन्त्रण गर्ने हो भने कयौँ कदम चाल्न जरुरी हुन्छ । सुविधामा वृद्धिदेखि लिएर नयाँ अवसरको सिर्जना, दोहोरो नागरिकता जस्ता विषयमा विचार गर्न जरुरी रहेको उनको भनाइ छ ।

भावना सन् २००३ मा अमेरिकामा रोजगारीका सिलसिलामा गएकी थिइन् । उनलाई अमेरिकामै बस्नु ठिक लाग्यो र उतै बस्ने निधो गरिन् । उनकी छोरी अमेरिकामै जन्मिइन् । त्यसपछि उनले ग्रीन कार्डका लागि आवेदन गरिन् । केही वर्षपछि उनले अमेरिकाको नागरिकता प्राप्त गरिन् ।

भावना भन्छिन्, ‘यहाँ जीवन धेरै सहज छ । स्टेन्डर्ड अफ लिभिङ राम्रो छ । बच्चाहरूको पढाई राम्रो छ । उनीहरूले भारतको तुलनामा राम्रो अवसर पाउँछन् ।’

यस अतिरिक्त कामका लागि पनि राम्रो वातावरण रहेको उनी बताउँछिन् । जति काम गरिन्छ, त्यस हिसाबले राम्रो पारिश्रमिक पाइने उनको भनाइ छ ।

‘वर्क प्लेस’ को माहौल

क्यानाडामा बस्दै आएका अभिनव आनन्दको भनाइ पनि भावनाको भनाइसँग मिल्दोजुल्दो छ । उनले क्यानाडामै अध्ययन गरे, विगत एक वर्षदेखि उनी त्यहीँ काम गर्न थालेका छन् । उनी अहिले पनि भारतीय राहदानी प्रयोग गरिरहेका छन् तर अब भारतीय नागरिकता त्याग्ने सोचमा पुगेका छन् ।

काम गर्ने राम्रो वातावरणका कारण पनि उनी भारत फर्कन चाहँदैनन् । उनी भन्छन्, ‘यहाँ काम गर्ने समय निर्धारित छ, कार्यक्षेत्रमा नियम र कानुनको पालना हुन्छ । तपाई जति काम गर्नुहुन्छ, त्यही हिसाबले पैसा पाउनु हुन्छ । भारतमा नियम यति राम्रोसँग पालना हुँदैन । त्यसैले म भारत जान चाहन्न । मैले अरू देशमा काम गर्न हुन्छ भने त्यहाँको नागरिकता लिन के आपत्ति छ र ?’

हर्ष पन्तका अनुसार अधिकांश व्यक्ति राम्रो काम, पैसा र उत्कृष्ट जीवनको खोजीमा देश छाडेर जाने गरेका छन् ।

उनले भने, ‘ठुला देशमा उत्कृष्ट सुविधा पाइन्छ तर कयौँ मानिस साना देशमा पनि जान्छन्, कयौँ साना देशले व्यापारका लागि राम्रो सुविधा दिने गरेका छन् । कयौँ मानिसका परिवार पनि त्यस्ता देशमा बसेका हुन्छन्, त्यसैले उनीहरू काम गर्न उतै जाने गरेका छन् ।’

भावनात्मक सम्बन्ध तर फाइदा कम

हरेन्द्र मिश्रा वरिष्ठ पत्रकार हुन् । उनी विगत २२ वर्षदेखि इजरायलमा बस्दै आएका छन् । उनका अनुसार भारतसँग भावनात्मक रूपमा यति जोडिएका छन् कि भारतको नागरिकता त्याग्न सकेका छैनन् । उनकी पत्नी इजरायली नागरिक हुन् । उनका सन्तान उतै जन्मिए । उनीहरूले उतैको नागरिकता लिएका छन् । तर मिश्राले भारतीय राहदानीका कारण धेरै समस्या झेल्नु परेको छ । अन्य देशमा जानका लागि उनले भिसा लिनु पर्छ ।

उनले भने, ‘मलाई लन्डन जानु परेमा भिसा आवश्यक पर्दछ । तर तपाईंसँग इजरायलको राहदानी छ भने तपाई भिसा बिना नै लन्डन जान सक्नुहुन्छ । त्यसैले भिसा आवेदन गर्नका लागि यहाँ कार्यालयसमेत छैन । भिसामा छाप लगाउनका लागि इस्तानबुल जानु पर्छ । त्यहाँ जानका लागि खर्च हुन्छ । यस्ता कुराले समस्या छ ।’

आफूले भारतको नागरिकता त्याग्न नचाहेको तर त्यसले कुनै फाइदा भने नभएको उनले बताए । भारतको राहदानी लिएर ६० देशमा भिसा बिना जान सकिने उल्लेख गर्दै उनले अरू देशको तुलनामा यो सङ्ख्या निकै कम भएको बताए । राहदानीको वरीयतामा भारत १९९ देशको सूचीमा ८७ नम्बरमा छ ।

दोहोरो नागरिकताको आवश्यकता ?

