×

स्तन क्यान्सरको उपचारमा मौरीको विष उपयोगी हुने वैज्ञानिक अध्ययनमा देखिएको छ ।

अस्ट्रेलियाका वैज्ञानिकहरूले गरेको अनुसन्धानमा मौरीको विषले स्तन क्यान्सरका कोषहरूलाई मारेको पाइएको बेलायती समाचार संस्था बीबीसीले जनाएकाे छ ।

प्रयोगशालामा गरिएका परीक्षणमा उपचार गर्न कठिन मानिने दुई किसिमका क्यान्सर ट्रिपल–नेगटिभ र एईआर–२० विरुद्ध मौरीको विष र त्यसमा पाइने मेलिट्टिन नामक यौगिक प्रभावकारी भएको पाइएको छ ।

वैज्ञानिकहरुको यो परीक्षको परिणामलाई उत्साहजनक मानिएको छ। उपचार विधी आम प्रयोगमा ल्याउन थप परीक्षण आवश्यक रहेको वैज्ञानिकहरूले जनाएका छन्।

स्तन क्यान्सर विश्वमा नै महिलामाहरुमा सबै भन्दा बढी हुने क्यान्सर हो ।

वैज्ञानिकहरूका अनुसार मौरीको विष प्रयोगशाला परीक्षणमा क्यान्सर कोषसँग लड्न प्रभावकारी देखिए पनि उपचारका लागि शरीरमा थोरै मात्रै प्रयोग गर्न मिल्छ ।

अन्य प्रकारका क्यान्सरविरुद्ध पनि मौरीको विष उपयोगी देखिएको यस अघिका वैज्ञानिक अध्ययनहरूको समेत निष्कर्ष छ।

पश्चिम अस्ट्रेलियाको ह्यारी पेर्किन्स इन्स्टिट्यूट अफ मेडिकल रिसर्चले गरेको अध्ययनमा पाइएको नतिजा नेचर प्रिसिजन अन्कोलजी जर्नलमा प्रकाशन गरिएको छ।
अध्ययनका क्रममा ३ सय भन्दा बढी मौरीको विष परीक्षण गरिएको थियो।

अध्ययनको नेतृत्व २५ वर्षीया सायरा डफीले गरेकी हुन् । सायराका अनुसार मह बनाउने मौरीको विषबाट निकालिएको यौगिक धेरै प्रभावकारी हुन्छ।

विषको एउटा निश्चित मात्राले एक घण्टाभित्र क्यान्सरको कोषलाई मारेको र अन्य कोषलाई भने निकै कम हानि पुर्‍याएको अध्ययनमा पाइएको बताइएको छ । निश्चित भन्दा बढी मात्र दिँदा भने विषको असर बढेको परीक्षणमा पाइएको थियो ।

स्तन क्यान्सर भएकामध्ये १० देखि १५ प्रतिशत महिलालाई ट्रिपल–नेगटिभ हुने गरको छ ।

Back to top