×

वीरगञ्ज  २४ असोज । जसपाका नेता एवं सांसद प्रदीप यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवले आफूखुसी आसेपासेलाई गोजीबाट निकालेर मन्त्री बनाएको आरोप लगाएका छन् । केन्द्रीय कार्यकारिणी बैठकबाट तोकिएको मापदण्ड विपरीत मनपरी मन्त्री बनाएकाले त्यसविरुद्ध संघर्ष हुने उनले बताए ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “म मन्त्री बन्नु नबन्नु ठूलो कुरा होइन । केन्द्रीय कार्यकारिणी बैठकबाट मन्त्री बनाउँदा युवा, जित्न र जिताउन सक्ने अनि पूर्वपश्चिम सन्तुलन मिलाउने मापदण्ड तोकिएको थियो । तर अहिले जनअनुमोदित भएका सांसदलाई पाखा लगाएर आफूखुसी आसेपासे, टीके, चम्चे, कानेखुसी गर्नेलाई गोजीबाट निकालेर मन्त्री बनाउनुभयो । यो उपेन्द्र यादवको व्यक्तिगत पार्टी होइन । निजी गुठी पनि होइन । यो तराई, पहाड, हिमालको खुन पसिनाले बनेको हो । अब यसरी पार्टी चल्दैन ।”

मन्त्री बनाउँदा भएको मनपरीबारे अध्यक्ष उपेन्द्र यादव, नेताहरु बाबुराम भट्टराई र अशोक राईलाई घेराबन्दी गरिने पनि उनले बताए । उनले थपे, “हामीले उपेन्द्र यादवसहित तीन जनालाई सामूहिक अधिकार दिएका थियौं । अशोक राई अनुपस्थित हुनुभयो, बाबुरामजीले कन्भिन्स गर्न सक्नुभएन र बैठक छाडेर हिँड्नुभयो । अब हामी घेराबन्दी गर्छौं । हामी राई र भट्टराईलाई सोध्छौं, तपाईंहरु जसपा बनाउन आउनुभएको हो कि खत्तम पार्न आउनुभएको हो ?”

जसपा यादवहरुको मात्र पार्टी नभएको उनले बताए । उनले भने, “जसपाबाट तीन जना यादव मन्त्री बन्नु कुनै उपलब्धि होइन । यो यादवको मात्र पार्टी हो र ? उपेन्द्र यादवको नजरमा मन्त्री छनोट राम्रो होला तर पार्टीका लागि राम्रो हुनुपर्यो हो नि । जसपा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विकसित हुँदै बनेको पार्टी हो । आन्दोलन उहाँले आह्वान गर्नुभयो होला, तर आन्दोलन गर्ने हामी नै हौं ।”

पार्टीले वीरगन्जलाई उपेन्द्र यादवले सौताको व्यवहार गरेको आरोप पनि लगाए । उनले थपे, “दुईदुई चोटि मधेस आन्दोलनमा पर्साका दर्जन मानिस सहिद भए । संघीय निर्वाचनमा ४ वटै क्षेत्र जितायो, प्रदेशमा ८ मध्ये ६ वटामा जितायो । स्थानीय तहमा १४ मा ४ मा प्रमुख जितायो, थुप्रै उपप्रमुख जितायो । ६ महिनासम्म नाका बन्द गरेर सरकारलाई घुँडा टेकायो । पार्टीलाई पर्साले ७० हजार समानुपातिक भोट दिलायो । तर वीरगन्ज राजधानीमा ठगियो, मन्त्री नियुक्तिमा ठगियो । उपेन्द्र यादवले दिलले हरेनन् । पर्सालाई अपमान गरे ।”

पार्टीभित्रै बसेर संघर्ष गरिने पनि उनले बताए । उनले भने, “पार्टी हाम्रो आमा हो । फुटाउने काम हामीबाट हुँदैन । पार्टी त फुट्दैन तर पार्टीभित्र एकलौटी निर्णयविरुद्ध सोच्न बाध्य भएका छौं । पार्टीभित्र अब व्यापक संघर्ष हुन्छ । जसपालाई राम्रो बनाउनु हाम्रो उद्देश्य हुन्छ । अब कसैको हालीमुहाली चल्दैन ।”

उनले गैरसांसदलाई मन्त्री बनाएकोमा संसद्मा घेराबन्दी गरिने चेतावनी पनि दिए । उनले भने, “गैर सांसद कुन कोटाबाट मन्त्री बनेको हो ? न्यायपालिकाले कार्यपालिकाबाट हिस्सा लिनु लोकतन्त्र र संविधानवादमाथिको हमला हो ।”

Back to top