×

वीरगञ्ज ७ असार । 'जताततै पानी थियो, तर पिउनलाई एक थोपा पनि थिएन' शनिवार आफ्नो घर बाहिरको दृश्य वर्णन गर्दै रोञ्जु चौधरीले भनिन् ।

उनी हाल बाढीले ग्रस्त भएको पूर्वोत्तर भारतीय राज्य आसामको दुर्गम गाउँ उडियानाकी बासिन्दा हुन् ।

उनले स्मरण गरे अनुसार त्यहाँ लगातार पानी परिरहेको थियो । तीव्र गतिको वर्षाका कारण केही घण्टामै सडक पूर्ण रूपमा डुबे ।

घरमा पानी पसेपछि परिवारले अन्धकारमा आफूलाई जोगाउन खोजेको उनी बताउँछिन् । दुई दिन बितिसक्दा पनि उक्त परिवार अलपत्र छ ।

टापुजस्तो बने घर

उनीहरूको घर अहिले पानीको समुद्रमा एकान्तको टापुजस्तो देखिन्छ ।

'हामी चारैतिरबाट बाढीको पानीले घेरिएका छौँ। पिउने पानी पाउन मुस्किल छ । खानेकुराको पनि अभाव छ। अहिले पानीको सतह झन् बढ्दै गएको सुन्छु' चौधरी भन्छिन् ।

अब हामीलाई के हुने हो?

बाढी

अस्वाभाविक वर्षा र बाढीले आसममा विनाशका रेखाहरू छाडेको छ गाउँहरू डुबानमा परेको छन्, बाली नष्ट भएको छ र घरहरू भत्किएका छन् ।

अधिकारीहरूका अनुसार उक्त राज्यका ३५ जिल्लामध्ये ३३ वटा बाढीले प्रभावित भएको र कम्तीमा ३४ जनाको ज्यान गएको बताएका छन् ।

उनीहरूका अनुसार त्यहाँ ४२ लाखभन्दा बढी विस्थापित भएका छन् । भारी वर्षाको असर छिमेकी राज्य मेघालयमा पनि परेको छ ।

त्यहाँ गत साता १८ जनाको मृत्यु भएको थियो ।

उद्धार शिविर

आसाममा सरकारले विस्थापितका लागि १,१४७ वटा राहत शिविर खोलेको छ । तर अधिकारीहरूले तीव्र वर्षा र बाढीका कारण उद्धार तथा राहतको काम जटिल बनेको बताएका छन् ।

उद्धार गरेर राखिनेहरूका लागि बनाइएका शिविरको अवस्था पनि दयनीय छ ।

उडियानाकी हुस्ना बेगमले भनिन्, 'शिविरमा पिउने पानी छैन । मेरो छोरालाई ज्वरो आएको छ, तर म डाक्टरकहाँ लान असमर्थ छु ।'

गत बुधवार उनको घरमा पानी पसेपछि २८ वर्षीया हुस्ना सहायताको खोजीमा बाढीको पानीमा पौडिएर बाहिर निस्किएकी हुन् ।

बाढी

उनी अहिले आफ्ना दुई छोराछोरीसहित पालमुनि बसिरहेकी छिन् ।

'मैले मेरो जीवनमा यति ठूलो बाढी कहिल्यै देखेको थिइनँ' उनी भन्छिन् ।

बाढीले नियमित रूपमा ब्रह्मपुत्र नदीको उर्वर किनारमा बसोबास गर्ने लाखौँको जीवन र जीविकोपार्जनलाई विनाश गरिदिन्छ ।

उक्त नदी क्षेत्रलाई प्रायः आसमको जीवन रेखा भन्ने गरिन्छ । तर विज्ञहरू जलवायु परिवर्तन, अनियन्त्रित निर्माणकार्य र तीव्र औद्योगिकीकरण जस्ता कारणले चरम मौसमी घटना हुने क्रम बढाएको बताउँछन् ।

