×

वीरगञ्ज, ९ अषाढ । बेलायतका गुप्तचर अधिकारीहरूका अनुसार युक्रेनको दोनेत्स्क क्षेत्रको युद्धमा ठूलो संख्यामा रुसी र रुसी ‘प्रोक्सी’ फौज हताहत भएका छन् । 

उनीहरूको अनुमान अनुसार दोनेत्स्क छापामारले मात्रै आफ्ना ५५ प्रतिशत सक्कली फौज गुमाएको छ ।

युक्रेनी नेताहरूका अनुसार रुसी फौज लिसिचान्स्क सहरलाई घेराबन्दी गर्ने उद्देश्यले लुहान्स्कको सम्पूर्ण भूभाग कब्जा गर्ने दिशामा केन्द्रित छ । 

क्षेत्रीय प्रमुख सर्हिय हाइदाइले यस सहरमा भयानक विनाश भएको बताएका छन् । उनका अनुसार सेभेरोदोनेत्स्क सहरको स्थिति अझै खराब रहेको र त्यहाँ करिब सातदेखि आठ हजार सर्वसाधारण अलपत्र अवस्थामा छन् । 

बेलायती सैनिक गुप्तचर निकायले दोनेत्स्क र लुहान्स्क मिलेर बनेको युक्रेनको पूर्वी दोन्बास क्षेत्रमा रुसले ठूलो संख्यामा जगेडा फौज तैनाथ गर्ने संभावना धेरै रहेको बताएको छ ।

रुसले महिनौँदेखि आफ्नो पक्षमा भएको मानवीय क्षति विवरण बाहिर ल्याएको छैन । 

स्वघोषित दोनेत्स्क जनगणतन्त्रको मानव अधिकारवादी संस्था ओम्वुड्सम्यानले रुसी पक्षको २ हजार १ सय २८ फौज मारिएको, ८ हजार ८ सय ९७ जना घाइते भएको र थप ६ सय ५४ जना सर्वसाधारणको पनि ज्यान गएको जनाएको छ । 

मंगलबार युक्रेनको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लुहान्स्कको स्थिति निकै त्रासदीपूर्ण रहेको, रुसी फौजले दोनेत्स्कमा पनि दबाब बढाइरहेको बताएका थिए । 

यसैगरी बुधवार रुसी फौजले दक्षिणी सहर माइकोलाइभमा सातवटा क्षेप्यास्त्र प्रहार गरेको छ ।

Back to top