×

दि वाल स्ट्रिट जर्नल तथा अन्य माध्यमबाट सार्वजनिक भएका रिपोर्टका आधारमा पछिल्लाे एक हप्तामा मात्र फेसबुकले विभिन्न आरोपहरूको सामाना गर्नुपरेको छ ।

सार्वजनिक भएका विवरणमध्ये धेरैजसो फेसबुकको आन्तरिक दस्तावेजबाटै प्राप्त भएका छन् । यद्यपि फेसबुकले सम्पूर्ण आरोपविरुद्ध आफ्नो बचाउ गरेको छ ।

यसैबीच फेसबुकमाथि लागेका पछिल्ला पाँच आरोपबारे बीबीसीले तयार पारेको रिपोर्टका आधारमा हामीले यो लेख तयार पारेका छौं ।

१. फेसबुकले सेलिब्रेटीहरूसँग फरक व्यवहार गर्छ  

दि वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको रिपोर्टका अनुसार धेरै सेलिब्रेटी, राजनीतिज्ञ र हाई प्रोफाइल फेसबुक प्रयोगकर्ताका लागि फेसबुकले छुट्टै व्यवस्थापन गरेको छ ।

उनीहरूले आफ्नो प्रोफाइलमा कस्तो प्रकारको सामग्री पोस्ट गर्न पाउने भनेर कम्पनीले एक्सचेक (क्रस-चेक) नामक छुट्टै नियम तयार गरेको छ । यद्यपि फेसबुकले क्रसचेक सिस्टम निष्पक्ष भएको दाबी गरेको छ । यस्ता व्यक्तिबाट विभिन्न किसिमका हिंसात्मक तथा द्वन्द्वात्मक सामग्रीहरू पोस्ट हुनबाट रोक्नका लागि यो सिस्टम प्रयोग भएको कम्पनीको दाबी छ ।

दि वाल स्ट्रिट जर्नलले धेरै विवरणहरू जोडतोड गरेर प्रकाशन गरेको कम्पनीले बताएको छ । यो विवरण सार्वजनिक भएसँगै बरु कम्पनीले आफ्नो निर्णय लिने कुरामा सचेत हुनुपर्ने कुरामा कम्पनीको ध्यान आकर्षित भएको फेसबुकले आफ्नो ब्लगमार्फत बताएको छ । 

२. मानव तस्करीसम्बन्धी कर्मचारीको चिन्ताप्रति फेसबुकको प्रतिक्रिया कमजोर थियो 

दि वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार फेसबुकका कर्मचारीहरूले कम्पनीलाई फेसबुक मानव तस्करी र लागूपदार्थ आपूर्तीका लागि प्रयोग भइरहेको बारेमा बारम्बार सूचित गराउँदा पनि कम्पनीकाे केही प्रतिक्रिया निकै नै कमसल थियो ।

सन् २०१९ को नोभेम्बरमा बीबीसी न्युज अरेबिकले इन्स्टाग्राममा घरेलु कामदारको किनबेच हुने गरेको विषय प्रकाशन गरेको थियो । कम्पनीको आन्तरिक दस्तावेजको आधारमा फेसबुकलाई यस विषयमा पहिलेदेखि नै जानकारी थियो ।

एप्पलले फेसबुकका एपहरू एप स्टोरबाट हटाउने चेतावनी नदिँदासम्म कम्पनीले यस विषयमा सीमित पहलहरू मात्र गरेको थियो ।

यस विषयमा आफ्नो प्रतिरक्षा गर्दै फेसबुकले मानव रक्षाका लागि कम्पनीसँग ठूलो रणनीति भएको बताएको थियो, जसअन्तर्गत आफूले विश्वका विभिन्न ५० भाषाका स्पिकरहरूसँग सहकार्य रहेको, शैक्षिक स्रोतहरू रहेको, थर्ड पार्टी चेकर र स्थानीय विज्ञहरूसँग मिलेर काम गर्ने लगायतका नीतिहरू रहेको कम्पनीले बताएको छ ।

यद्यपि आलोचकहरूले भने आफ्नो दुई अर्बभन्दा बढी प्रयोगकर्ताको सुरक्षाका लागि फेसबुकसँग कुनै योजना नभएको तर्क गरेका छन् । 

३. फेसबुकका शेयरधनीहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् 

यही हप्तामात्र फेसबुकका शेयरधनीहरूले कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । शेयरधनीका अनुसार मार्क जुकरबर्गले आफ्नो व्यक्तिगत दायित्वबाट बच्नका लागि क्याम्ब्रिज एनलिटिका डेटा स्क्यान्डलमा अमेरिकी फेडरल ट्रेड कम्मिसनलाई पाँच अर्ब अमेरिकी डलर बुझाएको छ ।

याे आवश्यकभन्दा धेरै रकम हो । अदालतको सुनुवाइमा रहेको विषयमा केही नबोल्ने भन्दै हालसम्म यस विषयमा फेसबुकले आफ्नो कुनै पनि व्यक्तिगत धारणा दिएको छैन । 

४. फेसबुकले आफ्नो राम्रो कुरा मात्र प्रवर्द्धन गर्ने गरेको छ 

दि न्यू योर्क टाइम्समा प्रकाशित समाचार अनुसार फेसबुकले आफ्नो राम्रो सूचनामात्र प्रवर्द्धन गर्नका लागि एउटा प्रोजेक्ट नै बनाएर काम गरिरहेको छ । गत जनवरीमा कम्पनीको प्रशासनले ‘प्रोजेक्ट एम्प्लिफाई’ नामको एक योजनाका लागि पहल गरेका थियो ।

यसअन्तर्गत फेसबुकसँग सम्बन्धित राम्रा समाचारहरू न्युज फिडमा बुस्ट गर्ने र कम्पनीले लेखेका समाचार तथा सूचनालाई बढी हाइलाइट गर्ने प्रस्ताव थियो ।

यही पहललाई कम्पनीका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले व्यक्तिगत रुपमा अगस्टमा नै स्वीकारोक्ति दिएका थिए ।

त्यसपश्चात यो योजनाको परीक्षणस्वरुप कम्पनीले तीन सहरमा आएको परिवर्तनको बारेमा ‘क्विक प्रोमोट’ टुलको सहायतामा अध्ययन गरेको दि न्यू योर्क टाइम्सको रिपोर्टमा उल्लेख छ ।

५. टिनेजरहरूको लागि इन्स्टाग्राम हानिकारक छ भन्ने विषयमा फेसबुकलाई पहिले नै थाहा थियो

फेसबुकका दस्तावेजहरूबाट खुलासा भएको अर्को महत्वपूर्ण खोज यो हो कि, कम्पनीले कसरी इन्स्टाग्रामले किशोरहरुलाई प्रभावित गरिरहेको छ भन्नेबारे विस्तृत अनुसन्धान गरेको थियो ।

जसमा इन्स्टाग्राम किशोरकिशोरीहरूका लागि हानिकारक छ भनेर रिपोर्ट आएको थियो । तर कम्पनीले आफ्नो निष्कर्ष सार्वजनिक गरेन ।

दि वाल स्ट्रीट जर्नलको रिपोर्टअनुसार, सर्वेक्षण गरिएका ३२ प्रतिशत किशोरीहरु जब आफ्नो शरीरप्रति नकारात्मक थिए, तब इन्स्टाग्रामले उनीहरुलाई थप नराम्रो महसुस गरायो । –बीबीसीबाट

Back to top