यो वर्ष आसाममा यस्तो भीषण बाढी आएको यो दोस्रो पटक हो । गत मे महिनामा आएको बाढीले त्यहाँ कम्तीमा ३९ जनाको ज्यान लिएको थियो ।

ठूलो वर्षा

उक्त राज्यमा यो महिना औसतभन्दा १०९ प्रतिशत बढी वर्षा भएको मौसम विभागले जनाएको छ ।

त्यहाँ ब्रह्मपुत्र नदी धेरै ठाउँमा खतराको तहभन्दा माथि बगिरहेको छ । स्थानीयवासी र अधिकारीहरूले बीबीसीले पछिल्लो बाढीलाई एकदमै खतरनाकमध्ये एक भएको बताएका छन् ।

उनीहरूका भनाइमा बाढीले उक्त राज्यको सामाजिक र आर्थिक बनावटलाई नै परिवर्तन गरिदिएको छ ।

रङ्गिया सहरका सब-डिभिजनल अधिकृत जाविर राहुल सुरेश भन्छन्, 'यस पटक अवस्था विशेष रूपमा डरलाग्दो छ । हामीले उद्धार कार्यमा मद्दत गर्न न्याशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) बाहेक सेनालाई पनि तैनाथ गरेका छौँ ।'

बाढी

'यसबेला हाम्रो प्राथमिकता जीवन बचाउनु हो।' पूरै बस्तीहरू पानीले डुबेको छन् र ठूलो नदीजस्ता देखिन्छन् ।

आसामको मुख्य आर्थिक केन्द्र गुवाहाटीका नजिकका क्षेत्रहरू पनि भग्नावशेषमा परिणत भएका छन् ।

धान फल्ने रमणीय खेतहरू माटो र भग्नावशेषहरूबाट निस्किएका सामानहरूले पुरिएका छन् । उडियानामा कुनै विद्यालय, अस्पताल, मन्दिर वा मस्जिदहरू देखिदैँनन् त्यहाँ केवल पानी मात्र देखिन्छ ।

मानिसहरू केराको पात र बाँसको डण्डीबाट बनेको डुङ्गाबाट यात्रा गरिरहेका छन्। कतिपय बाढीको पानीमा निराश भएर पौडी खेल्छन् ।

उद्धारकर्ताहरू देख्दा उनीहरूको मुहार उज्ज्यालो हुन्छ ।

घरमै फसेका पीडित

विशेषगरी कामरूप जिल्लाको क्षति विनाशकारी रहेको छ र त्यहाँ सयौँ मानिसहरू अझै पनि घरमा फसेका छन् ।

चौसठ्ठी वर्षीय सिराज अलीका अनुसार पानीले आफ्नो गाउँका सबै कुरा ध्वस्त पारेको थियो र उनलाई आफ्नो ज्यानको डर छ ।

तर पनि उनी आफ्नो सामान र "जीवन रक्षा"का लागि आंशिक रूपमा पानीमा डुबेको घरमा बस्न बाध्य छन् ।

बाढी

उनले आफ्ना छोराछोरीलाई सडक छेउको आश्रय शिविरमा पठाएका छन् । आफू चाहिँ मद्दतको पर्खाइमा छन् तर अहिलेसम्म कोही आएका छैनन् ।

उनले गहभरि आँसु पार्दै भने, 'पानीले घेरिएको छु तर पिउनलाई पानी छैन, खानेकुरा छैन, म तीन दिनदेखि भोकै छु, के गर्ने र कहाँ जाने?'

अधिकारीहरूले पनि आफूहरूले हरेक पीडितलाई पर्याप्त मात्रामा पिउने पानी र खानेकुरा उपलब्ध गराउन नसकेको स्वीकार्छन् ।

'अहिले पनि पूर्ण रूपमा सम्पर्क विच्छेद भएका कतिपय इलाकामा पुग्न हामीले कठिनाइको सामना गरिरहेका छौँ। त्यहाँसम्म पुग्नका लागि हाम्रा सडकहरू डुबेका छन्' सुरेश भन्छन् ।

Back to top