×

तस्विर : एपीएफ ।

लडाइँ भइरहेको युक्रेनी सहर सेभेरोडोनेट्स्कका सबै पुलहरू ध्वस्त भएको स्थानीय गभर्नरले बताएका छन् ।

गभर्नर सेर्हेई हाइडाईले सहरलाई पूर्ण रूपमा विच्छेद गरिएकाले त्यहाँ आपूर्ति व्यवस्था मिलाउन र नागरिकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अब असम्भव भएको बताए ।

उक्त पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ । त्यहाँ रुसले आफ्ना सेनाहरूलाई सैन्य केन्द्रहरूबाट बाहिर निकालेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

हप्तौँदेखि सेभेरोडोनेट्स्कमा कब्जा गर्नु रुसका लागि उच्च सैन्य लक्ष्य बनेको छ ।

रुसी समर्थकको नियन्त्रण

सेभेरोडोनेट्स्क र नजिकैको सहर लिसिचान्स्क कब्जामा लिँदा मस्कोलाई सम्पूर्ण लुहान्स्क क्षेत्रको नियन्त्रण सहज हुनेछ ।

उक्त क्षेत्रका धेरैजसो भू-भागहरू रुस समर्थित पृथकतावादीहरूद्वारा नियन्त्रित छन् । सेभेरोडोनेट्स्कका सबै तीनवटा पुलहरू ध्वस्त भएको विवरण हाइडाईले टेलीग्राममा पोस्ट गरेका छन् ।

सहरमा रहेका बासिन्दाहरूलाई "अत्यन्तै कठिन परिस्थितिमा" बाँच्न बाध्य पारिएको उनले लेखेका छन् । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त सहरमा युद्धको मानवीय मूल्य "डरलाग्दो" भएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति के भन्छन्?

युक्रेनी सेनाले "हर तरहबाट" रुसी सेनासँग लडिरहेको उनले बताएका छन् । विवरणहरूमा जनाइए अनुसार उक्त सहरको लगभग ७० प्रतिशत हिस्सा अब रुसी नियन्त्रणमा पुगेको छ ।

रुस समर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका सैन्य प्रतिनिधिले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाहरूले "आत्मसमर्पण गर्नुपर्ने वा ज्यान दिनुपर्ने" बताएका छन् ।

एकजना उच्च रुसी अधिकारीले मस्कोको उद्देश्य भनेको स्वघोषित पिपुल्स रिपब्लिक अफ डोनेट्स्क र लुहान्स्कको रक्षा गर्नु भएको बताए ।

"सामान्य रूपमा ती गणराज्यहरूको रक्षा गर्नु नै यो विशेष सैन्य कारबाहीको मुख्य उद्देश्य हो," क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आरआईए नोभोस्ती समाचार एजेन्सीसँग भनेका छन् । 

Back to top