हरेन्द्र मिश्राका अनुसार भारतले दोहोरो नागरिकताको व्यवस्था गरेमा नागरिकता छाड्नेको सङ्ख्यामा कमी आउने छ । अभिनव आनन्द पनि भारतको नागरिकता त्याग्ने सोचमा छन् । यो आफ्नो बाध्यता भएको उनले बताए ।

उनले भने, ‘म जहाँ जन्मिएँ, त्यहाँको नागरिकता मसँग हमेसा हुनुपर्छ तर भारत दोहोरो नागरिकताको अनुमति दिँदैन । त्यसैले मसँग त्यो नागरिकता त्याग्नुका अतिरिक्त विकल्प छैन । भारतले दोहोरो नागरिकताको सुविधा नदिएकै कारण भारतीय नागरिकता त्याग्नेको सङ्ख्या धेरै छ ।’ भावनाले पनि भारतीय नागरिकता त्यागिसकेकी छन् । उनीसँग ‘ओसीआई’ कार्ड छ । तर उनी योभन्दा राम्रो दोहोरो नागरिकता भइदिएको भए हुन्थ्यो भन्ने ठान्छिन् ।

के हो ओसीआई कार्ड ?

भारतमा दोहोरो नागरिकताको प्रावधान छैन । भारतीय नागरिकले अर्को देशको नागरिकता लिन चाहेमा भारतको नागरिकता त्याग्नु पर्दछ । विदेशमा बस्दै आएका र त्यहाँको नागरिकता लिएका भारतीय नागरिकका लागि एउटा खास सुविधाको नाम हो ओसीआई कार्ड अर्थात् ‘ओभरसिज सिटिजन अफ इन्डिया’ ।

विश्वका कयौँ मुलुकमा दोहोरो नागरिकताको सुविधा छ । तर भारतीय नागरिकता कानुन अनुसार यदि कुनै व्यक्तिले अन्य देशको नागरिकता लिएमा उसले भारतीय नागरिकता त्याग्नु पर्दछ । अमेरिका, बेलायत, क्यानाडाको नागरिकता लिएका लाखौं नागरिकको भावनात्मक सम्बन्ध अझै भारतसँग छ । उनीहरूले भारतको नागरिकता त्यागेपछि अब भारत आउनका लागि भिसा लिनु पर्दछ । यस्तै मानिसको सुविधाका लागि भारतले सन् २००३ मा ‘पीआइओ’ कार्ड अर्थात् ‘पर्सन अफ इन्डियन ओरिजन’को प्रावधान राखेको थियो । यो कार्ड राहदानीजस्तै १० वर्षका लागि जारी गरिन्छ ।

त्यसपछि भारत सरकारले प्रवासी भारतीय दिवसका अवसरमा सन् २००६ मा हैदरावादमा ओसीआई कार्ड दिने घोषणा ग¥यो । लामो समयसम्म पीआइसो र ओसीआई कार्ड दुवै चलाइयो । सन् २०१५ मा सरकारले ओसीआई कार्ड जारी राख्दै पीआइओको प्रावधान अन्त्य गर्ने घोषणा ग¥यो ।

ओसीआई एक प्रकारले भारतमा जीवनभर बस्न सक्ने, काम गर्न र सबै प्रकारका आर्थिक लेनदेन गर्ने सुविधा हो । यो कार्ड धारक व्यक्ति आफूले चाहेको समयमा भिसा बिना नै भारत आउन सक्छ । यो कार्ड उसको जीवनभरका लागि मान्य हुन्छ ।

यी कार्ड धारक व्यक्तिले चार वटा अधिकार पाउँदैनन् । उनीहरूले चुनावमा उम्मेदवार हुन पाउँदैनन्, मतदान गर्न पाउँदैनन्, सरकारी जागिर र संवैधानिक पदमा बस्न पाउँदैनन् र खेती गर्ने जमिन खरिद गर्न पाउँदैनन् ।

बीबीसी

Back to top