×

वीरगञ्ज २० मंसिर । केहि जिल्लामा पार्टी भित्रको विवाद नेपाली कांग्रेस प्रदेश–२ को अधिवेशन स्थगित भएको छ ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ का महाधिवेशन संयोक रमेश रिजालले सोमबार प्रदेश अधिवेशन स्थगित भएको बताए ।

सोमबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश अधिवेशन तत्कालको लागि स्थगित भएको घोषणा गरेका हुन् ।

प्रदेश–२ का कयौँ जिल्लामा विवाद कायमै रहेको देखिएपछि अधिवेशन स्थगित गरिएको हो ।

प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सर्लाही, सप्तरी र रौतहटबाट मतदाताहरूको नाम आउन नसकेको समितिले जनाएको छ ।

सर्लाहीको धेरै वडामा अधिवेशन हुन बाँकी छ । जिल्लाको निर्वाचन समितिहरूबाट प्राप्त हुनुपर्ने मतदाता नामावली अझै प्राप्त हुन नसकेकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार प्रक्रिया अगाडि बढाउन नसकिएको प्रदेश–२ का संयोजक रमेश रिजालले बताए ।

उनले भने, ‘निर्वाचन तालिकाअनुसार मंसिर १८ गते निर्वाचन गर्नुपर्नेमा त्यो हुन सकेन, मतदाता नामावली ३ जिल्लाबाट आउन सकेको छैन, त्यसैले प्रदेश अधिवेशन स्थगित गरिएको छ ।’

पार्टीको १४औं महाधिवेशनअन्तर्गत सर्लाहीको सम्पूर्ण अधिवेशन हुन बाँकी रहेको छ । यता सप्तरी क्षेत्र नम्बर–४ को क्षेत्रीय अधिवेशन पनि हुन सकेको छैन ।

त्यस्तै महोत्तरी क्षेत्र नम्बर–३ को सम्पूर्ण परिणाम रद्द गरी पुनः निर्वाचन गर्न केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइसकेको छ भने रौतहटको सबै निर्वाचन सम्पन्न भइसक्दासमेत नामावली आउन बाँकी रहेको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर–६ को वडा अधिवेशन पनि बाँकी रहेको छ ।

प्रदेश–२ को अधिवेशन अब महाधिवेशन पछि गरिने रिजालले जानकारी दिए ।

Back to top