×

वीरगञ्ज, ३० कार्तिक ।  मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भनिएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्साबाट २९ जना प्रतिनीधि चयन भएका छन् । यद्यपी महाधिवेशन प्रतिनीधि चयन वैद्यानिक ढंगले नभएको भन्दै नेकपा एमालेका युवा नेता शिवजी गुप्ताले असन्तुष्टि जनाएका छन् । 

महाधिवेशन प्रतिनीधिका लागि कम्तीमा १० वर्ष सम्म पार्टीको सदस्यता लिएको हुनुपर्ने र अल्पसंख्यकको हकमा ७ वर्ष हुनुपर्नेमा समयअवधि नपुगेका व्यक्तिहरुलाई महाधिवेशन प्रतिनीधि बनाएको भन्दै नेकपा एमाले पर्साका जिल्ला कमिटी सदस्यसमेत रहेका गुप्ताले आपत्ति जनाएका हुन् । 

उनले यात्रा डेलीसँगको संवादमा भने, ‘विगत लामो समयदेखि पार्टीप्रति योगदान दिएका व्यक्तिहरु हुँदा हुँदै पनि समयअवधि नपुगेका व्यक्तिलाई प्रतिनीधि बनाउँदा योगदान दिएकाहरुको मनोवल स्वतः गिर्ने गरेको छ ।’  नेपाल खेलकुद महासंघका केन्द्रिय उपमहासचिवसमेत रहेका गुप्ताले सर्वसम्मतको रुपमा अवैधानिक तरिकाले प्रतिनीधि बनाउने काम किमार्थ स्विकार्य नहुने बताए ।

बसरुदिन अन्सारी, तेजप्रकाश निषाध, बिशम्भर शर्मा, शम्भु प्रसाद गुप्ता लगायतका प्रतिनीधिहरुको विद्यानबमोजिम महाधिवेशन प्रतिनीधि बन्नका लागि सयमअवधि अपुग भएको पाइएको छ । क्षेत्र नम्बर १ बाट प्रतिनीधि भएकाहरुमध्ये समयअवधि नपुगेकाहरुको आफुले विरोध गरेपनि अन्य क्षेत्रका बारेमा आफुलाई ज्ञान नभएकाले अयोग्य भए विरोध गर्न पनि गुप्ताले आग्रह गरेका छन् ।

विद्यानअनुसार प्रतिनीधि बनाउनुपर्ने भन्दै जिल्ला कमिटीसँगै सोमवार प्रदेश कमिटीमा पनि निवेदन पठाइसकेको गुप्ताको भनाई छ । अब प्रदेश कमिटीले पनि समयअवधि अपुग भएका व्यक्तिहरुको नामावली नसच्याए केन्द्रिय कमिटीमा पनि निवेदन दिने गुप्ताले चेतावनी दिएका छन् । 

विद्यानअनुसार नचल्दा आम जनताले नेकपा एमालेलाई गरेको विश्वास पनि कम हुने हुँदा आगामी निर्वाचनमा पार्टीले ठूलो नोक्सानी समेत बेहोर्न सक्ने गुप्ताको सङ्केत छ । आफु महाधिवेशन प्रतिनीधिको आकाङ्क्षी नभएको स्पष्ट पार्दै उनले व्यक्तिको भन्दा पनि प्रवृति र प्रणालीको विरोध गरेको बताएका छन् । 

यता नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले पार्टीको निर्णय नै आधिकारिक निर्णय हुने बताए । सर्वसम्मत रुपमा भएको निर्णयलाई कसैले बदर गर्न नसक्ने अध्यक्ष हजराको भनाई छ । 
 

Back to top