×

वीरगञ्ज, ९ कार्तिक ।  वीरगञ्जबाट विगत २२ महिनादेखि प्रसारण भइरहेको रेडियो सान्भीले ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ को आयोजना गर्ने भएको छ । पिसि मिडिया प्रा.लि.द्वारा सञ्चालित रेडियो सान्भीले मंगलवार पत्रकार सम्मेलनमार्फत म्युजिक अवार्डबारे जानकारी गराएको हो । 

स्थानीय स्तरका कलाकारहरुको प्रोत्साहनस्वरुप अवार्डको आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक एवम् रेडियोका समाचार प्रमुख दिपक गौतमले बताए । नयाँ कलाकारहरुलाई अवसर प्रदान गर्नुका साथै हौसला बढाउने पनि रेडियोको लक्ष्य छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले संगीत र सञ्चार क्षेत्र एकअर्काका परिपुरक भएको बताए । वीरगञ्जको अवस्थामा धेरै कलाकारहरु रेडियोबाट उदाएको हुँदा कलाकारको सम्मानका लागि रेडियोले अग्रसरता देखाउनु सह्रायिन रहेको अध्यक्ष तिवारीको भनाई छ । वीरगञ्जमै पहिलो पटक हुने म्युजिक अवार्ड निष्पक्ष ढंगले हुने विश्वास व्यक्त गर्दै अध्यक्ष तिवारीले महासंघको तर्फबाट गर्न सकिने सहयोगका लागि सदैव तयार रहेको धारणा राखे । 

कार्यक्रममा भोजपुरी गायक सुनिल पण्डित, भोजपुरी समाज प्रतिष्ठानका अजमत अलि लगायतले म्युजिक अवार्डले नव कलाकारहरुलाई उर्जा प्रदान गर्नुका साथै पुराना कलाकारहरुलाई प्रोत्साहन हुने विश्वास व्यक्त गरे । 

सो अवसरमा चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेल र रेडियो सान्भीका स्टेशन म्यानेजर सत्येन्द्र यादवले प्राविधिक सहयोग सम्बन्धमा सम्झौता गरेका थिए । विधा तथा कलाकार छनौटका लागि निष्पक्ष ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्नुका साथै आगामी दिनमा पनि कला प्रतिभा सम्बन्धीका गतिविधिलाई निरन्तरता दिने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाईन् । 

कार्तिक २२ गते हुने कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्न रेडियो सान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले अनुरोध गरेका छन् । पत्रकार सम्मेलनको सहजिकरण चलचित्र पत्रकार संघ पर्साका सचिव सूर्य विश्वकर्माले गरेका थिए । 

Back to top