वीरगञ्ज, १७ अषाढ । तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ ?
हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ ।
नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ । पोल्यान्डमा छापिने १ रुपैयाँको सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का २ रुपैयाँ ४० पैसा खर्च गर्नुपर्छ ।
त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय ब्याङ्कका अधिकारीहरू बताउँछन् । पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्याउने गरेको छ ।
राष्ट्र ब्याङ्कका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ। सबैभन्दा बढी खर्च ५ सय रुपैयाँको नोट छाप्न लाग्दै आएको छ ।
सिक्काको मोलभन्दा महँगो छपाइ
राष्ट्र ब्याङ्कका अनुसार अहिले १ र २ रुपैयाँका नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन् । स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ ।
बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन् । दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का २ रुपैयाँ ७३ पैसा लाग्ने गरेको छ ।
“यो टेन्डर लागत मात्रै हो । यसमा ढुवानी खर्च अलग हुन्छ र त्यो परिस्थिति अनुसार फरक पर्छ । कति समयपछि ल्याइन्छ त्यसमा भर पर्छ,” राष्ट्र ब्याङ्कका मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने ।
महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र ब्याङ्कलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन् । राष्ट्र ब्याङ्कले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ ।
नोट छाप्न कति खर्च
राष्ट्र ब्याङ्कका अनुसार पाँच रुपैयाँको नोट छाप्न १ रुपैयाँ ६८ पैसा, १० रुपैयाँको छाप्न १ रुपैयाँ ४० पैसा र २० रुपैयाँको छाप्न १ रुपैयाँ ७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न २ रुपैयाँ ६७ पैसा र १०० को नोट छाप्न २ रुपैयाँ ९९ खर्च लाग्छ । पछिल्लो पटक राष्ट्र ब्याङ्कलाई १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ ।
एक हजारको नोट छाप्न ३ रुपैयाँ ३७ र ५ सय रुपैयाँको एउटा नोट छाप्न ४ रुपैयाँ ६८ पैसा लागत छ । नेपालका अनुसार ५ सयको नोटमा थप सुरक्षा विशेषता रहेका कारण पनि महँगो भएको हो ।
“यसको पछाडि दुई वटा कारणहरू छन् । एउटा सुरक्षा विशेषता ५ सय रुपैयाँको नोटमा बढी भएर पनि हो अर्को बोलकबोल प्रतिस्पर्धा हुँदा यो नोट छाप्न सस्तो प्रस्ताव आएन,” उनले भने ।
अधिकांश नोटको छपाइ चीनमा
नेपालमा चलाइने सात प्रकारका नोटमध्ये पाँच प्रकारका नोट पछिल्लो समय चीनमा छापिएका छन् । राष्ट्र ब्याङ्कले करिब नौ वर्षयता चीनमा पनि मुद्राको छपाइ सुरु गरेको हो ।
अहिले ५० र १०० रुपैयाँ बाहेक सबै दरका नोटहरू चीनको चाइना ब्याङ्क नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले छाप्दै आएको छ । ५० का नोट फ्रान्समा र १०० का नोट भने यूकेमा छापिँदै आएका छन् ।
“नोटहरू चाइनामा इन्डोनेशियामा वा एसियाली मुलुकहरूमा छाप्न सकियो भने यसको लागत कम पर्छ किनभने यहाँ कामदारको खर्च कम छ,” विभाग प्रमुख नेपालले भने ।
“उनीहरूको चाप अनुसार खाली भएको समयमा कममा छाप्ने प्रस्ताव गर्छन् । युरोप, अमेरिका वा बेलायतमा पर्यो भने यसको लागत अलिकति बढेर जान्छ ।”
राष्ट्र ब्याङ्कले यसअघि करिब पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गरे पनि उक्त निर्णय विवादित भएको थियो ।
नेपालमा किन छापिँदैन?
नेपालमा चलनचल्तीका सिक्का छापिन छोडेको १२ वर्ष बढी भइसकेको छ । यसअघि सिक्का छाप्दै आएको राष्ट्र ब्याङ्कको टक्सार विभागले अहिले असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ ।
“हाम्रोमा मेसिनहरू पुराना भए । सबै सामग्री बाहिरबाट आयात गरेर यहाँ छाप्नभन्दा प्रतिस्पर्धाबाट छनौट गरिएको मुद्रकबाट बाहिरै छाप्दा सस्तो पर्ने निष्कर्ष निकालेर बाहिर छाप्न थालिएको हो,” मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालले भने ।
राष्ट्र ब्याङ्कले एक समय २५ र २५० रुपैयाँ दरका नोटहरू प्रकाशित गरे पनि पछि ती दरका नोटहरूको छपाइ बन्द गरेको थियो । एक र दुई रुपैयाँ दरका नोटहरू पनि आठ वर्षअघि छापिन बन्द भएको हो ।
राष्ट्र ब्याङ्कले जति पनि नोट छाप्न पाउँछ?
राष्ट्र ब्याङ्कले चाहे जति नोट छाप्न भने पाउँदैन । नोट छाप्नुअघि राष्ट्र ब्याङ्कले कति नोट वा मुद्रा आवश्यक पर्छ भनेर अध्ययन गर्ने गरेको छ ।
अध्ययनका आधारमा राष्ट्र ब्याङ्क सञ्चालक समितिले तीन वर्षका लागि आवश्यक नोट छाप्ने अनुमति दिने गरेको छ । पछिल्लो समय तीन वर्षअघि राष्ट्र ब्याङ्कले दुई अर्ब ४१ करोड थान नोट छाप्ने अनुमति पाएको थियो ।
मुद्रा व्यवस्थापन विभाग प्रमुख नेपालका अनुसार सन् २०२२ को अन्त्यतिर राष्ट्र ब्याङ्कले पुनः आगामी तीन वर्षका लागि छाप्ने प्रक्रिया सुरु गर्दैछ । यसका लागि विश्वव्यापी बोलपत्र आह्वान गर्ने र कम्पनी छनौट गर्ने तयारी भइरहेको छ ।
अधिकारीहरूका अनुसार कति सिक्का वा नोट छाप्ने निर्णय मुख्यतया तीन वटा आधारमा तयार गरिन्छ । यसबाहेक राष्ट्र ब्याङ्कले आफूसँग रहेको सञ्चित र सुरक्षण पनि मूल्याङ्कन गर्ने गरेको छ ।
केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल राष्ट्र ब्याङ्कसँग ११ खर्ब बराबरको धितो राख्न सक्ने क्षमता छ । त्यसमध्ये ब्याङ्कले ८ सय अर्बको नोटहरू बजारमा निष्कासन गर्न सक्ने अनुमति सञ्चालक समितिबाट पाएको छ ।
तर राष्ट्र ब्याङ्कले त्यसमध्ये ६ सय २५ अर्ब मात्रै नोट निष्कासन गरेको छ ।
नोट चलाउन धितो
राष्ट्र ब्याङ्कले प्रकाशन गरेर ल्याएका नोट बजारमा चलाउनु अघि राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर नोट चलाउनुअघि ब्याङ्कले नोटको मूल्याङ्कन बराबरको धरौटी राख्नुपर्ने व्यवस्था छ ।
“ब्याङ्कमा धितो राखेर ऋण लिएजस्तै हामीले नोट बजारमा पठाउँदा पनि सुरक्षण गर्नुपर्ने व्यवस्था छ ।”
“त्यसमा सरकारले हामीलाई व्यवस्थापन गर्न दिएका सुनचाँदीजस्ता बस्तु पनि राख्न सकियो,” नेपालले भने।
धितो के राखिन्छ
राष्ट्र ब्याङ्क ऐनले सुरक्षण राखेर मात्रै नोट निष्कासन गर्न सक्ने अधिकार केन्द्रीय ब्याङ्कलाई दिएको छ ।
यस्तो धरौटीमा सुनचाँदी विदेशी मुद्रा विदेशी धितोपत्र लगायत राख्न सकिने व्यवस्था छ । साथै सिक्का र नेपाल सरकारको ऋणपत्रलाई पनि धरौटीको रूपमा राखिन्छ ।
“बैङ्कले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्नेछ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ,” राष्ट्र ब्याङ्क ऐनको दफा ५२ मा भनिएको छ ।
सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्र र अरू बाँकी सिक्का, नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र प्रतिज्ञा पत्र वा विनिमय पत्र राख्न सकिने कानुनी व्यवस्था छ ।
छापिएका नोट कसरी जाँच गरिन्छ?
राष्ट्र ब्याङ्कले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ ।
दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र ब्याङ्कको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ ।
मुद्रा छापिसकेपछि ब्याङ्कका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।
राष्ट्र ब्याङ्कका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन् ।
पुराना भएका नोट वा सिक्कालाई राष्ट्र ब्याङ्कले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ। पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ ।